जलवायु परिवर्तनले गर्दा

- लक्ष्मण गाम्नागे

वैज्ञानिकहरूले भनेका मात्र होइनन्, हामीले प्रत्यक्ष अनुभव पनि गरेका छौँ, जलवायु परिवर्तनले गर्दा हिमालमा हिउँ घट्दै छ । वनस्पति र जनावरहरुको स्वभाव र गतिविधिमा परिवर्तन हुँदै आएको छ । विचारणीय कुरा के छ भने जलवायु परिवर्तनको असर जनावरमा मात्र होइन, मान्छेमा पनि परेको छ । जलवायु परिवर्तनले मान्छेभित्रको शीतलता पगालेर तातोपन बढाएको छ । मनभित्रको हरियाली मासेर रुखोपन भर्दै लगेको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा हिमतालको संख्या बढाएजस्तै मान्छेको हृदयक्षेत्रमा लोभ र पापका पोखरीहरु जमाउँदै लगेको छ । खासगरी ठूलाबडाहरुमा यसको प्रभाव कडा देखापरेको छ ।

जलवायु परिवर्तनले हिमालबाट हिउँ हराएजस्तै नेताहरुबाट नैतिकता, इमानदारी, निष्ठा, डर आदि हराउँदै गएको कुरा विज्ञहरुले बताएका छन् । नेताहरुको मस्तिष्कको तापक्रम अत्यधिक बढ्दै गएकाले उनीहरुमा रिस, आक्रोश, असहिष्णुता बढेको हो । मानमर्यादा नै बिर्सेर उनीहरु एकआपसमा आरोप–प्रत्यारोपमा मात्र होइन, कुटाकुटमै अग्रसर हुने क्रियाकलापमा पनि ग्लोबल वार्मिङको प्रभाव प्रस्टै देखिएको छ ।

शक्तिशालीहरुमा धनसम्पत्तिप्रतिको अतिमोह जागृत हुनुमा जलवायु परिवर्तनकै दोष रहेछ । यसले बद्नामीसँग पटक्कै डर नलाग्ने बनाउँदो रहेछ । त्यसमा पनि नेताहरु सत्तामा पुगेपछि जलवायु परिवर्तनको सीधा प्रभाव तुरुन्तै देखिन थाल्दो रहेछ । एकाएक उनीहरु लोभी, सोखिन र भ्रष्ट हुँदा रहेछन् । समाजवादीहरु नै सामन्त भएर प्रकट हुँदा रहेछन् । सर्वहाराको आहारा देखेर अगस्ती नै मुच्र्छा पर्दोरहेछ । उनीहरु कति खाँदा अघाइन्छ भनेर थाहा पाउन छाड्दा रहेछन् । जलवायु परिवर्तनको महामारीले जकडेरै हुनुपर्छ, हिजोसम्म इमानदार र नैतिकवान भनेर चिनिएका नेताहरु आज धमाधम भ्रष्टाचारमा फसिरहेका छन्, बदनाम भइरहेका छन् । दुनियाँले भरोसा गरेका युवा नेताहरु नै शंकाको घेरामा पर्दै गएका छन् ।

सरकार, आयोग, छानबिन, अनुसन्धान, बैठक, प्रयोगशाला, आदेश, इजलास आदि हरेक क्षेत्रबाट उल्टा परिणाम निस्कनुमा पनि जलवायुको प्रभाव नै मुख्य कारक मानिएको छ । उदाहरणका लागि, वाइडबडी विमान प्रकरणको लहरो तान्दै जाँदा पहरो खस्ला कि भनेको जलवायु परिवर्तनको प्रभावले लहरो नै छिनेर पहरामै हराउने अवस्था आयो । 

सामाजिक गतिविधिमा पनि जलवायु परिवर्तनको प्रभाव गहिरोसँग परिरहेको विज्ञहरु बताउँछन् । जलवायु परिवर्तनकै कारणले मुलुकमा बलात्कार र हत्याका घटना बढेका हुन् भनेर जलवायुविज्ञ मन्त्री र सांसदहरुले भन्न थालेका छन् । ग्लोबल वार्मिङको यस महामारीबाट बच्न छोरीहरुले छोटा लुगा नलगाउनू भनेर उनीहरुले सल्लाह पनि दिएका छन् । पतिपत्नीमा सम्बन्धविच्छेद गर्ने, सम्बन्धविच्छेदका घटनालाई प्रचारप्रसार गर्ने, हर्षोल्लासका साथ सम्बन्धविच्छेदको वार्षिकोत्सव मनाउनेजस्ता नौला घटना बढ्दै जानु पनि जलवायु परिवर्तनकै प्रभावले रहेछ । खासगरी पश्चिमी वायुका प्रभावले यस्तो भइरहेको बताइन्छ ।

सरकारका तर्फबाट पन्ध्र पटक सहमति उल्लंघन हुनु, सोह्रौँ अनशन बसेर माघको कठ्याङ्ग्रिँदो चिसोलाई बेस्सरी तताइरहेका डा केसीका माग स्वास्थ्य क्षेत्रबाट राजनीतिक क्षेत्रतिर संक्रमित हुनु र बेलाबेला उनीबाट अनायास अलिक असुहाउँदा अभिव्यक्ति प्रकट हुनुमा पनि जलवायु परिवर्तनकै दोष देख्छन् प्रत्यक्षदर्शीहरु ।

अत: जलवायु परिवर्तनका दुष्प्रभावले भएका यस्ता अनेकौँ घटनाको पक्ष–विपक्षमा विभाजित भएर पाखुरा सुर्कासुर्की गर्नु वा समाजका गन्यमान्यहरुलाई दोष लगाउँदै दाह्रा किटेर बंगारा दुखाउनुभन्दा जलवायु परिवर्तनले उत्पन्न गरेका परिस्थितिसँग अनुकूलन हुने प्रयास गर्दा पो बाँच्न सजिलो होला कि !

प्रकाशित: माघ ११, २०७५

ट्याग: झटारो