जातीय हिंसाको बेलिविस्तार

- प्रकाश विक

‘चुकउस्योलाई खैमा होला मादी भएउ दिन, हैजाउ दिन अखाबा, कालै पनि अखाबा ल्हे ?’ अर्थात्, यी कामीहरूलाई मादीमा लग्ने दिन नि नआउने, हैजाले पनि नलग्ने, काल पनि के भाको ?

घरनजिकैका दुई गुरुङ परिवारको गाली दिनहुँ सुन्नुपथ्र्यो बाल्यकालमा । भनिन्छ– मतवालीहरू छोइछिटो मान्दैनन् । तर उनीहरू भने घरआँगनसँग जोडिएको बाटोसमेत हिँड्न नदिने । पानीपँधेरो गर्ने मूलबाटो मेरै समुदायको बीचमा थियो । त्यही बाटो हिँड्दा पनि मेरै समुदायलाई गाली दिने । केही हुनुहुँदैन, जातविशेषका गालीसँगै छानोमा ढुंगासमेत बर्साउने ।

माध्यमिक तह पढ्न म पोखरा गएँ । त्यहाँ जात ढाँटेर रमाएँ । गल्लीगल्ली निर्धक्क हिँड्डुल गरेँ । गुरुङ परिवारको गाली पनि सुन्नुपरेन । नौ महिना बित्यो, पोखरा बस्न थालेको । गाउँका दिले, स्याने, पर्बे, किने, मिने, रामे (नाम परिवर्तन) को न्यास्रो लाग्न थाल्यो । छुट्टीमा गाउँ गएँ । मूलबाटोमा पानी ल्याउँदै गर्दा दिलेसँग भेट भयो । दिलेले मलाई के सोचेर हो, टीभीमा डिभिडी जोड्न घर बोलायो । सहरिया भएछु क्यारे, जातभात त भुसुक्कै भुलेँ ।  उसको घरभित्र सरासर पसेँ ।

 “हैन यो कामी के भाको, हुँदाहुँदा घरभित्रै छिर्ने, कस्तो मान्छे पनि नटेरेको ?” एक्कासि दिलेकी आमा च्याँट्ठिइन् । आँगनबाटै गाली गर्न थालेपछि पो बल्ल होसमा आएँ, म कहाँ छु भनेर । पहिले साथीकी आमालाई गल्लीमा देख्दा परैबाट डराएर भाग्ने म, उनी सुत्ने खाटैमा बसेको याद गरेपछि छाँगाबाट खसेझैँ भएँ । लाग्यो, अब आकाश मेरै टाउकोमा बज्रन्छ । मानौँ– आफूसामु ठूलो पहाड ठडिएको छ, पाइला फिटिक्कै अगाडि बढेन । एक्कासि शरीर काम्न थाल्यो । पसिना चिट्चिट् छुट्यो । घाँटी चपक्कै सुक्यो । कान ड्याम्मै थुनियो, बाहिरको आवाज कत्ति पनि सुनिएन ।

“अँ ल्हे, घरभित्रै नै कसरी छिर्न सकेको यार तँ ?” दिलेकै मुखबाटै जब सुनेँ, झल्याँस्स भएँ । अघिसम्म उसका अगाडि नझुकेको शिर नउठ्ने गरी झुक्यो । लाजमर्दो महसुस भयो । लाग्यो, ठूलै अपराध पो गरेछु । खोइ, कसरी घरमा आएँ, थाहै भएन ।

पोखरा फर्कन लाग्दा पटुकाबाट ५ सय रुपैयाँको नोट दिँदै आमाले सोधिन्, “होइन तँलाई के भयो ? पैसा थोरै भयो ? पढ्न जान मन लागेन ?” मैले झूटो जवाफ दिएँ, “होइन आमा, अब आउने कहिले हो, कहिले त्यही भएर नि ∕” आमाले फेरि सोधिन्, “अनि किन यस्तो मलिन नि ? किन निरास देखिन्छस् त ?” म नाजवाफ भएँ । गहभरि आँसु लिएर पोखरा हान्निएँ ।

