विश्वामित्रजस्ता मोराश

- गुरुङ सुशान्त

‘मोहनराज सर बित्नुभएछ ।’

भेट्नेबित्तिकै प्रा दयाराम श्रेष्ठको मुखबाट हतारैहतारमा झरेको पहिलो उदास वाक्य हो यो । बिहीवार मध्याह्न १२ बजे धोबीघाटको कुनै थेरापी कक्षमा छौँ हामी । अरु नै कुरामा गफिने सुर थियो मेरो । तर हामीबीच बेसुरा शब्दहरु अल्छी मान्दै झर्छन् र हावामा बिलाउँछन् कि तैरिन्छन् । कुनै बेला मोहनराज शर्मासँगै सहलेखनमा जुटेका श्रेष्ठलाई सोध्छु– ‘सरहरुको सम्पर्क थिएन अचेल ?’ प्रतिउत्तरमा नकारभाव पाउँछु । केही मिनेटको बसाइपछि म चक्रपथ निस्कन्छु । मेरा मथिंगलमा अमूर्त भावको चक्रपथ गुड्न थाल्छन् । उहिल्यै मलाई अत्यधिक प्रभाव पारेको कथासंग्रह बैखरीका पंक्ति सम्झन्छु– ‘कीरासरी सलबलाएर सडकमा गुडिरहेका पातला, मोटा, साना, ठूला र नानाथरीका असंख्य पांग्रामध्ये दुई पांग्राले हामीलाई पनि गुडाउँदै छन् ।’ एक्लै गुडे पनि यतिखेर ‘हामी’ को भावमा छु । आँखाअघिल्तिर पानले लाललाल भएका शर्माका ओठ सुस्तरी चल्मलाइरहेछ । दोहोरो ज्यानदार शालीन व्यक्तिको झल्कोसँगै फेरि सम्झन्छु,बैखरी । कस्तो मोहक प्रयोग ! सुरुका आधा दर्जन कथाको पहिलो वाक्य छ– ‘अहिले हो कि उहिले हो...।’ त्यो प्रयोग कतै काव्यिक लाग्ने, कतै नाटकीय । मोहनराजलाई पहिलो पटक सायद व्याकरणका पाठ्यपुस्तकतिर पढेँ ।

मोहनराज मेरा गुरु होइनन् किनकि म उनको औपचारिक चेला कहिल्यै भइनँ । उनले मलाई कक्षाकोठामा उभ्याएर साहित्य–सिद्धान्तबारे प्रश्नवाण हानेनन् । शोधविधिहरुको सनासोले च्यापेनन् । तर मोहनराज मेरा गुरु हुन् किनकि मेरा धेरै गुरुका पनि गुरु हुन् उनी । त्योभन्दा महत्त्वपूर्ण कुरा– विश्वविद्यालयीय परीक्षाका मेरा प्राय: उत्तरपुस्तिकामा मोहनराजका अनुच्छेद घुसिइहाल्थे । यसैले मेरा गुरु हुन् उनी । फर्किहेर्दा उनका धेरैजसो पुस्तक पढेछु । ती किताब यस्तो समयमा पढेछु– जतिबेला त्रिविको नेपाली पाठ्यक्रम र मोहनराज शर्मालिखित पुस्तक नारिएका थिए । कक्षाकोठामा पल्टाएका कति पाना विस्मृतिको गर्तमा पुरिइसके, कति पुस्तकको ओजले मोहनराजको बाडुली लगाइरहन्छ ।

उनीसँग पढ्न नपाएको थकथकी साथीहरुसँग पोखिरहन्थेँ म । वासुदेव त्रिपाठी, मोहनराज शर्मा, दयाराम श्रेष्ठजस्ता प्राध्यापकहरुको शिक्षण शैलीबारे साथीहरु किंवदन्ती शैलीमा किस्सा सुनाउँथे । बोल्ने र पढाउने गति ढिला भएकाले ‘प्रोफेसर शर्माको डायरी’ उतार्न पल्केका ‘चेला’ माझ मोहनराज प्रिय हुने नै भए । शर्माका चेला र मेरा गुरु दुर्गाबहादुर घर्तीका नजरमा– ‘मोराश विश्वामित्र ऋषिजस्ता थिए, निकै रिसाउने, कडा प्रतिवाद गर्ने तर माया पनि गर्ने । ठट्टा, सहयोग र पानपराग त उनको खल्तीमै हुन्थे हरदम ।’

