वियोगको पुलिन्दा

पुस्तक : उपहार  | कथाकार : चेतनाथ आचार्य |प्रकाशक : मकालु प्रकाशन | पृष्ठ : १२६ |मूल्य : २५० रुपैयाँ

- क्रान्ति पाण्डे

वास्तविक पात्रमाथि कथा लेख्नु वास्तवमै सकस हुन्छ । तर यही सकसमा कथाकुथुंग्री रच्छन्, पत्रकार तथा लेखक चेतनाथ आचार्य । उनको कथाकारितामा कोरा कल्पनाभन्दा यथार्थको प्रक्षेपण हुन्छ । समाजका नमिलेका चित्र भेटिन्छन् ।

आफूसँग उठबस भएका पात्र तथा घटनालाई घटबढ गरेर कथाको जोहो गर्छन् आचार्य । पछिल्लो कथासंग्रह उपहारमा आठ कथा छन् । यौन मनोवैज्ञानिक धारामा कथा लेख्दै आएका उनको यो संग्रहमा पनि त्यो हस्ताक्षर कायमै छ । तर समाजका बाह्य यथार्थलाई पनि अटाएका छन् ।

उपहार  पढिरहँदा हाम्रै समाजको यात्रा गरेजस्तो लाग्छ । कथा सरल छन् तर तिनको कथानक, पात्र र परिवेश समाजजत्तिकै जटिल । उनका कथा सामान्य पाठकका लागि साहित्यिक मनोरन्जन हुन सक्छन् भने गुदी खोज्नेलाई सामाजिक दस्तावेज । कथामा सामाजिक पात्र छन् । आचार्यले महिला हिंसाको पीडालाई यसरी उधिनेका छन् कि लाग्छ– ती आँखासामुका घटना नै हुन् ।

पहिलो कथा ‘आदर्श’ मा उनले एक साहित्यकारको बहुरुपी यथार्थलाई पाठकका माध्यमबाट अगाडि बढाएका छन् । ‘बसाइँ’ मा उनले बदलिँदो परिवेशमा यसले निम्त्याएको अप्रत्यासित विवशता उघारेका छन् । यो कथामा वर्णित परिवेशले पाठकीय स्मृतिपटमा गाउँघरका पुराना चित्र ओहोरदोहोर गर्छन् ।

‘दोधार’ की मुख्य पात्रको प्रश्न छ, ‘के एउटी राणाकी छोरीले एक सामान्य गाउँलेसाग बिहे गर्नुहुादैन ?’ यही कथ्यभावमा लेखिएको प्रेमकथामा महिला हिंसाको विषय उप्काइएको छ । वियोगान्त प्रेमकथामा परिबन्दले जोडी बनेकाहरुले सन्तान सुख नपाएको छटपटी छ । तर त्यसको अन्त्य पनि अरु कथाजस्तो अप्रत्यासित र पाठकलाई खुला सोच्न छाडिएको छ ।

‘जमाना’ कथा प्रविधिको जालो अर्थात् फेसबुकले निम्त्याएको घटनाबारेको घोचक कथा छ । युरोप पुगेको पात्र खाडीमा काम गर्न जाने नेपालीका श्रीमतीको यौन मनोविज्ञानलाई पछ्याउादै थेसिस तयार पार्न फेक आइडी बनाएर नेपालमा रहेकी एक विवाहित महिलासाग नजिकिन्छन् । उनीहरुबीच प्रेम अंकुराउन पनि थाल्छ । यसको अन्त्य पाठकीय अनुमानभन्दा भिन्न छ । साथमा छ, हास्य रस । प्रोजेक्टमा काम गर्नेलाई व्यंग्य गरेजस्तो लाग्छ । 

‘जीवनचक्कर’ मा कहीँ पनि नअडिने, धैर्य नभएको मानिसको कथा समावेश छ, जहाँ जान्छ, प्रेममा पर्छ । तर आफूलाई परिवेशअनुकूल ढाल्न सक्दैन ।

‘मृत्युकम्प’ भूकम्पको केन्द्रबिन्दुमा रचिएको दु:खान्त प्रेमकथा हो । रेन्नी र उपहारमा पनि भूकम्पका प्रसंग छन् । दुवै कथामा चिनियाँ परिवेश आएको छ । प्रथम पुरुष दृष्टिबिन्दुमा लेखिएका यी सरस कथामध्ये ‘रेन्नी’ मा स्वंयसेवी चिनियाँ युवतीको वर्णन छ । 

‘उपहार’ मा प्रेमी गुमाएपछि लेखकसँग उठबस गरेकी अमेरिकी महिला पात्र कार्मिनको कथा छ । उनले थाहै नदिई कथाको पात्रबाट सन्तानलाभ गरेकी छन् । ‘दोधार’ र ‘उपहार’ कथाले उठाएको प्रश्न हो– इच्छित पुरुषबाट महिलाले सहजै वीर्य लिन सक्छन् ? पछिल्लो समय जल्दोबल्दो बहसका रुपमा उठेको सरोगेसीसँग जोडिएको छ ।

सम्पूर्ण कथाको अप्रत्यासित अन्त्यले पाठकीय खुलदुलीलाई मलजल गर्छ । कथाहरुमा वैदेशिक रोजगारी, सामाजिक सन्जाल/प्रविधि, महिला हिंसाका साथै सामाजिक दुष्कर्म अटाएका छन् । पात्रको मनोदशालाई पक्रेर लेख्ने उनको साहस तारिफयोग्य छ । तर कथा सम्पादनमा लेखक–प्रकाशकको कन्जुस्याइँ देख्दा भने उदेक लाग्छ ।

प्रकाशित: माघ १८, २०७५