जातभात र मनोसामाजिक समस्या

दिले र उनकी आमाले गरेको अपमानले मनमा ठूलो चोट पार्‍यो । १२ वर्षको मस्तिष्कलाई चोटिला प्रश्नले हिर्काइरहे– किन साथीकै घरआँगन टेक्न पाइँदैन ? उनीहरूका घरआँगन र बाटोमा के छ ? हामीले टेक्नै नहुने आँगन र छिर्नै नहुने घर कस्तो होला ? हामी पनि अरू मानिससरह नै हौँ । तर हामीलाई मात्रै यति धेरै अपमान किन ? यस्ता प्रश्नले पिरोल्न थाले ।

आत्मसम्मानमा लागेको चोट थियो, अपमानले जन्माएका प्रश्न पनि थिए । कयौँ दिन निरासामा बिते, निदाउनै सकिनँ । राम्ररी खान पनि खाइनँ, फिस्टे देखिन थालेछु । काका कराउन थाले । स्कुल जान्थेँ, पढ्न रत्तिभर मन लाग्दैनथ्यो । त्यही तनावले गृहकार्य नगर्दा शिक्षकले पिटे । रमाइलो लाग्ने काममा रुचि घट्यो । काकासँग पनि झर्को लाग्न थाल्यो । साथीभाइसँग स–साना कुरामा झगडा पथ्र्यो ।

यस्तो तनाव अनेक रूपरंगमा प्रकट भइरहन्छ आजभोलि पनि । काठमाडौँमा पनि जात ढाँटेर बसेकाले होला, कुन दिन घरबेटीले जात थाहा पाउने हुन् र अप्ठेरोमा पार्ने हुन् भन्ने डरले सधैँ पिरोलिरहन्छ । अनुसन्धानको काममा बास बस्दा तनाव भइरहन्छ । जात भनेकै कारण अपमान भोग्नु परेकाले अरूको घर छिर्दा मन त्रसित हुन्छ । दैनिक दुव्र्यवहारका कारण आफ्नै जीवनदेखि दिक्दार लाग्छ । भोग्दै जाँदा बल्ल थाहा भयो, यस्तो तनावको एक मात्र कारण रहेछ मेरो जात । जातको स्रोत रहेछ, हिन्दु धर्मले बनाएको वर्णव्यवस्था । ममा देखिएका लक्षणको सूक्ष्म विश्लेषण गर्दा मनमस्तिष्क, व्यवहार र सामाजिक सम्बन्धमा नकारात्मक असर परेको प्रस्ट हुन्छ । मानसिक स्वास्थ्यको परिभाषाअनुसार यो मनोसामाजिक समस्या हो । कुनै पनि व्यक्तिका दुई पक्ष हुन्छन्– मनोवैज्ञानिक र सामाजिक । मनोवैज्ञानिक पक्ष हुन्, व्यक्तिको मनभित्र आउने सोचाइ, विश्वास, इच्छा, आकांक्षा, धारणा, चाहना । सामाजिक पक्ष हुन्– समाजमा चलिआएका धार्मिक, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता, रीतिरिवाज, चालचलन । यी दुई पक्षबीच निरन्तर अन्तक्र्रिया भइरहन्छन् । यी दुई पक्षलाई सन्तुलनमा राख्न नसक्दा तनाव वा नकारात्मक भावना उत्पन्न हुन्छन् । यसैलाई हामी मनोसामाजिक समस्या भन्छौँ ।

यसको अर्थ मनोसामाजिक समस्याका कारण आन्तरिक (मनोवैज्ञानिक) र बाह्य (सामाजिक) पक्षसँग सम्बन्धित छन् । ममा देखिएको समस्याको जड सामाजिक पक्षसँग मेल खाएको देखिन्छ । हिन्दु वर्णव्यवस्थाले समाजमा मेरो एक फरक पहिचान बनाइदिएको छ । त्यो पहिचान हो– अछूत, तल्लो जात, पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने । यही नकारात्मक पहिचानका आधारमा हिन्दु समाजका ‘उच्च जात’ का व्यक्तिसँग अन्तक्र्रिया गर्न बाध्य छु । मनले सोच्छ, म पनि अन्यसरह यो समाजको जिम्मेवार व्यक्ति हुँ तर यो ‘उच्च जात’ ले स्वीकार्दैन । र, म पनि मनोसामाजिक समस्याको सिकार हुन्छु ।

