बाको त्यो संग्रह

- नयनराज पाण्डे

डेढ–दुई सय वर्षअघिको कथा समेटिएको उपन्यास डन किहोते  बाको संग्रहमा पहिलो पटक भेट्दा मलाई बालसाहित्यजस्तो मात्रै लागेको थियो । तीसको दशकमा नेपालगन्जका साहित्यकारहरुको सिफारिसमा पढेपछि उरन्ठेउला पात्रहरुको रमाइलो वर्णन मानेँ । काठमाडौँ बसाइमा फेरि दोहोर्‍याउँदा डन किहोतेभित्रका अर्थगत गहिराइलाई बेग्लै ढंगबाट बुझेँ ।

हास्यका फोहरा छुट्ने गरी पात्रहरु रेलका डब्बा र दानवहरुसँग लडेका छन् । विकास, अर्थतन्त्रका नाममा आउने भयावह नारासँग आम मानिसले संघर्ष गर्नुपर्दो रहेछ । समाज परिवर्तन गर्न हिँडेका दुई पात्रले खडा गरेको काल्पनिक शत्रुलाई पुँजीवादको विम्ब बुझेँ । सर्वान्तेजको यस उपन्यासले मलाई विम्ब र रुपकसँग खेल्न सिकायो । कथनशैली पृथक बनाउने सुविधा सामाजिक यथार्थवादमै पनि रहेको वास्तविकता डन किहोतेले नै बतायो मलाई । एनिमल फार्मको व्यंग्य–कारिगरीको प्रेरणा पनि यही उपन्यास हो सायद । जर्ज अरवेलले पनि काल्पनिक पात्रलाई मानवीकृत गरेर राजनीतिमाथि प्रहार गरेका छन् । साहित्य विषय मात्रै नभएर टेक्निक पनि हो । हामीले प्रतिरोधी साहित्यका नाममा ठाडै नारा पनि लेख्यौँ तर साहित्यले कलात्मक बाटोबाट निरंकुश सत्ताविरुद्ध लड्न सक्छ भन्ने दृष्टान्त पेस गरेको छ, यो उपन्यासले । सुरुआती चरणमै पढेकाले मेरो लेखनमा यो उपन्यासको गहिरो प्रभाव परेको हुनुपर्छ ।

निराशालाई अभिव्यक्त गर्न कथानकहीन आख्यानको लहर छाएका बेला  ०४४/४५ तिर प्लेगको हिन्दी अनुवाद विमल निभाको पसलमा भेटेँ । अल्वर्ट कामुको यो उपन्यास पढ्नुअघिसम्म लाग्थ्यो– दक्षिण एसियाको साहित्य मात्रै हामीले पढ्नुपर्छ । तर यो उपन्यासको पठनपछि लाग्यो– अन्तर्राष्ट्रिय जगतमा चलेका कथाबाट हामीले धेरै कुरा बुझ्न सक्छौँ । विश्वयुद्धपछिको विसंगतिबोधका कारण मानवीय अस्तित्वका विषय उठेका थिए । प्लेगको कथा लेखे पनि त्यसको वास्तविकतासँग परिचित थिएनन् कामु । तर हैजाग्रस्त बस्तीको अनुभवलाई जोडेर प्लेग  बुने उनले ।

चिकित्सकको दृष्टिबिन्दुबाट एउटा सहरमाथि कथिएको यो उपन्यास सल्लीपिर  लेख्दा झनै उपयोगी लाग्यो । शेर्पा समुदायको कथा–व्यथालाई नजिकबाट नियाल्न नपाए पनि आम नेपालीको अभावसँग परिचित थिएँ । कामुले अनुसन्धान र कल्पना घोलेर सामाजिक कथा रच्ने शैली मात्रै सिकाएनन्, फरक रोगन र भूगोलका व्यथा पनि अनुभूत गराए । हामीले लाहुरे आँखाबाट मात्रै विश्वयुद्ध हेर्‍यौँ । युद्धपछि आत्महत्यालाई बौद्धिक प्रतिक्रियाका रुपमा समेत बुझिएको थियो भने निराशाभित्रबाटै आत्मअस्तित्वको प्रश्न र विद्रोहचेत उम्लिन थालिसकेको थियो । कामुले विसंगत जीवन देखाए पनि राजनीतिक सचेततासहित लेख्नुपर्ने कुरा परोक्ष पाठका रुपमा सिकाउँछन् । यस्तै विसंगतिवादी साहित्यको प्रभाव पूवाद्र्धका मेरा आख्यानमा प्रस्ट देखिन्छ ।

