फट्यांग्रोको पाउरोटी

- नेपाल संवाददाता

फिनल्यान्डको फेजर बेकरीले फट्यांग्रोको पाउरोटी बेच्न थालेको छ । बेकरीले एक टुक्रा पाउरोटी बनाउन ७० वटा फट्यांग्रालाई पिस्दै आएको छ । कामदारले फट्यांग्राको सुकुटीलाई धूलोपीठो पारेर कच्चा पदार्थ तयार गर्छन् । फट्यांग्राको पाउरोटी निकै स्वादिलो हुने पनि कम्पनीले जनाएको छ ।

बेकरीले नेदरल्यान्डसबाट फट्यांग्रा मगाउँदै आएको छ । पाउरोटीमा प्रोटिन तत्त्व आवश्यक भएका कारण फट्यांग्रा प्रयोग गरिएको उसको तर्क छ । हालै मात्र फिनल्यान्डले खानाका लागि कीराको बिक्री वितरणमा रहेको प्रतिबन्ध खुलाएसागै फेजर बेकरीले नयाँ परिकारको थालनी गरेको हो ।

बेकरीका सीईओ मार्क्स हेलस्ट्रोम भन्छन्, ‘फट्यांग्रालाई हामीले पीठोका रुपमा प्रयोग गरेका हौँ । पीठो मुछेर मीठो खानेकुरा तयार पार्छौं । हाम्रो यस्तो प्रयासलाई खानेकुरामा क्रान्ति भने पनि हुन्छ । हामी पाउरोटी उत्पादनमा अगुवा हुन चाहन्छौँ ।’ बेकरीले अन्य नौला पाउरोटी र केकसमेत परीक्षण गर्दै छ ।

चर्चित अनलाइन इन्साइडरका अनुसार संसारभर २ करोड मानिसले विभिन्न कीरालाई खानेकुराका रुपमा उपभोग गर्दै आएका छन् । कीरा–फट्यांग्रामा फ्याटी एसिड, क्याल्सियम, आइरन र भिटामिन बी १२ प्रचुर मात्रा हुने विज्ञहरु बताउँछन् ।

प्रकाशित: माघ १४, २०७५