मनोसामाजिक समस्याको कारण बहुआयामिक हुन्छ । गरिबी, अशिक्षा, बेरोजगारीजस्ता कारणले पनि समस्या निम्त्याउन सक्छन् । एउटै मात्र कारणले यस्तो समस्या नहुन सक्छ । यसको अर्थ ‘अछूत’, ‘तल्लो जात’ बनाइएकै कारणले मात्रै मनोसामाजिक समस्या हुँदैन । गरिब, अशिक्षित, बेरोजगार भएकाले पनि समस्या हुन सक्छ । यहाँ त ‘तल्लो जात’ बनाइएकै कारण गरिब, अशिक्षित, बेरोजगार हुने गर्छन् । जताबाट हेरे पनि तल्लो भनिएका जातका लागि हिन्दु वर्णव्यवस्था मनोसामाजिक समस्याको प्रमुख स्रोत हो ।

असर

धेरै सैद्धान्तिक मोडलले लामालामा तर्क दिएका छन्, बालबालिका तथा किशोरकिशोरीको विकासमा उनीहरूको सामाजिक स्थितिले महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा । व्यक्तिको सामाजिक स्थिति उसका धर्म, जातजाति, रंग, लिंग, वर्ग, भाषाले तय गरेको हुन्छ । जस्तै, हिन्दु वर्णव्यवस्थाका कारण दलितहरू समाजको तल्लो श्रेणीमा छन् । वर्णव्यवस्थासँग जोडिएको लैंगिक असमानताका कारण महिलाको सामाजिक अवस्था कमजोर छ । व्यक्तिको सामाजिक अवस्थाले उसको आत्मसम्मान निर्धारण गरेको हुन्छ । यहाँ आत्मसम्मानको अर्थ हो– व्यक्तिका गुण, महत्त्व, इज्जत, मानसम्मान, प्रतिष्ठा, गरिमा । बलियो सामाजिक अवस्थाले आत्मसम्मान प्राप्त गर्न सहयोग गर्छ भने कमजोर सामाजिक अवस्थाले व्यक्तिको आत्मसम्मानमा चोट पुर्‍याउँछ ।

जो व्यक्तिसँग उच्च आत्मसम्मान छ, उसले आफू समाजमा राम्रो मान्छे हो भन्ने विश्वास गर्छ, आफ्ना गुण चिन्न सक्छ, आनन्दित र सफल जीवनका लागि ऊ प्रयासरत रहन्छ । अन्तत: उसको व्यक्तित्व विकास हुन्छ । जोसँग कम आत्मसम्मान छ, उसले आफैँप्रति नकारात्मक भावना राख्छ । समाजमा आफूलाई तुच्छ सोच्छ । उसलाई लाग्छ, प्रेम, खुसी वा जीवनमा सफलता पाउन आफू योग्य छैन । अध्ययनले देखाउँछ– कम आत्मसम्मान भएका धेरैजसोमा मानसिक समस्या हुन्छ । त्यसमाथि पहिचानका आधारमा गरिने भेदभाव तथा छुवाछूतले थप मनोसामाजिक समस्या निम्त्याउन सघाउँछ । यस्ता व्यक्तिले गर्ने दैनिक कामको प्रतिफल पनि सकारात्मक आउन नसक्दा अन्तत: व्यक्तित्व विकासमा बाधा पुग्छ ।

