फेरि दार्जिलिङ

- वसन्त थापा

फिक्कलबाट पशुपतिनगर केवल ९–१० किमि पर्तिर छ । त्यो भनेको, काठमाडौँको रत्नपार्कदेखि मोटामोटी सातदोबाटोजति पर हो । फिक्कल पुगिसकेपछि पशुपतिनगर गई हेरौँ न भन्ने मन हुन्छ । पशुपतिनगरबाट दार्जिलिङको दूरी केवल ३५ किमि छ । त्यो भनेको काठमाडौँबाट लगभग धुलिखेल गएजति हो । गोटा गन्ती यात्रु लैजाने भाडाको भ्यानले एक घन्टाजतिमै पु‍र्‍याइहाल्छ । त्यसैले त्यहाँ पुगेपछि दार्जिलिङ पनि जाइहालौँ न भन्ने लाग्छ । यसपालि त्यस्तै भयो । गएको फिक्कल तर पुगियो दार्जिलिङ । हातमा समय थियो र साथमा धरानका सहयात्री भाइ । त्यही हुनाले लागियो, दार्जिलिङ ।

म दार्जिलिङ पहिलो पटक गइरहेको थिइनँ । यद्यपि, पशुपतिनगरको बाटो भएर गएको भने यो पहिलो पटक थियो । दार्जिलिङतर्फबाट सुकियापोखरीसम्म पुगेको थिएँ धेरै वर्षअघि– सायद सन् १९७९ मा । सुकियाबजारको हुलिया चिन्न नसकिने गरी बदलिएछ । घरपसलका दोहोरो लाइन, बस, कार, ट्याक्सी, मोटरसाइकल र मानिसको घन्चमन्च । त्यस भीडलाई छिचोलेर हिँडेको हाम्रो भ्यान घुमसम्म त छिट्टै पुग्यो । तर घुमबाट दार्जिलिङतर्फ ओरालो के लागेको थियो, ट्राफिकको चापमा आचेटिन थाल्यो । फुटपाथबिनाका साँघुरो पहाडी सडकमा सैनिक र गैरसैनिक लरी, बस, कार, भ्यान आदिको दोहोरो ताँती, त्यहीँ सानो रेलको लिक, त्यहीँ पार्किङ, त्यहीँ पैदल यात्रुको भीड । रेल स्टेसन छिचोलेर चोकबजारको मोटर स्ट्यान्ड पुग्न नै हाम्रो भ्यानलाई लाग्यो होला पौने घन्टा । कुन ता कि बुहारी, भटमास खाएकी ! एक त सधैँको घुइँचो त्यसमाथि त्यस दिन ट्राफिकलाई त्यसरी अवरुद्ध पार्ने कुनै घटना भएको थियो, हामी जाने मार्गमा ।

म धरानमा कलेज विद्यार्थी छँदा गएको थिएँ पहिलो पटक दार्जिलिङ, हिमचिमका तीन साथीहरुसित मिलेर सन् १९६८ मा । बिजुलीबत्तीको मुख भर्खर–भर्खर देखेको तर सबैको घरमा पुगिनसकेको, पिच सडक, ढल, सार्वजनिक शौचालय, पार्क–उद्यान र ट्याक्सी–टेम्पो–रिक्साजस्ता सवारी जनसुविधा फिटिक्क नभएको एउटा विस्तारित गाउँको कलेबर मिल्काएर नगर बन्ने तरखरमा लागेको धरानबाट दार्जिलिङ पुगेका हाम्रा लागि त्यहाँका सबैथोक नयाँ, नौला, रमाइला थिए, जसलाई देखेर हामी रोमाञ्चित बनेका थियौँ । ‘पहाडकी रानी’ भन्ने उपमा पाएको दार्जिलिङको भौतिक र प्राकृतिक सौन्दर्य हामीलाई अप्रितम लागेको थियो र त्यसको अघिल्तिर आफ्नो नगरको पछौटेपन सम्झेर किञ्चित् खिन्नता पनि महसुस गरेका थियौँ ।

बितेको आधा शताब्दीको अन्तरालमा मैले दार्जिलिङ टेक्दै नटेकेको होइन । चार पटक पुगेको छु, यस अवधिमा भिन्न–भिन्न कारणले । हिसाबले त पाँच पटक हुन्छ, तर सिलिगुडीबाट मिरिकको कृत्रिम ताल हेरेर फर्केको केही घन्टा घुमाइको के गन्ती गर्ने ?

