विद्रोही बाथटब

- गोकर्ण गौतम

राजधानीमा मात्र पाँच नाटकघर छन्, त्यहाँ नियमितजसो नाटक मञ्चन हुन्छन् । तर नेपाली होइन । कि विदेशी नाटक अनुवाद गरिन्छन्, कि ‘एडेप्टेसन’, जसमा नेपालीपनको सुगन्ध ह्रास हुन्छ । त्यसमाथि सामाजिक यथार्थवादको नाममा त्यस्ता नाटकमा कमेडी हाबी हुन्छ । यसरी नाटकबाट कला र साहित्य हराएको देख्दा नाटकघर धाइरहने फिक्सन डिजाइनर कुमार नगरकोटीलाई खुब पोल्थ्यो । लेखक भएका नाताले जिम्मेवारीबोध पनि गराउँथ्यो, नाटक लेख्न । त्यही असन्तुष्टि र आत्मबोधको परिणाम हो, बाथटब । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको यस नाटक ‘भर्जिन’ भएर मात्र विशेष भएको होइन, यसको लेखन शैली र प्रस्तुति हाम्रा लागि ‘आईस–ब्रेक’ हो । रंगकर्मी विमल सुवेदीको शब्दमा, बाथटब नेपाली रंगमञ्च र साहित्यका लागि नगरकोटीको अनुपम कोसेली हो । सुवेदी भन्छन्, “यति नवीन, प्रयोगात्मक र सशक्त नाटक हामीकहाँ असाध्यै कम छन् । पछिल्लो समयमा त लेखिएकै थिएनन् ।”

बाथटब अतियर्थाथवादी नाटक हो । निर्देशक हुन्, घिमिरे युवराज । अवधि छ, एक घन्टा २० मिनेट । यसबीचमा जीवन, जगत्, लोभ, क्रोधलाई अनेक कोणबाट हेरिएको छ । स्वरैकल्पना भएकाले दर्शकलाई छुट्टै संसारमा लग्छन्, नगरकोटी, घिमिरे र कलाकार मिलेर । बाथटबको मुख्य विशेषता भनेकै, आफैँसँग आफ्नो भोगाइ र बुझाइ, विगत र वर्तमान, मित्र र शत्रु, जीत र हारबारेमा प्रश्न खडा गरिदिन्छ र सोचाइको बाथटबमा लगेर डुबाइदिन्छ । ‘दशगजा भनेको मानव सभ्यताले कोरेको विशाल चिहान हो ।’ यस्ता आङ सिरिङ पार्ने संवाद बारम्बार सुन्न पाइन्छ । नाटकको संरचनासँगै संवादमा गहिरो र व्यावहारिक दर्शन अनुभूत हुन्छ । जस जान्छ, फेरि पनि लेखक नगरकोटीलाई । खासमा ‘टेक्स्ट’ नै बाथटबको मुटु हो ।

मञ्चमा जम्मा तीन पात्र देखिन्छन्– नि:शब्दशमशेर (नीर शाह), जो कथाकार हो तर आफू लेख्दैनन्, टाइपराइटरमा अनिद्रा (भूषिता वशिष्ठ) लाई टाइप गराउँछन् । निरंकुश छन्, क्रूर छन् । अनिद्राले प्रेमीलाई आफ्नो ‘गोल्डन हेयर’ दान गरेकी छन् । निद्रा पनि दान गरिन्, त्यसैले उनी अनिद्रा भइन् । उनको सत्य–खोजको यात्रालाई सघाउन उदय हुन्छ, सिरियल किलर (ब्रजेश) को, जो अनिद्राले नै टाइप गरिरहेको नि:शब्दशमशेरको नयाँ कथा बाथटबको पात्र हो । सिरियल किलर दोधारमा छ । अनिद्राले ‘साधुजस्तो देखिन्छौ’ भनेपछि ऊ आफू सिरियल किलर होइन भन्ने निष्कर्षमा पुग्छ र लेखकसँग विद्रोह गर्छ । तर नि:शब्दशमशेर जसरी पनि सिरियल किलर नै बनाउन चाहन्छन् । यी दुईको रस्साकस्सीको चेपुवामा पर्छिन्, अनिद्रा । साँच्चै अनिद्राले मुक्ति पाउँछिन् ?

