संसद् चल्ने आफ्नै तरिका

- सुरेश किरण

संसद् संसदै हो, सरकार सरकारै हो । संसद् र सरकारलाई घुलमिल गरेर हेर्न मिल्दैन । सरकार आफ्नै ढंगले चल्छ, संसद् आफ्नै ढंगले । तर जनता यस्तो कुरा बुझ्दैनन् । डा गोविन्द केसीले त बुझेका छैनन् भने अरुको के कुरा ? उनलाई नै बुझाउन अस्ति प्रधानमन्त्री खड्गप्रसाद ओलीले भने, “संसद्लाई म आग्रह गर्न सक्छु, आदेश दिन सक्दिनँ । किनभने, सरकार आफ्नै ढंगले चल्छ, संसद् आफ्नै ढंगले चल्छ ।”

वास्तवमा संसद् चल्ने आफ्नै तरिका हुन्छ । संसद् भनेको सरकार चले जसरी चल्दैन । संसद् चलेपछि त्यहाँ सांसद–सांसदबीच घम्साघम्सी, एकआपसमा तानातान हुनुपर्छ । अझ सघन र गम्भीरतापूर्वक चल्ने हो भने एकआपसबीच ठोकाठोकै पनि हुनुपर्छ । कोटका पाता नै च्यातिने गरी तानातान भएपछि बल्ल संसद् चलेजस्तो हुन्छ । संसदमा प्रत्येक सांसद्का अगाडि माइक राखिएका हुन्छन् । त्यो माइकको दुइटा काम हुन्छ । एउटा, त्यसमा आफ्नो कुरा बोल्ने । अर्को, त्यही माइक झिकेर हान्ने । यदि विषय गम्भीर छ भने माइक मात्र होइन, कुर्सी पनि उठाएर हान्ने गरिन्छ ।

संसद् भनेको यसरी चल्छ । यसरी चल्ने संसद्लाई प्रधानमन्त्रीले आदेश दिन मिल्दैन । आदेश दियो भने त्यो असंसदीय हुन्छ । संसदीय व्यवस्थामा कसरी असंसदीय आदेश दिने ? त्यो त मिल्दैन । अनि, नमिल्ने माग राखेर अनशन बसेपछि कसरी पूरा गर्ने  ? त्यसमा पूरा गर्छुसम्म भन्न मिल्छ, पूरै गर्न त मिल्दैन ।

प्रकाशित: माघ १५, २०७५

ट्याग: परिहास