स्वाभिमानको ‘बासी’ लडाइँ

फिल्म : मणिकर्णिका: झाँसीकी रानी | रेटिङ : २/५

- गोकर्ण गौतम

‘भारतका हरेक राज्यमा अंग्रेजले आफ्नो शासन विस्तार गर्न खोज्छन् । नागरिकलाई दासको व्यवहार गर्छन् । तर सबै राज्यका राजा र सेनापति अंग्रेजको गुलाम बन्न राजी हुँदैनन् । बरु ज्यानको बाजी राखेर स्वतन्त्रताका लागि लड्छन् । सैन्यशक्ति अंग्रेज समान हुँदैन तैपनि अंग्रेजलाई नभगाएसम्म लडिरहन्छन् ।’ गत दीपावलीमा प्रदर्शित ठग्स अफ हिन्दोस्तानको कथा हो यो । करिव यस्तै छ, भारतको गणतन्त्र दिवसको छेकोमा रिलिज भएको नयाँ फिल्म मणिकर्णिका : झाँसीकी रानी  पनि । फरक यत्ति मात्र हो, उक्त फिल्ममा अमिताभ वच्चनले स्वाभिमानको लडाइँको नेतृत्व गर्छन्, मणिकर्णिकामा कंगना रणावत । यसमा कंगनालाई झाँसीकी रानी लक्ष्मीबाईका रुपमा देख्न पाइन्छ । यसको निर्देशन कंगना र राधाकृष्ण मिलेर गरेका हुन् । तर मणिकर्णिकाको मेरुदण्ड अर्थात्पटकथामा पुराना ‘प्लट’ र चरित्रको बाहुल्य छ । भारतमा बन्ने ‘पिरियड’ फिल्मको स्थापित सूत्रलाई हुबहु पछ्याइएको छ । त्यसैले मणिकर्णिकाले अपेक्षाअनुरुप मन जित्दैन ।

कालपी राज्यकी मणिकर्णिका (कंगना)को बिहे झाँसीका राजासँग हुन्छ । मणिकर्णिका युद्धकलाले निपुण र निर्भीक छिन् । सेवालाई परमधर्म मान्छिन् । न अन्याय गर्छिन्, न त सहन्छिन् । उनी रानी बनेसँगै अंग्रेज शासकले झाँसीमाथि आँखा लगाउँछन् । दमन बढ्दै जान्छ । त्यसपछि मणिकर्णिकासेना र प्रजाका साथमा अंग्रेजविरुद्ध युद्धका लागि तयार हुन्छिन् । उनले राज्य र प्रजालाई आत्मस्वाभिमान दिलाउन गरेको कठोर संघर्ष र त्यागमै केन्द्रित छ फिल्म । हार र जितभन्दा दमनविरुद्ध विद्रोह गर्नु नै ठूलो हो भन्ने सन्देश दिइएको छ ।

सन् १८६० को दशकमा भारतका विभिन्न राज्यमा अंग्रेजविरुद्ध स्वतन्त्रता संग्राम भएको थियो । त्यही समयकी एक वीरयोद्धा थिइन्, मणिकर्णिका अर्थात् लक्ष्मीबाई । अंग्रेज सेनाका अधिकारीले समेत लक्ष्मीबाईको बहादुरीको खुलेर प्रशंसा गरेका छन् । बजारु मसलेदार फिल्मको धङधङीभन्दा माथि उठेर यति साहसिक महिला योद्धालाई पर्दामा उतार्नु आफैँमा प्रशंसनीय छ । यसले भारतीय स्वतन्त्रता लडाइँमा महिलाको योगदानलाई उजागर गरेको छ । पात्र पुरुष भए पनि यस्तै परिवेशमाथि बलिउडमा धेरै फिल्म बनेका छन् । मणिकर्णिका ती फिल्मभन्दा माथि उठ्न नसक्नुचाहिँ दुर्भाग्यपूर्ण छ । जन्मनासाथ ज्योतिषीले साहसिक भएको भविष्यवाणी गर्ने, हुर्कंदै गएपछि तरबार चलाउन सिक्ने, अंग्रेजविरुद्ध सैन्यदस्ता तयार पार्ने, प्रगतिशील विचार राख्ने पात्रहरु ‘बासी’ भइसके । त्यस्तै, निश्चित स्वार्थका लागि अंग्रेजलाई साथ दिने गद्दार पात्र र अहंकारी अंग्रेज सैनिक अधिकारी पनि नयाँ होइनन् । मणिकर्णिका  पूरापूर यही घेरामा रुमल्लिएको छ । यसको अपसज जान्छ, पटकथाकार विजेन्द्रप्रसादलाई ।

