भुवन केसीलाई तनाव

- नेपाल संवाददाता

अभिनेता भुवन केसीले आफै निर्माण गरेको चलचित्र क्याप्टेनका कलाकारलाई पारिश्रमिक नदिएपछि लफडा सुरु भएको छ । उक्त चलचित्रका कलाकारहरुले सार्वजनिक रुपमै पारिश्रमिक नपाएको गुनासो गर्न थालेपछि उनलाई तनाब भएको हो । स्रोतका अनुसार भुवनले पारिश्रमिक नदिएका कलाकारहरुको लिस्ट निकै लामो छ । छोरा अनमोल केसीबारे ५० लाख र स्टारडमको गफ लगाउँदै हिड्ने भुवन हप्तौंसम्म रातदिन खटेका कलाकारलाई पारिश्रमिक नदिएपछि लफडामा तानिएका हुन् ।

क–कसले पाएनन् ?

अभिनेता सुनिल थापा, राजाराम पौडेल, प्रशान्त ताम्राकार, विल्सनविक्रम राई, सरोज खनाललगायत अधिकांश कलाकारले पारिश्रमिक पाएका छैनन् । सोहि चलचित्रका एक चलचिकर्मी भन्छन्, ‘अनमोललाई पैसा दिन परेन, मुख्य भुमिकामा काम गरेका उपासना सिंह ठकुरी, प्रियंका एमभीले पनि पारिश्रमिक नपाएको सुनेको छु ।’ चलचित्रका मुख्य अभिनेता सरोज खनालले आफुले ५० प्रतिशत वुझेको भएपनि अरु भने पाउन नसकेको बताए । चलचित्रका मुख्य अभिनेता प्रशान्त भन्छन्, ‘काम गरिसकेपछि पारिश्रमिक त पाइएला नी !’

राजाराम भन्छन्, ‘डविङ गर्दिन’

चलचित्रका मुख्य कलाकार राजाराम पौडेलले पारिश्रमिक नपाएसम्म सो चलचित्रको डविङमै नजाने अडान राखेका छन् । उनले भने, ‘अरुको के भयो मतलब भएन, मेरो पैसा नआएसम्म म डविङ गर्दिन, मेरो क्यारेक्टरको अरु कसैले डविङ गरिदियो भने मुद्धा लड्छु ।’ राजारामले भुवन केसीले सधै यस्तै लफडा गर्ने गरेको आरोप लगाए ।

के भन्छन् भुवन केसी ?

अभिनेता भुवन केसीले चलचित्रलाई बदनाम गराउन यो खेल रचिएको बताएका छन् । भुवन संचार माध्यममा यो खबर आउन थालेपछि हैरान भएका छन् । पारिश्रमिक नपाएर सोहि चलचित्रका कलाकारले हावामा बोलेको त पक्कै हैन, सो चलचित्रका एक कलाकार भन्छन्, ‘पारिश्रमिक दिएको छु भनेर गफ दिनुभन्दा दिएर तनाब कम गर्न मेरो तर्फवाट सुझाव छ ।’ तर भुवनले भने वजारमा चलेको जस्तो हल्ला नभएको जिकिर गरे ।

६० लाखमा क्याप्टेन प्याकअप !

अचम्मको कुरा के हो भने २ करोडको हाराहारीमा खर्च भएको भनिएको चलचित्र क्याप्टेन निर्माण गर्न ६० लाखको हाराहारीमा मात्रै खर्च भएको बजारमा हल्ला सुरु भएको छ । टेक्निसियनहरु बाहेक अभिनय गर्ने अधिकांश कलाकारलाई पारिश्रमिक दिन नपरेपछि बजेट खासै वढ्ने कुरा भएन, स्रोत भन्छ, ‘टेक्निसियन र सुटिङको खर्च जोड्नेहो भने ६० लाखभन्दा धेरै खर्च देखिदैन ।’ भुवनले टेक्निसियनको पारिश्रमिक भने सवैको क्लियर गरिदिएका छन् ।

 

प्रकाशित: माघ २१, २०७५

ट्याग: फिल्म