अमेरिकास्थित वेक फोरेस्ट युनिभर्सिटीको मनोविज्ञान विभागकी डा लिजा कियङ्ग र अन्यले सन् २०१८ मा तनहुँमा गरेको सर्वेक्षणअनुसार उदासीनताले ल्याउने समस्याको जटिलता देखाएको छ । सर्वेक्षण गरिएका २ सय ९५ किशोरकिशोरीमध्ये दलित, जनजाति र ब्राह्मण/क्षत्रीको संख्या क्रमश: ९८, ९८ र ९९ छ । उनीहरूमध्ये चिन्तित हुने दलित, जनजाति र ब्राह्मण/क्षत्री किशोरकिशोरीको प्रतिशत क्रमश: १२.३८, ९.५६ र ७.२१ छ । उदासीन हुनेमा दलित, जनजाति र ब्राह्मण/क्षत्री किशोरकिशोरीको प्रतिशत क्रमश: १०.४६, ११.४१ र ९.०२ छ । यी तथ्यले देखाउँछन्, दलित किशोरकिशोरीको मानसिक स्वास्थ्यमा परेको असर अन्यको तुलनामा उच्च छ । त्यस्तै, कम आत्मसम्मान महसुस गर्ने दलित, जनजाति र ब्राह्मण/क्षत्रीको प्रतिशत क्रमश: १.६५, १.६४ र १.७३ छ । यसको अर्थ ब्राह्मण/क्षत्री समुदायका किशोरकिशोरीलाई आफ्नो आत्मसम्मानमा सामाजिक अवस्थाले कम चोट पुर्‍याएको देखाउँछ भने दलित र जनजातिको उच्च देखाउँछ । अध्ययनको निष्कर्ष छ– दलित किशोरकिशोरीलाई जातीय विभेदका कारण मनोसामाजिक समस्या मात्र उत्पन्न भएको छैन, दैनिक जीवनमा भोग्नुपरेको विभेदले आत्मसम्मानमा नकारात्मक असर पारेकाले उनीहरूको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा गम्भीर असर पुर्‍याएको छ ।

यसबाट थाहा भयो, म र मजस्ताका किशोरावस्था मानव विकासको दृष्टिले निकै महत्त्वपूर्ण अवस्था हो । कुनै पनि दलित वा अन्य समुदायका किशोर फक्रिँदै गर्दा आफ्नो सामाजिक स्थितिका कारण जघन्य अपराध र अपमान सहनुपर्‍यो भने उसको भविष्य कस्तो होला ? किशोरावस्थामै म र मजस्ताले जातका आधारमा हुने हिंसा भोग्नु पर्दैनथ्यो भने यतिबेला म विद्युत्, पर्यटन विकास, फास्टट्रयाकजस्ता विषयबारे अनुसन्धान गरिरहेको हुन्थेँ होला । अहिले मजस्ता धेरैजसो युवाले हिन्दु धर्म, त्यसको वर्णव्यवस्था, जात प्रथा र पितृसत्ताले निम्त्याएको हिंसा तथा विकृतिबारे अध्ययन अनुसन्धानमा समय, श्रम र बुद्धि खर्चिरहनु परेको छ । सिंगो समाज र देशको आर्थिक विकासमा दिनुपर्ने समय धार्मिक विकृतिको अध्ययन र सामाजिक न्यायको संघर्षका लागि खर्चिनुपरेको छ । यसको अर्थ दलित समुदायको मात्रै होइन, सबै जात रहेको नेपाली समाजको विकास नहुनुमा हिन्दु वर्णव्यवस्थाले थोपरेको जातीय अपराध, त्यसले फैलाएको मनोसामाजिक समस्याको अहं भूमिकालाई कम आँक्न मिल्दैन ।

दिले र उनीजस्ता सबै गैरदलितलाई आग्रह छ– हामीले भोग्नुपरेको विभेद र अपमान खासमा जातीय हिंसा हो । यस्तो हिंसाबाट करिब ८ लाख दलित किशोरकिशोरी सिकार छन् । उनीहरूको मानसिक स्वास्थ्यमा पर्न गएको दुष्प्रभाव नरसंहारको असरभन्दा कम नहोला । अब तिमीहरू पनि जान्ने/बुझ्ने भइसकेको अवस्थामा व्यक्ति, परिवार, समाज र देशकै मानसिक स्वास्थ्य सुधारका लागि यस्ता विभेद, अपमान र हिंसा कम गर्न लाग्ने कि ?

प्रकाशित: माघ १५, २०७५

ट्याग: विचार