पहिलो भ्रमणबाट दार्जिलिङको सुन्दर छवि छातीमा बोकेर आएको मलाई फेरि जाने मौका कहिले आउला र जान पाउाला भन्ने थियो । त्यस्तो मौका अर्को साल नै जुर्लाजस्तो भएको थियो । अर्थात् सन् १९६९ मा, जुन बेला धरानबाट वामपन्थी तन्नेरीहरुको एक हूल दार्जिलिङका विभिन्न ठाउँमा स्वयंसेवक बनेर गएको थियो ज्योति बसुको भारतीय माक्र्सवादी कम्युनिस्ट पार्टीलाई पश्चिम बंगालको विधानसभा निर्वाचनमा जिताउन । मलाई पनि सामेल गर्ने कुरा थियो त्यस टोलीमा । म खुट्टा उचालेर बसेको थिएँ । तर किन हो, जाने बेला अगुवाहरुले छुटाए मलाई ।

सन् १९७४ मा नेपाली साहित्यका तीन मनीषी सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) को नागरिक अभिनन्दन गरिएको थियो दार्जिलिङमा । त्यस समारोहमा भाग लिन काठमाडौँबाट साहित्यिक पत्रकार संघको ठूलै टोली गएको थियो सभापति भवानी घिमिरेको नेतृत्वमा । त्यस टोलीको सदस्यका रुपमा दोस्रो पटक गएँ म दार्जिलिङ ।

भव्य समारोह भएको थियो । दिल्लीको भारतीय साहित्य अकादमीका पदाधिकारी र काठमाडौँबाहेक अन्यत्रबाट पनि नामीगिरामी प्रतिनिधि समारोहमा भाग लिन आएका थिए । काठमाडौँबाटै गएको भए पनि हरिभक्त कटुवालले असमको प्रतिनिधित्व गरिरहेका थिए ।

सहभागीको हूलमा सुभाष घिसिङ पनि थिए, तर साइडलाइनमा । ख्याउटे र नरम मिजासले बोल्ने उनले थ्याच्च परेको नेपाली ढाका टोपी, माटो रङको ज्याकेट र गलामा टाई लगाएका थिए, जुन पोसाक पछि उनको निजी चिनारी बन्न पुग्यो । कसैले सुभाष घिसिङ भनेर चिनाइदिएपछि मैले उनीसित निकै बेर कुरा गरेँ । मैले उनले लेखेको नीलो चोली उपन्यास पढेको बताएँ । म त्यसबखत समीक्षा  साप्ताहिकसित आबद्ध थिएँ । नेपालको एक पत्रकार भइखाएको मानिस आफ्नो पाठक निस्कँदा उनी खुसी भएका थिए । उनको जम्माजम्मी त्यही एउटा किताब निस्केको थियो । त्यही नै थियो सायद, नेपाली साहित्य सम्मेलनले आयोजना गरेको त्यस समारोहमा उनको सहभागिताको आधार । गतिलो दर्जामा राख्न नसकिने हल्काफुल्का रोमान्टिक कथावस्तु भएको उपन्यास थियो, नीलो चोली । त्यसले चर्चा कमाउने एउटै कारण त्यसका केही अनुच्छेदमा परेका रतिरागका कुतकुत्याउने चटपटे वर्णन थिए । उनलाई त्यसबेला देख्ने र भेट्ने कसैले पनि त्यसको दस वर्ष पनि नबित्दै ‘गोर्खा न्यासनल लिबरेसन फ्रन्ट’ खडा गरेर गोर्खाल्यान्डको नाममा दार्जिलिङमा त्यो विधि बबन्डर मच्चाउँछन् भनी कल्पना गर्न सक्दैन थियो ।

त्यस समारोहमा मनबहादुर मुखियाद्वारा लिखित र निर्देशित अनि देउराली रुन्छ  नाटकको मञ्चन विशिष्ट आकर्षण बनेको थियो । त्यसले दर्शकबाट खुब वाहवाही कमाएको थियो । मनबहादुरसित त्यसबेला गाँसिएको मेरो दोस्ती अहिले पनि कायम छ ।

सन् १९७९ मा तेस्रो पटक घुम्न गएको थिएँ दसैँछेक पारेर पत्नी र एक वर्षकी छोरीसहित पारिवारिक निम्तामा । पहिलो र दोस्रो पटकको भ्रमणमा जस्तै यस पटक पनि मौसम प्रतिकूल रहनाले घुमघाम सीमित रहन गयो । तर एउटा कुराचाहिँ सम्झन्छु, त्यतिन्जेल पनि दार्जिलिङले आफ्नो पुरानो सौष्ठव गुमाइसकेको थिएन र त्यस ठाउँलाई आकर्षक बनाइराख्ने पहिलेका गुण मौजुद थिए, जस्तै– खुला ठाउँ अझै खुला थिए, हरिया रुखबिरुवाको प्रधानता अझै कायम थियो, जनसंख्याको चाप उतिबिघ्न बढिसकेको थिएन, मनपरी घर बनेका थिएनन् र सहरीकरणले अन्धवेग समातिसकेको थिएन ।

