शंखधर साख्वा:को सुन

- सुरेश किरण

धाडिङ प्रहरीमा अनौठो घटना भएछ । बसमा राखेर ल्याइएको चार किलो सुन पक्राउ परेछ । चार किलो सुन पक्राउ पर्‍यो भन्दै पत्रकार सम्मेलन पनि गरियो । सुन ल्याउने मान्छेलाई थुन्ने काम पनि भयो । पछि परीक्षण गर्दा थाहा भयो, पक्राउ परेको सुन त सुनै होइन रहेछ । त्यो त तामा पो रहेछ । पक्राउ पर्दासम्म सुनै थियो । ल्याउँदाल्याउँदै तामा भइसक्यो । अझ दुई–चार दिन ढिलो भएको भए आल्मुनियम भइसक्थ्यो होला । प्रहरी तदारुकताका कारण तामाभन्दा उता जान पाएन ।

घटनाचाहिँ अनौठो लाग्यो । चार–चार किलो सुन एकै रातमा तामा कसरी बन्न सक्छ ? त्यस्तो कुनै रसायन यो धर्तीमा भएजस्तो त लाग्दैन । यसबारे घोत्लिँदै थिएँ, अफिसका पियन सुकुचाले भने, “होइन सर, यस्तो त हुन सक्छ । यसमा आश्चर्य मान्नुपर्ने कुरै छैन ।”

“किन आश्चर्य नमान्ने सुकु ? सुन पनि कहीँ तामा बन्न सक्छ ?” मैले आफ्नो जिज्ञासा पोखेँ ।

सुकुले भने, “तपाईंले शंखधर साख्वा:को नाम सुन्नुभएको छ होला नि । हाम्रो नेपाल संवत् चलाउने शंखधर साख्वा: क्या ! उनको पालामा पनि एकै रातमा एक खर्पन बालुवा सुनमा परिणत भएको थियो । अब बालुवा त सुन बन्न सक्छ भने सुन तामा बन्न सक्दैन ?”

सुकुचाको कुराले दिमाग फेरि उल्टो घुम्न थाल्यो । अहिलेसम्म घुमिरहेको छ । 

प्रकाशित: माघ १७, २०७५

ट्याग: परिहास