एक घर एक च्याब्रुङ

- गणेश साम्पाङ

पाँचथर– फिदिमका नौ वर्षीय विलास केरुङ च्याब्रुङ (के) बजेको सुन्नासाथ गोडा घुमाइहाल्छन् । च्याब्रुङको तालमा त्यसै–त्यसै मोहित भइहाल्छन् । केलाङ समाजको प्रशिक्षणपछि सात वर्षको उमेरमै च्याबरुङ नाच्न सिके विलासले । च्याब्रुङ नाच नाच्दा थुप्रै पुरस्कारसमेत पाइसकेका छन् । “मैले नाच्न सिकेपछि बाबाले सानो च्याब्रुङ किनिदिनुभयो, अहिले त्यही भिरेर नाच्छु,” उनी भन्छन्, “अहिलेसम्म २० हजारभन्दा बढी पुरस्कार पाएको छु ।”

बालक विलास मात्र किन ? पाँचथरका साहित्यकार प्रेम ओझालाई पनि च्याब्रुङ नाच प्रदर्शन भइरहेको देख्नै हुन्न, मागेर नाच्न मिसिइहाल्छन् । “म लिम्बू समुदायमा हुर्कें, यही संस्कृतिसित जोडिएँ,” प्रेम भन्छन्, “ च्याब्रुङे साथीहरुसित ताल मिलाएर नाचिहाल्छु ।”

खासमा च्याब्रुङ एउटा वाद्ययन्त्र हो । यसमा संगीतको हिस्सा छ । लिम्बू जातिको संस्कृतिको धरोहरका रुपमा रहेको च्याब्रुङ नाच संरक्षणका लागि पूर्वी पहाडी जिल्ला पाँचथरमा दुई वर्षयता अभियान सुरु भएको छ । च्याब्रुङ संरक्षणका लागि जिल्लामा थुप्रै गतिविधि भइरहेका छन् ।

गत वर्ष अन्तर्राष्ट्रिय केलाङ महोत्सव सम्पन्न भयो भने सागर केरुङले के  नामक चलचित्र नै बनाएर गत पुसमा काठमाडौँमा प्रथम प्रदर्शनसमेत गरिसके । अहिले जिल्लाका धेरै गाउँ र नगरपालिकामा केलाङ प्रतियोगिता भइरहेका छन् । एक घर एक च्याब्रुङको अभियान चलिरहेको छ । गाउँपालिकामा बाक्लो प्रशिक्षण चलिरहेका छन् । किरात याक्थुङ चुम्लुङका फिदिम नगरसचिव सन्देश सुब्बा च्याब्रुङ संरक्षणको अभियान सफलताउन्मुख रहेको बताउँछन् ।

च्याब्रुङ उत्पत्तिको विषयमा लिम्बू समुदायमा फरक–फरक किंवदन्ती रहे पनि यसको संरक्षणमा सबै दत्तचित्त छन् । कथाअनुसार मानव उत्पत्तिको समय तिगेजोङ नामका दुई सन्तान थिए । जेठा छोरा केसामी बाघ स्वभावका र कान्छा नामसामी मानव स्वभावका ।

जेठा बाघ स्वभावको हुनाले जंगलमा गएर ल्याएको सिकारबाट घरपरिवारको भोजन टथ्र्यो । सधैँ दाइले मात्र घर परिवारमा खाना व्यवस्था गर्नुपर्दा दाजुभाइबीच शत्रुता बढ्यो । आमाले यो कुरा थाहा पाई केसामीलाई सम्झाउादासमेत मानेनन् । भाइमाथि आक्रमण गरे । प्रतिकारमा भाइले धनुकाँडले प्रहार गरेर दाइको ज्यान लिए । त्यही दाइको छाला काढेर सुकाएपछि नुन साटियो ।

केसामीलाई भाइले मारेको हुनाले दाइको सम्झनामा आमाले कुनै वस्तु बनाउन लगाइन् । त्यही वस्तुले बाजाको रुप लियो । केसामीको नाममा बनेको हुनाले त्यसलाई लिम्बू भाषामा ‘के’ भनियो । अब यस्तो घटना पुन: नहोस् भनेर त्यो बाजालाई सुखका बेला मात्र बजाउनुपर्ने चलन बसालियो । आज पनि च्याब्रुङ सुखद कार्यका बेला मात्र बजाउने चलन अहिलेसम्म यथावत् छ ।

लिम्बू जातिको संस्कृतिको धरोहरका रुपमा रहेको च्याब्रुङले सिंगो लिम्बू जातिको पहिचान बोकेकाले लिम्बूवान भूमि पाँचथरबाट यसको थालनी भएको किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङ बताउँछन् । भन्छन्, “ च्याब्रुङ लिम्बू जातिको मात्र होइन, यो देशमा बस्ने नेपालीकै एउटा संस्कृति हो ।”

किरात याक्थुङ चुम्लुङले एक घर एक च्याब्रुङको अभियान संस्थागत रुपले ०७३ देखि सुरु गरेको छ भने यसलाई लिम्बू जातिसँगै नेपालीको पनि संस्कृतिको रुपमा चिनाउन केलाङ समाज नामक संस्थासमेत दर्ता छ । केलाङ समाजकै पहलमा गत वर्ष अन्तर्राष्ट्रिय केलाङ महोत्सव फिदिममा सम्पन्न भएको थियो । अहिले जिल्लाका विभिन्न पालिकामा च्याब्रुङ प्रशिक्षण भइरहेका छन् । अब केही समयपछि भुटानमा प्रशिक्षणका लागि जाने तयारी भइरहेको केलाङ समाज पाँचथरका अध्यक्ष मनकुमार केरुङ बताउँछन् ।

याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जबेगुका अनुसार लिम्बूहरुको मौलिक संस्कृति च्याब्रुङ, राई र सुनुवारको ढोल, तामाङको डम्फु बाजाका लागि गाई वा गोरुको छाला अनिवार्य छ । तर गाईगोरु मारेको अभियोगमा मुलुकी ऐनअन्तर्गत गौवध मुद्दामा थुप्रैले जेल सजाय भोगिरहेका छन् ।

“ठूलठूला उत्सवमा च्याब्रुङ, ढोल, डम्फुको सांस्कृतिक झाँकी खोजिए पनि राज्यले संवैधानिक रुपमै यसमाथि निषेध गरेको छ,” आदिवासी–जनजाति महासंघ पाँचथरका अध्यक्ष रिन्जी शेर्पा भन्छन्, “राज्यको विभेदकारी कानुन नहटेसम्म जातजातिको संस्कृति संरक्षण हुन सक्दैन ।”

शब्द/तस्बिर : गणेश साम्पाङ

प्रकाशित: माघ १७, २०७५

ट्याग: दृश्य