मणिकर्णिकाको चरित्र स्थापित गर्दागर्दै मध्यान्तर हुन्छ । त्यसपछि कथामा अंग्रेज शासकको प्रवेश तीव्र हुन्छ । रानी युद्धको रणनीति बनाउँछिन् । यसबीच नागरिकसँग उनले बढाएको सम्बन्ध र महिलाभित्र गुम्सिएको आवेगलाई सतहमा ल्याउन गरेको कसरतचाहिँ वर्तमान समयका लागि पनि प्रेरणादायी छ । अंग्रेजहरुको ‘फुटाऊ र राज गर’ रणनीति र अनेक जालझेल रोचक लाग्छन् । तर समस्या उही,मणिकर्णिकालाई चाहेर पनि स्वतन्त्र आँखाले हेर्न सकिँदैन । ठग्स अफ हिन्दोस्तानमात्र होइन, लगान, बाहुवली, पद्यावतजस्ता फिल्मको झझल्को आउँछ, घरी–घरी । यी फिल्मझैँ मणिकर्णिकाका दृश्य भव्य छैनन् । निर्माण पक्षबाट कन्जुस्याइँगरिएको भान हुन्छ । पाश्र्वध्वनि र प्रकाश संयोजन भने तारिफयोग्य छन् । गीतलाई कथावाचनकै माध्यमका रुपमा प्रयोग गरिएको छ । फिल्ममा समाविष्ट दुई ठूला युद्ध उतिविघ्न कलात्मक लाग्दैन ।

सुरुमा मणिकर्णिकामा अभिनेत्रीका रुपमा मात्र अनुबन्ध भएकी थिइन्, कंगना । पछि पटकथाकार विजेन्द्रप्रसाद र निर्देशक राधाकृष्णसँग सिर्जनात्मक मतभेद चुलिँदै गयो । कथा र निर्देशनमा कंगनाको महत्त्वपूर्ण योगदान रह्यो । अन्त्यमा, उनलाई निर्देशनको जस दिन फिल्म युनिट बाध्य भयो । कंगनाको यही दबदबाका कारण हुनुपर्छ, फिल्ममा उनीबाहेक अन्य चरित्र ‘नोटिस’ हुँदैनन् । कंगनाको अभिनयचाहिँ जीवन्त लाग्छ । उनले आफूलाई छोरी, बुहारी, आमा, रानी र योद्धाका रुपमा प्रभावशाली ढंगले उभ्याएकी छन् । आफूलाई ‘हिरो’कै रुपमा चिनाउँदै आएकी कंगनाका लागि यो चरित्र कोसेढुंगा हुनसक्छ । सुरेश ओबराय, अतुल कुलकर्णी, जिस्सु सेनगुप्तालगायत कलाकारले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन् । राधाकृष्णले यसअघि निर्देशन गरेको हिन्दी फिल्म गब्बर इज ब्याकभन्दा मणिकर्णिका उत्तम छ तर अहिल्यै उनलाई धाप मार्न सकिँदैन ।

अंग्रेज शासनका दमनका अनेक किस्सा सुनेका भारतीय दर्शकलाई मणिकर्णिका  प्रिय लाग्न सक्छ । कंगना रनावतका फ्यानले पनि नछुटाउँदा हुन्छ । तर घटनाक्रम नवीन र पटकथा कसिलो नहुँदा यो फिल्म झाँसीकी रानी लक्ष्मीबाईझैँ सशक्त छैन । पिरियड फिल्मका पारखी थप निराश हुन्छन् ।

प्रकाशित: माघ ११, २०७५