अन्तर्राष्ट्रिय पर्वतारोहण संगठनको एउटा भेलामा भाग लिन नेपालबाट गएको सानो टोलीमा सामेल भएर दार्जिलिङ जाने मलाई अर्को मौका मिल्यो सन् १९९४ को डिसेम्बरमा । त्यसबेला दार्जिलिङले गोर्खाल्यान्डको हिंसात्मक आन्दोलनको परिणामस्वरुप पाएको गोर्खा हिल काउन्सिल खडा भएको र सुभाष घिसिङ त्यसको चेयरम्यान बनेको ६ वर्ष बितिसकेको थियो । त्यस पटकको छोटो बसाइमा पहिले जान नपाएको नामुद ‘टाइगर हिल’ जान पाइयो, जहाँ मूलत: बंगाली पर्यटकको घुइँचो थियो । काउन्सिल बनेपछि सहरमा के–कस्ता परिवर्तन आएका थिए कुन्नि ! आएका थिए भने पनि त्यस्तो कुनै ठूलो र साकार रुपसित हाम्रो साक्षात्कार भएन । मानिसहरु काउन्सिल चेयरम्यानको साइरनयुक्त सवारीको चाहिँ कुरा गर्थे । सबै उनी खुबै ‘पावरफुल’ छन् भन्थे ।

त्यसपछाडि अस्ति दसैँअघि हो पछिल्लोचोटि म दार्जिलिङ पुगेको । मानिसको रेलापेला, गाडी र मोटरसाइकलले खचाखच चोकबजारले कोलकाताको बडाबजार सम्झाउँथ्यो । यतिका वर्षमा साँघुरा गल्ली, गल्छेंडा र दुले गौँडाहरु बढेछन् । चौरस्ताबाट तुङसुङ बस्ती जाने बाटो लामो गल्लीमा परिणत भएछ । कुनै कुनाकाप्चा, सडक छेउको पर्खाल–भित्ता खाली देखिन्नथ्यो । तिनमा फुटपाथे पसल, टहरा, छाप्रा र गुम्तीले कब्जा जमाएका थिए । ब्रिटिस कालमा गोरा साहेब र मिम साहेबहरु टहलिने र स्वाधीनतापछि युवा प्रेमीप्रेमिका घुम्ने मालरोडमा पनि प्लास्टिकको ओत राखेर थापिएका पसलको लर्को थियो ।

सहरमा देखिएको गन्जागोलबारे सोध्दा एक रैथाने पसलेले ‘यहाँ तल घर सानो ठडिन्छ, माथि फैलिन्छ । म्युनिसिपालिटीले हेर्ने होइन । पैसाको भरमा जे पनि हुन्छ, मनपरी छ यहाँ’ भनेका थिए । नभन्दै एकै अंगुल जमिन खाली नछाड्ने होड चलेझैँ देखिन्छ । झन्डै २५ वर्षको अन्तरालपछि म गएको थिएँ, तर दार्जिलिङको सौन्दर्यमा चार चाँद लगाउने कुनै नौलो आयाम थपिएको देख्न पाइनँ ।

समयको लहरले धेरै कुरा फेरेको, बदलेको र मेटेको भए पनि म सन् १९६८ मा पहिलो पटक जाँदा पसेको अक्सफोर्ड बुक सप अझै चौरस्तामा साबुद रहेछ । हुन त, बदलिँदो समयसित सम्झौता गर्ने क्रममा पसलको ठूलो हिस्सा अहिले केटाकेटीका खेलौना र कोसेलीपातका वस्तुद्वारा ओगटिएको छ ।

भानुभक्त किन आदिकवि कहलिए भन्दा चौरस्तामा उनको सालिक आधी मात्र भएकाले भन्ने दार्जिलिङे जोक थियो । अहिले त्यहाँ उनको पूर्ण कदको सालिक ठडिएको रहेछ ।

अग्ला घर बनाउने अन्धहोड चलेको समयमा दास फोटो स्टुडियो भने तला नउचाली बसेको देख्दा अचम्म लाग्यो । त्यहाँका रंगीन तस्बिर देखेर ५० वर्षअघि हामी लट्ठ परेका थियौँ । अहिले पसलको रंगीन अतीत सम्झाउने थुप्रै कुरा छन्, अपितु, पसलको भविष्य भने त्यति रंगीन नभएको आभास त्यहाँभित्र पस्दा पाइन्छ ।

त्यही लाइनमा केही तलतिर ग्लेनरिज रेस्टुराँ पनि टिकेकै रहेछ । दार्जिलिङ पहिलो पटक घुम्न गएका बेला एक साँझ माथि रेस्टुराँमा बजेको ब्यान्डको संगीत तल सडकको रेलिङमा बसेर हामीले सुनेका थियौँ । रेस्टुराँ पस्ने हाम्रो हैसियत थिएन !

