बेनी सेरोफेरो

- आरके अदीप्त गिरी

वरिपरि अग्लाअग्ला पहाडी थुम्का । लमतन्न उत्तर–पश्चिम फैलिएको बजार । म्याग्दी सदरमुकाम बेनी पृथ्वीनारायण शाहले राज्य विस्तार गर्नुपूर्व पर्वत राज्यअन्तर्गत थियो । तिब्बत–भोटदेखि भारतसम्मको मुख्य व्यापारिक केन्द्र पनि थियो, बेनी ।

बेनी म्याग्दी खोला र कालीगण्डकी दोभानको किनार हो । यहाँको प्राकृतिक सौन्दर्य र अन्य विविधताले गर्दा नै बेनी सेरोफेरो पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ । यसै कारणले नै जातीय सद्भाव, सांस्कृतिक विविधता, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका दृष्टिले बेनी सेरोफेरोलाई अनुपम मानिन्छ । मुस्ताङ जिल्लाको ‘गेट–वे’ का रुपमा पनि परिचित बेनीबजार वरपरका गाउँहरुबाट अन्नपूर्ण हिमशृंखलाअन्तर्गतका २०–२२ हिमाल अद्भुत शोभासहित चम्किरहेको देख्न सकिन्छ ।

प्राकृतिक, भौगोलिक र जैविक विशेषता नै म्याग्दी, बेनीको पर्यटनका प्रमुख आधार हुन् । साहसिक पर्यटन तथा पर्वतारोहणमा चासो राख्नेका लागि म्याग्दीका विभिन्न ठाउँमा भीरमह निकाल्ने अभ्यास परापूर्वकालदेखि नै गरिँदै आएको छ । हिमाल आरोहण इच्छुकका लागि धौलागिरि प्रथमदेखि छैटौँसम्म, अन्नपूर्ण, नीलगिरि, चुरेन, मानापाथी, गुर्जालगायतका दुई दर्जनभन्दा बढी हिमचुचुरा यसै जिल्लामा पर्छन् ।

त्यस्तै, यहाँ बसोबास गर्ने आदिवासी तथा अल्पसंख्यक जातजातिको परम्परागत जीवनशैली, बसोबास, जात्रा, मेलापर्व र मौलिक संस्कृतिले समग्र जिल्लाको परिचयलाई फरक योगदान गरेका छन् । सूचना प्रविधिको उपयोगबाट चर्चा कमाउन सफल म्यागासेसे पुरस्कार विजेता महावीर पुनको गाउा राम्चे, नागी पनि बेनीबजारदेखि नजिकै पर्छ ।

लाहुरेहरुको जिल्ला भनेर चिनिने म्याग्दी अहिले पर्यटन, कृषि, जलस्रोत, वनसम्पदा, सांस्कृतिक तथा जैविक विविधताउन्मुख हुन थालेको छ । म्याग्दीमा अवस्थित गलेश्वर मन्दिर, पौलत्सय धाम, महारानीथान, गुर्जा बराह, राखुकोट, ताकमकोट आदिले यहाँको सांस्कृतिक तथा धार्मिक आस्थालाई उँचो बनाएका छन् । रुप्से छहरा, सिङ्गा तातोपानी कुण्ड, नारच्याङ छहरा, धौलागिरि आधारशिविर, अन्धगल्छी, घोरेपानी, पुनहिल, खोप्रालेक, मोहोरे डाँडाजस्ता प्रकृतिप्रदत्त मनोरम स्थलले जिल्लालाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन अपूर्व योगदान गरिरहेका छन् ।

ढोरपाटन सिकार आरक्षको केही क्षेत्र यस जिल्लामा पर्ने हुँदा सिकार गन्तव्यका लागि पनि म्याग्दी उपयुक्त मानिन्छ । जिल्लाको उत्तरी क्षेत्र मुदी, कुइनेमंगले, चिमखोला, नारच्याङ आदि स्थानमा जैविक विविधताको अध्ययन र अनुसन्धान गर्न सकिन्छ भने घोरेपानी वन क्षेत्र लालीगुराँस पाइने नेपालकै दोस्रो ठूलो जंगलका रुपमा प्रसिद्ध छ ।

विभिन्न कृषि, पर्यटन, खनिज जडिबुटी, जलस्रोतजस्ता अथाह सम्भावनायुक्त जैविक तथा पर्यावरणीय सम्पदाले जिल्लाको गौरवलाई अझ आकर्षक बनाउँदै लगिरहेका छन् । अहिले यहाँको पर्यटन सम्भावनालाई उजागर गर्न विभिन्न व्यक्ति, संघसंस्था जुर्मुराउनुले पनि जिल्लाको भविष्य सुन्दर देखिन्छ ।

शब्द/तस्बिर : आरके अदीप्त गिरी

प्रकाशित: माघ १०, २०७५

ट्याग: दृश्य