हरिशमशेरको त्यो पूर्वघोषणा

- यज्ञप्रसाद आचार्य

राणा प्रधानमन्त्री जुद्धशमशेरका छोरा थिए, हरिशमशेर । जुद्धशमशेरले आफ्ना छोरा र परिवारका लागि काठमाडौँ र उपत्यकाबाहिर पनि प्रशस्तै जग्गाजमिन जोडिदिएका थिए । यिनको निवास हाल काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको भव्य बागदरबार थियो ।

सप्तरीको काचनमा सयौँ मौजा जग्गाजमिन थियो, हरिशमशेरको । सप्तरीको मौजा रेखदेखको जिम्मा मेरा माहिला पिताजी श्रीप्रसाद आचार्यलाई दिएका थिए । त्यो नाताले राणा शासकले माहिला पिताजीलाई खरदारसरहको पदवी दिएका थिए ।

विसं ०१७ असारको घटना हो । हरिशमशेर सप्तरी पुगेका बेला धरान घुम्न आए । धरान बसाइका क्रममा माइला पिताजीबाट हरिशमशेरलाई घरमा खाना खाने निम्तो दिइयो । उनी पत्नी विजया राणा (उबेला रानीसाहेब भन्नुपथ्र्यो) सहित सपरिवार धरानस्थित घरमा आइपुगे एक साँझ ।

राणा शासन हटे पनि राणाजीसँग दरबारिया साइनो सम्बन्ध यथावतै थियो । त्यसकारण यिनीहरुको रवाफ बदलिएको थिएन । स्वयं हरिशमशेरका दुई छोरीमध्ये जेठी इन्द्रराज्यलक्ष्मी र कान्छी रत्नराज्यलक्ष्मीको विवाह राजा महेन्द्रसँग भएको थियो । इन्द्रराज्यलक्ष्मीको १८ भदौ ००७ मा मृत्यु भयो । उनको मृत्युपछि तत्कालीन युवराज महेन्द्रले नेपाली कांग्रेसका नेता मातृका र गृहमन्त्री बीपी कोइरालासित साली रत्नराज्यलक्ष्मीसँग बिहेका लागि राजा त्रिभुवनमाथि दबाब दिन आग्रहसमेत गरेका थिए ।

राजा त्रिभुवनको राणा परिवारसँग सम्बन्ध नगाँस्ने इच्छाविपरीत महेन्द्रले हरिशमशेरका दुई छोरीसँग विवाह गरेरै छाडे । त्रिभुवनको मृत्युपछि १ चैत, २०११ मा सिंहासनारुढ भए महेन्द्र ।

सुवर्णशमशेर अध्यक्ष रहेको मन्त्रिमण्डलले प्रत्येक निर्वाचन क्षेत्रबाट एक–एक जनाको प्रतिनिधित्व रहने गरी सम्पूर्ण देशलाई १ सय ९ सरहदमा विभक्त गरी चुनाव सम्पन्न गरायो, ७ फागुन ०१५ देखि १६ वैशाख ०१६ सम्म । त्यो चुनावमा १ सय ९ क्षेत्रमध्ये कांग्रेस ७४ स्थानमा विजयी भयो । दुई तिहाइ बहुमतसहित कांग्रेस नेता बीपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो, १३ जेठ ०१६ मा ।

पहिलो पटक एकछत्र सत्ता नेतृत्व पाएको सरकारले संविधान, नियम कानुनभन्दा फास्टट्रयाक शैलीबाट धमाधम निर्णय गर्न थाल्यो । धरान नगरपालिकाको चुनाव होस् वा विराटनगर नगरपालिकाको, त्यसमा कांग्रेसको प्रत्यक्ष हस्तक्षेप रह्यो । सरकारी अड्डामा हस्तक्षेप गराएर कार्यकर्ताको पक्षमा निर्णय गर्न लगाउने, संविधान, कानुनभन्दा बाहिर गएर काम गर्न करकाप गर्नेजस्ता कृत्य बढिरहे । त्यतिबेला गिरिजाप्रसाद कोइराला युवावस्थाका थिए । उनी मोरङमा पनि नियमविपरीत यस्ता काम गर्ने कार्यकर्तालाई छेकबार लगाउनुको साटो संरक्षण दिन्थे ।

माहिला पिताजीले महेन्द्रका ससुरा हरिशमशेरलाई कांग्रेसबाट भएका यस्ता घटनाको फेहरिस्त सुनाए, साँझको खानपानमा । पिताजीका कुरा सुनेपछि हरिशमशेर जंगे शैलीमा कड्किए, “ल खरदारबाजे, तपाईंहरुले अलि दिन दु:ख सहनुपर्ने भयो । यो दु:ख धेरै दिन रहँदैन । १ वर्षभित्रै देशमा ठूलो राजनीतिक परिवर्तन हुन्छ । नेपाली कांग्रेसको सत्ता समाप्त हुन्छ । ज्वाइँहजुर (राजा महेन्द्र) बाट सुशासन सुरु गरिबक्सन्छ ।”

हरिशमशेरको यस्तो कुरा मलाई भने पत्यार लागेको थिएन । जनताको दुई तिहाइ बहुमतबाट चुनिएको कांग्रेसको सरकार यति छिट्टै राजा महेन्द्रले हटाउँछन् भन्ने आशंका त्यतिबेला कसैलाई पनि थिएन । हरिशमशेरका अगाडि म हाँसेँ । मेरो अविश्वासलाई चिर्दै उनले भने, “यज्ञ, यो कुरा शतप्रतिशत ठीक हो । हेर्दै जाऊ, ज्वाइँहजुरले सत्ता लिइबक्सिन्छ ।”

मलाई हरिशमशेरको त्यस दिनको कुरा बकम्फुसे लाग्यो । उनलाई काठमाडौँका भाइभारदार र अन्यत्रकाले समेत बोलीको ठेगान नभएको, बकम्फुसे, गफाडी भन्थे ।

महेन्द्रले बीपीको सरकारलाई गलहत्याउँछन् भनेको चाहिँ काठमाडौंका भाइभारदार र राजपरिवारबाटै सुनेका रहेछन्, हरिशमशेरले । उनले सत्ता फेरिने संकेत गरेको ६ महिनामै अर्थात् १ पुस ०१७ मा प्रजातान्त्रिक सरकार अपदस्थ भयो ।

धरानमा हरिशमशेरले जे बोलेका थिए, ठ्याक्कै त्यही पुग्यो । बीपीसहित सबै मन्त्री र अन्य राजनीतिक पार्टीका नेताहरु जेल हालिए । मलाई चाहिँ त्यसमा पश्चात्ताप लाग्यो । हरिशमशेरबाट फुत्किएको प्रजातान्त्रिक सरकार अपदस्थ हुने कुरा कांग्रेस/कम्युनिस्ट पार्टीका नेताहरुलाई जानकारी नदिएकामा । मलाई विश्वासै लागेको थिएन । त्यतिबेला म धरान नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्ष थिएँ ।

यसरी राजा भएको ६ वर्षमै महेन्द्रले मुलुकमा स्थापित प्रजातान्त्रिक सरकारलाई हटाए र आफ्नै शासन सुरु गरे  । पञ्चायती शासन सुरु भएपछि राजा महेन्द्रले ससुरा हरिशमशेरलाई सैनिकको उच्च पद फिल्ड मार्सल पदवी दिए ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: माघ १७, २०७५

ट्याग: स्मरण