नित्सेको दस स्पेक जराथुस्त्रमा अभिव्यक्त सूत्रात्मक दार्शनिकता फुटाउन गाह्रो पर्‍यो सुरुमा । ध्रुवचन्द्र गौतम, नारायण ढकाल, श्यामलहरुसँगको संगत र छलफलबाटै ‘ईश्वर–मृत्यु’ को गाम्भीर्यलाई नजिकबाट सोच्न थालेँ । हाम्रोजस्तो आध्यात्मिक समाजमा ‘ईश्वर अन्त्य’ को विचार अति काल्पनिकजस्तो लाग्थ्यो । तत्कालीन युरोपमा विश्वयुद्धपछि देखापरेका सामाजिक–राजनीतिक चेतनालाई चिन्तनको तहबाट बुझ्न यो किताब सहयोगी भयो । पश्चिमा लेखकहरु हवाई कल्पनामा मात्रै रमाएनन्, चमत्कारी शिल्पसहित युद्धका सामाजिक त्रासदीलाई पनि उनीहरुले निकै बलियोसँग पक्रे । काल्पनिक उडान र धरातलीय यथार्थको सम्बन्धमा लेखकहरु घोत्लिनुपर्छ भन्ने समझ दस स्पेक जराथुस्त्रले दियो । स्वैरकल्पनाका नाममा सामाजिक समस्यालाई बेवास्ता गरी जमिन छाड्ने हाम्रा लेखकहरुले नित्से पढ्नु जरुरी छ । तर यथार्थलाई बताउने पुरानै सपाट शैली च्याप्नुपर्छ भन्ने मेरो जिकिर होइन ।

लू  उपन्यासमा मैले गरेका केही प्रयोग यिनै साहित्यबाट सापटी लिएँ कि भन्ने लाग्छ । हामीसँग भन्नुपर्ने विषय धेरै छन् तर फिचर लेखनबाट उति पर जान सकेका छैनौँ । उपयुक्त कथ्यशैली चयनमा लेखकहरु आफैँसँग संघर्ष गरिरहेका हुन्छन् । प्रयोगमा विविधता दिन र पुनरावृत्तिबाट बच्न पनि लेखकहरुले नित्से पढ्नु आवश्यक छ ।  जनयुद्धपछि नेपालमा ‘ईश्वर’ मानिएको राजालाई चिन्तनको तहमा त मारियो तर समाज परिवर्तनका संवाहक ‘अतिमानव’  जन्मिएनन् । आशावादी कल्पनाको निषेध गर्न भने सकिँदैन । बेथिति–विसंगतिको यथार्थ चित्र र सुन्दर भविष्यको कल्पनाको मेलका कारण नित्सेप्रति म आकर्षित छु ।

समाज बुझ्ने सजिलो बाटो आख्यानै रहेछ । आदतका कारण इतिहास र अनुसन्धानमा समेत कथाहरु भेट्छु म । नेपालका बालीनाली तिनको दिगो खेती  पढ्दा कृषक, जमिन, मौसम, माटोका जानकारी पनि कथात्मक लाग्यो । र, लूमा त्यसलाई उपयोग गरेँ ।

कुनै समय सिनेमासँग जोडिएकाले पुस्तक पढ्दा दृश्यविम्ब बनाएर कथासँगै अघि बढ्छु । चलायमान रुपक खेलाउँदै अध्ययन गर्नु रोमाञ्चकारी र बोधगम्य हुन्छ । लेखनजस्तै पठनबाट पनि आध्यात्मिक आनन्द मिल्छ ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: माघ १६, २०७५