चोकबजारबाट क्यापिटल सिनेमा जाने बाटो लाग्नेबित्तिकै कुनामा रहेको ओरियन्टल रेस्टुराँमा मैले पहिलो पटक लाङ स्याको थुक्पा चाखेको थिएा । त्योचाहिँ भत्काइएछ तर त्यसको ठाउामा रेस्टुराँकै नयाँ भवन ठडिन लागेको रहेछ, जसलाई रेस्टुराँले गरेको प्रगतिको द्योतक मान्नुपर्छ ।

चौरस्ता नजिकै रहेको साबिकको भिक्टोरिया पार्कलाई मासेर त्यस ठाउँमा पहिले ‘भानु भवन’ र अहिले ‘गोर्खा रंगमञ्च’ नाम पाएको अजंगको भवन परैबाट टक्रक्क आँखामा पर्छ । दार्जिलिङको केन्द्रभागतर्फ पिठ्युँ फर्काएर उभिएको त्यस भद्दा संरचनाले परबाट हेर्दा नेपाल खाद्य संस्थानको गोदामको भान दिन्छ । त्यसको मोहडाको वास्तुरचनाले पनि कुनै विशिष्ट सिर्जनात्मकताको नमुना प्रस्तुत गर्दैन । त्यसले त्यस स्थानको सुन्दरतालाई बढीबढाउ नगरेको कसैलाई पनि लाग्न सक्छ ।

खानेपानीको अभाव अर्को विकराल समस्या हो दार्जिलिङको । ट्यांकरको आपूर्तिबिना धेरै घर र व्यवसायको गुजारा चल्दैन । उदेक लाग्छ, यहाँका बासिन्दाले कसरी गुजारा चलाइरहेछन् । ६ हजार चानचुन फिट अग्लो पहाडको शिर, गर्दन, पिठ्युँ, छाती र कोखामा उम्रेको एउटा सहरले कति भौतिक वस्तु र संरचना तथा कति जनघनत्वको बोझ धान्न सक्ला ?

सन् १८५० मा स्थापित भएको थियो दार्जिलिङको म्युनिसिपालिटी, जसको रोबदार भवन सहरमाझ ल्याडेन ला रोडमा खडा छ । त्यस भवनको बुर्जामा रहेको तर चल्न बन्द भएको घडीले सहरको बेथिति रोक्न नगरपालिका असमर्थ रहेको संकेत दिन्छ । आजभन्दा १ सय ६८ वर्षअघि नगरपालिका खडा गर्ने संस्थापकहरुले अवश्य पनि आजको दार्जिलिङको कल्पना गरेका थिएनन् ।

घिसेपिटे उक्तिको सहारा लिएर भन्ने हो भने बितेका दुई/अढाई दशकमा टिस्टा र रंगितमा धेरै पानी बगिसकेको छ । यस अवधिमा सुभाष घिसिङको २० वर्ष चलेको एकछत्र राजको अन्त्य भयो । उनलाई नेतृत्वबाट विस्थापित गर्दै चेला विमल गुरुङले ‘गोर्खा जनमुक्ति मोर्चा’ को नाममा फेरि नयाँ चरणको आन्दोलन थाले । आन्दोलन निकै चुलिएको थियो तर त्यो पनि गोर्खा टेरिटोरियल अथोरिटी (जिटिए) नामको केही बढी स्वायत्तता भएको अर्को राज्य संयन्त्र गठनमा पुगेर टुंगियो । इतिहासलाई दोहो‍र्‍याउादै विमल गुरुङ जिटिएको चेयरम्यान बने । तर चेयरम्यानको कुर्सीमा खुट्टा घुमाएर बसिरहने परिस्थिति रहेन र उनले गोर्खाल्यान्ड आन्दोलनको अर्को चक्र पुन: थाले । गोर्खा पहिचानका लागि त्यस आन्दोलनले पहिरनमा जोड दिएको थियो र गुन्यु–चोलो, दौरा–सुरुवाल–टोपी लगाउने व्यापक अभियान थालेको थियो । कुनै पनि मूल्यमा आफ्नै गोर्खाल्यान्ड राज्य लिई छाड्ने संकल्प साथ छेडिएको पछिल्लो आन्दोलनमा दार्जिलिङ एक सय दिन बन्द रह्यो, जो अहिलेसम्मकै सबभन्दा लामो थियो । त्यस क्रममा एउटा पूरै टुरिस्ट सिजन हातबाट खुस्क्यो, दसैँ बिथोलियो र आम मानिसको जीवन उथलपुथल भयो । गोर्खाल्यान्ड राज्य त मिलेन–मिलेन, त्यसका प्रणेता विमलमाथि फौजदारी अभियोग लाग्यो, जसका कारण उनी डेढ वर्षदेखि फरार छन् । उनको ठाउँमा विमल तामाङ जिटिए प्रमुख बनेका छन् ।

