बोलीका पक्का केआई सिंह

- यज्ञप्रसाद आचार्य

 विसं ००७ मा राणातन्त्र हटेपछि ८ वर्षसम्म नेपाली कांग्रेसको मागअनुसार संविधानसभा कि संसदीय चुनाव गराउने भन्नेमै नेपालको राजनीति घुमिरह्यो । पिता त्रिभुवनको ०११ मा मृत्यु भएपछि राजपाठ सम्हालेका राजा महेन्द्रले चुनाव गराउने मूल ध्येयमा प्रधानमन्त्री बनाए टंकप्रसाद आचार्यलाई ।  टंकप्रसादले पनि चुनाव गराउन नसकेपछि राजा महेन्द्रले संयुक्त प्रजातन्त्र पार्टीका अध्यक्ष डा केआई सिंहलाई प्रधानमन्त्री नियुक्त गरे, ०१४ मा ।

उबेला प्रधानमन्त्री निवास बालुवाटार बनिसकेको थिएन । प्रधानमन्त्री डा सिंह चाक्सीबारीस्थित राणा महल (पछि गणेशमानसिंह निवास) मा बस्थे । डा सिंहलाई प्रधानमन्त्री भएको शुभकामना दिन म, साथी मृगेन्द्र नेपाल र नन्दप्रसाद पौड्याल (झापा) चाक्सीबारी निवास पुग्यौँ ।

बिहानको समय । जाडोको मौसम । तीनै जनाले शुभकामना टक्र्याउँदै गर्दा सिंह हातमा एक लिटरको मगमा चिया पिउँदै थिए । प्रधानमन्त्रीसँग आफ्नै पार्टीका महासचिव काशीप्रसाद श्रीवास्तव कुराकानी गरिरहेका थिए । श्रीवास्तवले मलाई चिनेजस्तो गरी एकटक हेरिरहे । मलाई एकटक हेरिरहेको देखेर प्रधानमन्त्री सिंहले श्रीवास्तवलाई सोधे, “किन यज्ञजीलाई एकटक हेरेको ?”

श्रीवास्तवले भने, “उहाँसँग एकपटक धरानमा नेपाल प्रजा परिषद्को आमसभामा जम्काभेट भएजस्तो लाग्छ ।” बीचमै मैले रोकेँ, “ठीक भन्नुभयो श्रीवास्तवजी ।” त्यतिबेला श्रीवास्तव टंकप्रसाद आचार्यको पार्टी नेपाल प्रजा परिषद्को सचिव थिए । पछि छाडेर डा सिंहको पार्टीमा प्रवेश गरेका थिए । मैले श्रीवास्तवलाई भनेँ, “त्यसबेला तपाईंको पार्टी नेपाल प्रजा परिषद्, डिल्लीरमण रेग्मीको नेपाल राष्ट्रिय कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त मोर्चा बनेको थियो, संसदीय चुनाव जतिसक्दो छिटो गराउने उद्देश्यले ।”

त्यो संयुक्त मोर्चामा टंकप्रसादसँग राजनीतिक मतभेद भएपछि मोर्चाबाट नेपाल कम्युनिस्ट पार्टी बाहिरिएको थियो । त्यतिबेला मनमोहन अधिकारी पार्टी महासचिव थिए । “कम्युनिस्ट पार्टी मोर्चाबाट बाहिरिएका कारण धरानको आमसभामा हाम्राबारे तथानाम बोलेपछि मैले नै तपाईंको हातबाट माइक खोसेको होइन ? म त्यही मान्छे हुँ, यज्ञप्रसाद आचार्य ।” श्रीवास्तवलाई चिनजानबारे अझ नजिक ल्याउने कोसिस गरेँ । उनी ट्वाल्ल परे मेरो कुरा सुनेर । म उबेला कम्युनिस्ट पार्टीको धरान (विजयपुर) जिल्ला सदस्य (प्रगन्ना) थिएँ ।

“ए मैले सम्झिएँ । ठीक हो तपाईंले भन्नुभएको,” श्रीवास्तवले भने । पार्टी महासचिवको कुरा सुनेपछि प्रधानमन्त्री डा सिंहले मेरो पिठ्युँमा धाप मारेर भने, “स्याबास् यज्ञजी, मैले तपाईंजस्तो युवक खोजेको हुँ । तपाईंलाई के इच्छा छ, ल भन्नुस् ।”  आफू कम्युनिस्ट पार्टीमा काम गरिरहेकाले सँगै आएका दुई साथीलाई जागिर दिनुपर्‍यो भनी निवेदन गरेँ ।

डा सिंहले मसँगै गएका दुई साथीले कति पढेका छन् भनेर सोधे । मृगेन्द्रले स्नातक र पौड्यालले एसएलसी उत्तीर्ण गरेका थिए । प्रधानमन्त्रीले दुवैलाई आफ्नो योग्यता खोलेर सोहीअनुसार सेवा गर्ने मौका पाऊँ भन्ने किसिमको निवेदन निजी सचिवालय सिंहदरबारमा दर्ता गराउनू भने । त्यसपछि प्रधानमन्त्री कार्यालय समय सिंहदरबार जाने तयारी भयो । हामी बिदाबारी भएर फर्कियौँ ।

म काठमाडौँमै बस्थेँ, दुई जना मोरङ गए । प्रधानमन्त्री डा सिंहसँग सिफारिस गरेका दुईमध्ये एक जना पौड्यालले लेसी (अहिले स्रेस्तेदार) मा नियुक्ति पाए । घरमै हुलाकमार्फत नियुक्तिपत्र पुगेछ ०१३ चैतमा । अर्का मृगेन्द्रको भने विराटनगरको आफ्नै घरमा मृत्यु भएछ । यसरी प्रधानमन्त्री भएको शुभकामना दिन जाँदा चढाएको बिन्तीपत्रले काम गर्‍यो । बोली र वचनका पक्का लागे डा केआई सिंह ।

डा सिंह जम्मा १ सय १० दिन प्रधानमन्त्री भए । उनीपछि चुनावी मन्त्रिपरिषद् अध्यक्षमा सुवर्णशमशेर नियुक्त भए । त्यसपछि लामो समयसम्म डा सिंहसँग मेरो भेट हुन सकेन । १५ वर्षपछि ०२९ मा जावलाखेलस्थित महेन्द्र युवालय प्रांगणमा राजा महेन्द्रको सालिक निर्माण शिलान्यास कार्यक्रम राखेँ । त्यतिबेला म नेपाल युवक संगठनको केन्द्रीय सभापति थिएँ । सोही कार्यक्रममा भूतपूर्व प्रधानमन्त्रीमध्ये डा सिंहलाई पनि निमन्त्रणा गरेको थिएँ । त्यहाँ नै मेरो उनीसँग दोस्रो भेट भएको हो ।

प्रस्तुति : गोकुल अर्याल 

प्रकाशित: माघ ११, २०७५

ट्याग: स्मरण