उत्तरआधुनिकता अध्ययन गरिराखेको हिउँदको कुनै दिन उनै घर्ती सरको पछि लागेर शर्माको रुद्रतारा निवास छिरेको थिएँ म । सैद्धान्तिक स्पष्टताका लागि होला, उनले केही प्रश्न तेस्र्याए । तानतुन पारेर केही मिनेट भट्याउने आँट त मसँग थियो तर कसोकसो दकस मानेँ । मलाई सजिलो बनाउँदै भने– ‘उत्तरआधुनिकता सिद्धान्त हो, बहुलवादी । प्रवृत्ति हो, मुक्तिको । धारणा हो, अनिश्चय/अनिर्धारणको ।’ शास्त्रार्थका बोझिल मन्तव्यविपरीत ‘सूत्रमा सटिक’ उनको यो शैलीले कायल भएँ म ।

प्रविधि–जन्जालयुक्त यो समयमा मोहनराजहरु जन्मिन मुस्किल देखिन्छ । किनकि भाषाविज्ञान, लोकसाहित्य, शोधविधि, आख्यानलगायतका तीन दर्जन पुस्तकका सर्जक मोहनराज दीर्घ साधनाका निर्मिति हुन् । साहित्यका कतिपय जिज्ञासुले त उनलाई चिन्दैनन् पनि । मदन पुरस्कार पाउनु नेपाली साहित्यिकका लागि ‘सेलिब्रिटी’ बन्नु हो । यस मानेमा उनी चालीसकै दशकका ‘सेलिब्रिटी’ हुन् । सम्झौताबिना निडर समालोचना लेख्नु धेरै लेखकका नजरमा आँखी हुनु हो । यस अर्थमा उनी सर्वप्रशंसाको राजधानीबाहिरै थिए ।

अनेक पाटामा पसिना पोखे पनि तीन विधामा उनले आफ्नो सग्लो अनुहार बनाए– नाटक, कथा, समालोचना । कथामा उनलाई ‘स्वैरकल्पनाका मास्टर/वस्ताज’ नै मानिन्थ्यो । राजनीतिक बेथितिमाथि तीक्ष्ण प्रहार गर्न कुशल शर्माका विचारमा– ‘स्वैरकल्पना घोषित एवं अघोषित सेन्सरविरुद्ध लेखकका हातमा बलियो अस्त्र पनि हो किनभने स्वैरकल्पनालाई सेन्सरको कैँचीले काट्न र टुक्र्याउन भ्याउँदैन ।’ प्रवीण नाट्यशिल्पीको पहिचान बनाएका शर्मा एक हातका औँलामा गन्न सकिने बौद्धिक नाटककार मानिन्छन् । एकरसका परम्परित लेखनविरुद्ध उनले तीसको दशकदेखि नै प्रयोगपरक लेखनबाट पाठक–लेखक जगतमा वैकल्पिकता र कल्पनाको नयाँ–नयाँ आकाश उघारिदिए । व्यंग्य र रम्यरचनामा आफूलाई अभ्यास गराउँदै साहित्यमा स्थापित भएका शर्माका समालोचनाभन्दा सिर्जना धेरैले मन पराइदिए । समालोचनामा वस्तुवादीदेखि अन्तर्विषयक हुँदै बहुलवादसम्म फैलिएका शर्मा कुनै राजनीतिक नियुक्तिको म्याराथनमा सामेल भएनन् । लेखनमा निहित विश्वदृष्टिभन्दा दलसम्बद्ध झोला–झन्डाको रंगबाट लेखकको वर्गीकरण गर्ने राग छ हामीसँग । मौसमी रंगले नै छुट्याइन्छ– प्रगतिवादी, प्रजातान्त्रिक र दक्षिणपन्थी । उनलाई कतिले प्रगतिवादी देख्थे, कतिले लोकतान्त्रिक ।

