इदी अमिनको खहरे राष्ट्रवाद

- सन्तोष आचार्य

इदी अमिन सम्झिनासाथ एउटा भयानक भाव आउँछ । पाँच दशकअघि अफ्रिकी राष्ट्र युगान्डाको कमान सम्हालेका अमिन एक निर्दयी र क्रूर तानाशाहका रुपमा विश्व इतिहासमा अंकित छन् । युगान्डामा बसिरहेका ब्रिटिस पासपोर्टधारी एसियाई मूलका नागरिकलाई ९० दिनभित्र मुलुक छाड्न बाध्य बनाएका थिए अमिनले । सपनामा अल्लाहले आफूलाई यो आदेश दिएको उनको दलिल हुने गथ्र्यो ।

अमिन कतिसम्म क्रूर थिए भने उनलाई मान्छेको मासु खान असहज लाग्दैनथ्यो । आठ वर्षे शासनकालमा आप्रवासीका लागि कालो प्रेत बनेका यी अमिन युगान्डियनका लागि भने राष्ट्रवादी थिए ।

आप्रवासीका सम्पत्ति लुटेर बाँड्न थालेपछि उनी रैथानेहरुका लागि ‘राष्ट्रवादी अमिन दादा’ हुनु आफैँमा अस्वाभाविक पनि भएन । तर यो बेग्लै कुरा हो कि उनको राष्ट्रवादको जग कमजोर थियो । आर्थिक रुपले देश जर्जर हुन थालेपछि अमिनको रङ फिक्का हुन बेर लागेन । उनले ४६ वर्षअघि आफ्ना सैन्य अधिकारीहरुलाई सम्बोधन गर्ने क्रममा एसियाईहरुलाई देश निकालाको घोषणा गरेका थिए । उनको राजनीतिक शक्ति क्षय भएपछि देश निकाला गरेका विशेषगरी भारतीयहरुलाई फिर्ता ल्याउने प्रयास भयो । कति आए । कति आएनन् । तर अमिनको सनकले रसातलमा पुगेको यो मुलुकले नयाँ नेतृत्व पाएपछि कायापलट गर्‍यो । विदेशी लगानीकर्ता भित्र्याउन थालियो । आर्थिक उदारवाद लागू गरियो ।

पुस मध्यमा राजधानी कम्पालामा आयोजित गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकमा पाहुना बोलाइएका युगान्डा सरकारका प्रतिनिधिहरुमा भने कथित राष्ट्रवादी अन्धवेगको संकेत कतै देखिँदैनथ्यो । उनीहरुको एउटै भनाइ थियो, ‘हामीकहाँ लगानी गर्नुस् । हाम्रा नागरिकलाई रोजगार दिनुस् । कमाएको पैसा आफ्नो देशमा लग्नुस् ।’

युगान्डा सरकारका मन्त्रीहरुको उक्त भनाइ सुन्दा मलाई दुई तिहाइ बहुमतको नेपाल सरकारको गाँजेमाजे आर्थिक नीति स्मरण गरायो । नेपालको गतांकमा प्रकाशित आवरण कथामा लेखिएकै छ, नेपालमा विदेशी लगानीका जति कुरा गरे पनि त्यसका लागि आकर्षक वातावरण बनाउने काम हुन सकेको छैन । विदेशी लगानी त टाढाको कुरा, स्वदेशी पुँजीपतिहरु पनि सरकारको उद्योगी/व्यवसायी प्रतिकूल नीतिका कारण अलमलमा छन् । चीन र भारतजस्ता विशाल अर्थतन्त्र भएका मुलुकको काखमा रहेको नेपालले नजिकको छिमेकी होइन, टाढाको युगान्डाबाटै सिक्नुपर्ने भयो ?

अफ्रिकामा आलुजस्ता नेपाली

वैध रूपले बसेर आयआर्जन गरिरहेका नेपालीको संख्या युगान्डामा एक सय पनि छैन । यति सानो संख्यामा रहेको नेपाली समुदायले क्षेत्रीय बैठक आँट्नु आफैँमा आश्चर्यजनक थियो । अझ आश्चर्य त त्यतिबेला भइयो, जतिबेला बैठकलाई उच्च महफ्व दिएको देखियो, युगान्डा सरकारले । सरकारका मन्त्रीहरु, सरकारी लाइन एजेन्सीका प्रतिनिधिहरु, स्थानीय मिडियाले नेपाली समुदायको बैठकलाई दिएको उच्च प्राथमिकता देखेर म फुरुंग नहुने कुरै भएन । तर यसको अन्तर्य के हो ? जान्न मन लाग्यो ।

संघका अफ्रिकी संयोजक सुनील कार्कीले राज खोले । खासमा युगान्डामा नेपालीहरु आलुसरह बसेका रहेछन् । जसरी आलु अरु जुनसुकै तरकारीमा सहजै मिल्न सक्छ, त्यसरी नै यहाँका नेपालीहरु स्थानीय युगान्डियनसँग पनि घुलमिल छन् । आपत्विपद्मा एकअर्कालाई सहयोग गर्छन् । किनभने, आम युगान्डियन र नेपालीको जीवनशैली उस्तै–उस्तै छ । उनीहरुले पनि निरंकुश शासन भोगेका छन् । भ्रष्टाचार र बेथितिको चक्रमा फनफनी रिंगेका छन् । उचनीच सहेका छन् । आर्थिक असमानताको असन्तुलनले ल्याउने सामाजिक चित्रको कुरुप अनुहार देखेका छन् ।

तानाशाह इदी अमिनले युगान्डाबाट एसियाई मूलका बासिन्दालाई देश निकाला गर्नुको पछाडि एउटा तर्क दिएका थिए । उनले भनेका थिए, ‘हाम्रो देशमा रहेका एसियाईहरु स्थानीय युगान्डियन जनतासँग घुलमिल हुन चाहेको देखिएन । उनीहरु एकलकाँटे भएर बसे । हाम्रो आर्थिक शोषणमा मात्र उनीहरुको रुचि रह्यो ।’ अमिनको यो अभिव्यक्तिको संकेत युगान्डामा दुई सय वर्षको डायस्पोरा इतिहास रहेको भारतीयप्रति थियो ।

सम्भवत: यो कुरा युगान्डाको नेपाली समुदायले समयमै बुझ्यो । यसै पनि नेपाली जहाँ गए पनि, जसो गरे पनि, जे भने पनि नेपाली मन लिएर सबैसँग घुलमिल हुने सामाजिक मान्छे जो हो । एक उदाहरण हुन्, युगान्डाको पर्यटकीय थलो जिन्जामा रेस्टुराँ व्यवसाय गरिरहेका राजमणि भण्डारी । उनले रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिएका छन् । स्थानीयसँग मिलजुल गरेरै बसेका छन् । माया, पैसा दुवै कमाएका छन् । गोजीमा दाम छैन भन्नु परेको छैन । एकलकाँटे भएर बस्यो भन्ने बात पनि लगाएका छैनन्, युगान्डियनले । इदी अमिन दादाको एउटा गुनासोको सम्बोधन त गरेकै छ, सानो नेपाली डायस्पोराले ।

प्रकाशित: माघ १४, २०७५

ट्याग: नोटबुक