पाठकलाई ‘पागलपन’ सम्म पुर्‍याउने कौशल नगरकोटीको ‘ट्रेडमार्क’ बनिसकेको छ । बाथटबमा यो क्षमता अझ अब्बल रुपमा पस्किएका छन् । घरी नि:शब्दशमशेरमा वास्तविक नगरकोटी देखिन्छ, घरी अनिद्रा र सिरियल किलरमा । पात्रमा आफ्नो उपस्थिति (हस्तक्षेप ?) लाई उनी स्वीकार्छन्, “मलाई समाजसँग रुचि छैन, व्यक्तिगत कुरा लेख्छु । त्यसैले पात्रमा मेरा कुरा आइहाल्छन् । पात्र मेरै प्रतिविम्ब हुन् ।” आफू सामाजिक यर्थाथवादमा अडेर लेख्ने भए त्यस्तो हुँदैनथ्यो भन्ने लाग्दोरहेछ उनलाई । यो उनको दोस्रो नाटक हो । शिल्पीमै मञ्चन भएको पहिलो नाटक कोमा : अ पोलिटिकल सेक्समा उनले अभिनय पनि गरेका थिए । यसपटक नाटककार हुनुमै रमाए । अभिनय मिस भएन ? नगरकोटी भन्छन्, “भएन । बरु अझ इन्जोय गरिरहेको छु । कोमा आफैँले खेलेकोले हेर्न पाएको थिइनँ । यसपटक हेर्न पाएको छु । यसको मज्जा बेग्लै रहेछ ।”

नाटकमा तीन पुस्ताका कलाकारको अभिनय छ । नीर शाह पहिलो पुस्ता, ब्रजेश दोस्रो अनि भूषिता तेस्रो । ‘भेट्रान’ कलाकार नीरले ३२ वर्षपछि नाटक खेलेका रहेछन् । “म अभिनयमा रमाउँछु, त्यसमा पनि नाटकमा । त्यसैले यसपटक अलौकिक अनुभव भइरहेको छ,” ६६ वर्षका यी अभिनेताको जोश भरिएको आवाज सुनियो, “अभिनय गरिरहेको छु भन्ने नै बिर्सन्छु । सिनेमामा पनि यसैगरी गर्न पाए हुन्थ्यो ।” नियमित मञ्चीय प्रस्तुतिले शारीरिक थकान त हुन्छ तर त्यसलाई मानसिक सन्तुष्टिले बिर्साइदिन्छ रे । उनी भन्दै थिए, “अभिनय गर्नुअगाडि र पछाडि थकान महसुस हुन्छ तर मञ्चमा पुग्दा सबथोक भुल्छु । अर्कै लोकमा पुगेको आभास हुन्छ ।” उनलाई  बाथटबमा तानेको  यसको स्क्रिप्टले नै हो । ब्रजेशचाहिँ संयोगले जोडिएका हुन् । सुरुमा सिरियल किलरको भूमिकामा हरिहर शर्मा थिए । दुई हप्ता रिहर्सल गरेपछि शर्मा संगीत–नाट्य प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भए । त्यसपछि यो भूमिका गयो, ब्रजेशलाई ।

नगरकोटीको कोमा : अ पोलिटिकल सेक्सको निर्देशन पनि घिमिरेले नै गरेका थिए । त्यतिबेलै नगरकोटीले भेउ पाए, घिमिरेसँग ‘ट्युन’ मिल्छ । बाथटबलाई मञ्चमा उतारेपछि घिमिरेसँग अझ प्रभावित छन्, नगरकोटी । नाटकका पात्र ‘सरियलिस्ट’ छन् तर कलाकारको अभिनयचाहिँ ‘रियालिस्ट’ छ । नाटक हेरिरहँदा यो खट्किन्छ । अभिनयको मामलामा निर्देशक ‘कन्फ्युज’ भएको त होइन ? घिमिरे भन्छन्, “होइन, टेक्स्ट र सेटजस्तै अभिनय पनि अमूर्त हुँदा दर्शकसम्म सञ्चार गर्न असहज हुन्छ भन्ने लागेरै अभिनय स्वाभाविक गराएको हुँ ।” उनलाई लाग्छ, कोमाभन्दा बाथटब कठिन नाटक हो । तैपनि उनलाई ‘भिजुअल्ली’ पस्कन आँट भयो । कारण, नगरकोटी र उनको लेखनीको सानिध्यमा छन् उनी ।

नगरकोटीको नाटकप्रेम गाढा छँदै थियो । बाथटबपछि अझ घनीभूत भएको छ । उनी निश्चिन्त छन्, नाटकझैँ आत्मिक आनन्द अरु लेख्दा नहुने रहेछ । “लेखकका मृत शब्दहरु जीवित पात्रको मुखबाट जीवन्त भएर आउँछ, त्यो अवसर उपन्यासकार, निबन्धकार, कविलाई छैन,” नगरकोटी घोषणा गर्छन्, “नाटक लेखनबिना साहित्यकार अधूरो हुन्छ ।” हो पनि, करिब रित्तो नेपाली रंगमञ्चको ढुकुटी भरिपूर्ण बनाउन पनि अरु धेरै नगरकोटीहरु चाहिएको छ ।

बाथटब २८ माघसम्म मञ्चन हुनेछ ।

 

प्रकाशित: माघ १७, २०७५

ट्याग: नाटक