संस्कृत, हिन्दी, अंग्रेजी र नेपाली भाषामा उत्तिकै दखल राख्ने शर्मासँग संघर्ष र व्यथाको नदी थियो । जवान छोराहरुलाई एकपछि अर्को गर्दै गुमाउनु परे पनि उनले विरहमा भावुक भएर जीवन दर्शन फलाकेको अनुभव निकट मित्रहरुसँग पनि छैन । सायद उनको क्याथर्सिस लेखन नै थियो । सुनिन्थ्यो– पोसाकमा सोखिन शर्मा कुनै बेला ध्रुवचन्द्र गौतमसँग सन्ध्याकालीन मादक माहोलमा जम्न रुचाउँथे । त्यसपछि एकअर्कालाई घरमा पुर्‍याउने रमाइलो खेल पनि चलिरहन्थ्यो । बल्लभमणि दाहालसँग तासमा पनि उत्तिकै रमाउँथे । उतिबेलाकै कुरा हुन् यी । पछिल्लो समय उमेर र स्वास्थ्यका कारण बाहिरतिर त्यति देखिएनन् शर्मा ।

उनले उपन्यासको आँगनमा आफूलाई हिँडाउन खोजे, केही चर्चा पनि हात पारे तर सलिजो पढ्दा उनको उपन्यासकारितालाई वादहरुको धङधङीले भेटेजस्तो लाग्छ । समलिंगी महिलाका कथा पक्रेर उपन्यास रचिनु चुनौतीपूर्ण काम भए पनि उनले फ्रायडवादी उपकरणलाई त्याग्नै सकेनन् ।

पछिल्लो समय उनको ध्यान साइबर समालोचना सिद्धान्तको स्थापना र व्याख्यामा देखिन्थ्यो । हुन त, ५० को दशकमै समकालीन समालोचना: सिद्धान्त प्रयोगमा उनले आधुनिक आलोचनाका अनेक अवयवको वस्तुवादी प्रयोग गरिसकेका थिए। प्रभाववादको बाढीबाट नेपाली समालोचनालाई बाहिर निकाल्ने हेतु उनले शैली–विज्ञानमा जोड दिए । समालोचनाका फरक–फरक मोर्चाका लेखकहरु परस्पर आरोप–प्रत्यारोपमा उत्रिन्छन् । पादटिप्पणी र सन्दर्भग्रन्थ लुकाइएका समालोचनालाई प्राध्यापकहरु ‘पत्रकारी/अखबारी’ भन्छन् भने शास्त्रीय शिक्षा र पाण्डित्यपूर्ण प्रवचन दिने लोभ पालेका समालोचनालाई पत्रिकामा छापिनेहरुले ‘प्राध्यापकीय’ मानेर पन्छाइदिन्छन् । मोहनराज भन्थे– ‘आत्मगत समालोचना गर्दा कृतिको मूल्यांकनभन्दा बढी आफ्नै ज्ञानको प्रदर्शन हुन्छ ।’ मोहनराजको सममूल्यांकन शैलीलाई धेरैले प्राविधिक र गणितीयको बिल्ला भिराउँथे । उनी भन्थे– ‘लेखकहरु समालोचनाप्रति सहनशील र सकारात्मक हुनुपर्छ तर आलोचना पनि निराधार हुनु हुँदैन । गाली वा प्रशंसा गर्ने गरिएको समालोचनाको क्षणिक मूल्य भए पनि खास महत्त्व हुँदैन ।’

 शैली–विज्ञानले नेपाली समालोचनालाई अतिशय उडन्ते भावुकताबाट बचाएको छ भने त्यसको मनग्गे जस मोहनराज शर्मालाई दिनुपर्छ । समाजका जटिलतम विषयमा आलोचनात्मक विमर्श गर्न छाडेर वस्तुवादी हुने बाहनामा अक्षर–पंक्ति गणकको कोटरीमा समालोचनालाई कसैले खुम्च्याएको छ भने त्यसको अलिकति अपजस उनै मोहनराजले लिनुपर्छ ।

केही समयअघि जन्मदिनको केकसहितको फोटो फेसबुकमा देखेपछि शर्मासँग पुस्तक वार्ता गर्ने मोह जाग्यो । ८१ वर्षीय यी अवकाशप्राप्त प्राध्यापकको मोबाइल नम्बर फेला पारेँ । तर नम्बर डायल गर्न भ्याइनँ । हामी आ–आफ्नै हतारोमा रहेछौँ ।

प्रकाशित: माघ ११, २०७५

ट्याग: सम्झना