सस्तो गाइड : आरोहणमा जोखिम

- मनबहादुर बस्नेत

हिमाल आरोहण उद्धारक मिंग्मा ग्याबु शेर्पाले युनियन अफ एसियन अलपाइन एसोसिएसनद्वारा शेर्पा अफ दि इअरको उपाधि पाए । करिब एक दशकदेखि आरोहणमा आबद्ध शेर्पा यस्तो उपाधि पाउने पहिलो नेपाली आरोही हुन् । यसै सन्दर्भमा उनीसँगको कुराकानी :

उद्धारको अविस्मरणीय क्षण ?

सन् २०१६ मा सगरमाथा आरोहणबाट फर्किंदा ८ हजार ६ सय मिटरबाट दुईजना नफर्किएको खबर आयो । त्यसपछि हामी तीन घन्टामा पुग्यौँ । भारतीय नागरिक चेतना साहु बेहोस भएकी थिइन् भने उनका गाइड अर्धचेत । रातभरिमा उद्धार गर्‍यौँ । सन् २०१३ मा धौलागिरिको ७ हजार ९ सय मिटरमा दुईजना व्यक्ति अल्झिएको खबर आयो । त्यो उचाइमा हेलिकप्टरबाट उद्धार गरियो । यो सबैभन्दा लङ लाइङ (डोरीमा झुन्डिएर) बाट गरिने उद्धारमा विश्व कीर्तिमान हो ।

अरुलाई उद्धार गर्ने आफैँ त्यस्ता जोखिममा पनि पर्नुभएको होला ?

जोखिमको छेउछाउमाचाहिँ पुगेको छु । १० मिनेटको फरकले मात्रै पहिरोबाट बचेको स्मृति थुप्रै छन् ।

उद्धारक बन्नुको पछाडि विशेष घटना छ ?

लोत्सेको क्याम्प ४ मा एकजना ताइवानी नागरिकले उद्धार टोली मागिरहेका थिए । हेलिकप्टरले लङ लाइङबाट उद्धार गर्न खोज्यो । तर सकेन । तीन दिनपछि उसको मृत्यु भयो । यो घटनापछि मलाई हिमाल आरोहणमा उद्धारको आवश्यकता  महसुस भयो । 

टोलीमा को–को हुन्छन् ?

कम्तीमा हेलिकप्टर पाइलट, चिकित्सक र आरोहण उद्धारक । 

नेपालमा यस्ता टिम छन् ?

सरकारी नीतिमा यो कुरै छैन ।

त्यसोभए नेपालको हिमाल आरोहण असुरक्षित हो ?

सगरमाथा आरोहणबाट फर्केपछि छुट्टिने बेला विदेशी पाहुनाले मलाई ‘फेरि भेटौँला’ भने । जोखिममा काम गर्ने हाम्रोमा उद्धार संयन्त्र नभएकाले फेरि भेटौँला भन्ने नै हुँदैन भनेपछि ऊ चकित बन्यो । उसकै आर्थिक सहयोगमा हामीले सन् २०१६ मा उद्धार कार्य सगरमाथामा सञ्चालन गर्‍यौँ । अहिले निरन्तरता छैन । सुरक्षित भन्ने कि असुरक्षित ?

यसलाई आफ्नो तहबाट निरन्तरता दिने सोच छैन ?

सोच छ । तर स्रोत छैन । आफू बचेर अरुलाई बचाउने यो जनशक्ति महँगो हुन्छ । मसँग ज्ञान छ, सरकारले जिम्मा लिन्छ भने चलाउन सकिन्छ ।

सुरक्षित आरोहणबारे नेपालले केही सोचेकै छैन ?

आरोहण गाइडको विश्वासले मात्रै चलेको छ । जोखिमपूर्ण काम गरेर मुलुकको नाम विश्वभर फैलाउने गाइडको न्यूनतम तलब नै सरकारले तोक्न सकेको छैन । आरोही र व्यवसायीबीच मोलमोलाइबाट चलिरहेको छ । व्यवसायीले नाफा हेर्छ । अनुभवीभन्दा नयाँ गाइड सस्तो हुन्छ । सस्तो गाइड खोज्ने प्रणालीले आरोहणमा जोखिम बढ्छ । सरकारको सोच के छ भन्नु !

हिमाल चढ्न सघाउने शेर्पाको भन्दा चढ्नेको नाम बढी चर्चामा हुन्छ, किन ?

मैले सुनेदेखि भोगेको कुरा गर्दा अहिलेसम्म कुनैपनि विदेशीले पहिले चढेको छैन । हरेक आरोहण याममा पहिले शेर्पाले चुचुरोसम्म पुगेर बाटो बनाइदिएपछि उनीहरू चढ्ने हुन् । यो दु:खद कुरा हो ।

नेपाल र अन्यत्रका हिमाल आरोहणको फरक के हो ?

बाहिरका हिमाल कम उचाइका हुन्छन् । तर त्यहाँ अनिवार्य उद्धार प्रणाली हुन्छ । उद्धार टोली स्ट्यान्ड बाई हुन्छ । जोखिम बढी भएपनि हाम्रा अग्ला र अप्ठेरा हिमालमा त्यस्तो प्रणाली छैन ।

आरोहीहरु कीर्तिमानका लागि प्रतिस्पर्धा गरिरहेका छन् तपाईंलाई त्यस्तो धोको छैन ?

छ । हामीले मिसन इलाइट : क्रियटिङ स्टोरी नामक डकुमेन्ट्री बनाउँदै छौँ । डकुमेन्ट्री छायांकनकै क्रममा एभरेस्ट र लोत्से हिमाल ८ घन्टामा चढ्ने मेरो लक्ष्य छ । यो कीर्तिमान निर्मल पूर्जाको नाममा छ, जसले १० घन्टा १५ मिनेटमा चढेका छन् । सन् २०२० को योजना हो, यो ।

प्रकाशित: माघ ११, २०७५

ट्याग: अचानक