राजनीतिक रोटेपिङको यस चक्करमा ‘टिम्बर, टी, टिचिङ र टुरिज्म’ द्वारा धानिएको दार्जिलिङको अर्थतन्त्र कचल्टिएको छ । ‘टिम्बर’ अर्थात् काठ बाँकी रहेन, ‘टी’ अर्थात् चिया उद्योगको हालत धरमर छ, ‘टिचिङ’ अर्थात् शिक्षाको स्तर खस्किएकाले बाहिरबाट आउने विद्यार्थी अन्तै मोडिएका छन् र ‘टुरिजम’ अर्थात् पर्यटन व्यवसाय बन्द र हड्तालले निम्त्याउने अनिश्चितताको सिकार बनेको छ । अनि दार्जिलिङले अहिलेसम्म जीवनयापनको कुनै अर्को भरपर्दो आर्थिक स्रोत फेला पार्न सकेको छैन । ‘पहाडकी रानी’ को ख्याति केवल कहानी बन्ने पो हो कि भन्ने अवस्था छ ।

कुरा केवल भौतिकताको होइन, जुन भर्भराउँदो बौद्धिकता र सिर्जनशीलताका लागि एकताका दार्जिलिङ चिनिन्थ्यो, त्यो अहिले कतै उडेर गएको छ ।

कसले भर्ने इन्द्रबहादुर राई, कुमार प्रधान, अम्बर गुरुङ, गोपाल योञ्जनले छाडी गएका रिक्त स्थान  ?

एउटा सार्वभौम मुलुक हुनु र एउटा प्रदेश हुनुमा कति फरक हुँदो रहेछ, त्यो कुरा वर्तमान दार्जिलिङको अवस्था हेर्दा बोध हुन्छ । ५० वर्षअघि पहिलो पटक दार्जिलिङको भूमिमा पाइला टेक्दा हामी कति पछाडि र उनीहरु कति अगाडि भन्ने लागेको थियो । अहिले परिस्थितिले पल्टा खाएको छ र नेपालबाट हेर्दा उनीहरु पछाडि देखिन्छन् । बालकृष्ण समले नेपालले आज सोच्ने कुरा दार्जिलिङले हिजै सोच्छ भनेर दार्जिलिङको तारिफ गरेका थिए । तर भोलिको कुरा सोच्न नसकेर आजको दार्जिलिङ बिलखबन्द परेको देखिन्छ ।

गोर्खाल्यान्ड प्राप्त गर्ने कुरा दुरस्थ संगीतको मीठो धूनजस्तो बनेको छ । यद्यपि, त्यसका लागि उठेको आन्दोलनले त्यहाँका निवासीलाई राजनीतिक रुपमा जागृत र आफ्नो सत्वबारे चनाखो पारेको छ ।

दार्जिलिङबाट पशुपतिनगरतर्फ फर्कंदै गर्दा भ्यानमा सँगै यात्रा गरिरहेका एका अधबैँसे दार्जिलिङबासीलाई अब गोर्खाल्यान्ड के हुन्छ भनी सोधेको थिएँ । उनले ‘ हिल काउन्सिल एमेन्ड भएर अथोरिटी बन्यो, अब थ्री, फोर, फाइभ, सिक्स हुने होला । त्यसपछि ‘छक्का’ हुन्छ, अन्त के हुन्छ’ भनेका थिए । उनको संकेत दार्जिलिङमा ‘सिक्स्थ सेडयुल’ को प्रावधान लागू गरिने कुरातर्फ पनि थियो । त्यो लागू भए गोर्खाल्यान्डको पूरै आधार समाप्त हुने धेरैको डर छ । जे भए पनि उनको यस उक्तिले दार्जिलिङको मनोदशालाई प्रकट गर्छ, जो अन्योल र अनिश्चयबाट घेरिएको छ ।

प्रकाशित: माघ १७, २०७५

ट्याग: संस्मरण