रङ हराएको सानो टुँडिखेल

- गोकुल अर्याल

भूकम्प गएको चार वर्ष पुग्नै लाग्यो । तर देशको एउटा मात्र दशरथ रंगशालामा न खेल भएको सुनिएको छ, न त खेलाडी नै देखिएका छन् । भर्खरै सकिएको सहिद स्मारक ए डिभिजन लिग, त्यसअघिको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ), एसियन गेम्सलगायत ठूला–साना सबै प्रतियोगिताका लागि नेपाली खेलाडीले यो रंगशालामा न अभ्यास पाए, न त प्रशिक्षण नै ।

अचम्म के भने रंगशाला पुनर्निर्माण समयमै नहुँदा सन् २०१९ को मार्चमा नेपालले आयोजना गर्ने दक्षिण एसियाली खेलकुद (साग) पनि सर्ने निश्चित छ । देशको शान, मान र इज्जत जोडिने विषयमा पनि राखेप नेतृत्व उति सक्रिय भएजस्तो देखिएन ।

०१३ अघि अहिलेको टुँडिखेलको हिस्सा रहेको क्षेत्रलाई हालको दशरथ रंगशाला नामकरण गरियो । त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो । मुलुककै एक मात्र रंगशालाको पहिलो संरचना उबेलै बनेको हो । त्यसको ४४ वर्षपछि मात्रै अहिलेको स्वरुपमा बनेको हो,

अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला, ०५५ मा । नेपालले आठौँ साफ आयोजना गर्ने निर्णय गरेपछि उत्तरको छिमेकी चीनले आधुनिक रंगशाला निर्माणमा सहयोग गरेको थियो । विदेशीले बनाइदिएको रंगशाला उपयोग गर्ने क्षमता राखेप नेतृत्वकर्ताले अहिलेसम्म राखेको देखिँदैन । रंगशालालाई सधैँ रङबिनाको खेल मैदान बनाउने कि चाँडो पुन:मर्मत गरेर पहिलेकै अवस्थामा ल्याउने ?

आरक्षित हुने अधूरो रहर

०६३ को अन्तरिम संविधानले ल्याइदिएको हो आरक्षणको अवसर । ०६४ देखि लागू भएको यो नीतिअन्तर्गत अहिलेसम्म लोकसेवा आयोगबाट मात्रै करिब १६ हजार ९ सय ३९ जनाले आरक्षित हुने अवसर पाइसकेका रहेछन् । सरकारी सेवामा बाहुन/क्षत्रीलाई भने आरक्षण वर्जित छ ।

उपत्यकामा गुड्ने बाबा गोकर्णेश्वर यातायात प्रालिले सञ्चालन गरिरहेका बसमा भने कलमजीवीलाई पनि आरक्षणको सुविधा रहेछ । कलमजीवीको आरक्षित सिट उपभोग गर्ने मनसुवा राखेर चावहिलबाट थापाथली कार्यस्थल पुग्न चढियो, बाबा गोकर्णेश्वरको बा५ख २५६० नम्बरको बसमा । ३५ सिटे क्षमताको यो बसमा ड्राइभर सिटको बायाँपट्टि राखिएको रहेछ, पत्रकार आरक्षित दुई सिट । २७ पुस बिहान ११ बजे सरकारी स्तरबाट मनाइएको पृथ्वी जयन्तीमा सहभागिता जनाउन र कमल थापा नेतृत्वको राप्रपाले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागिता जनाउन आउनेको बथानै रहेछ, त्यो बसमा । रत्नपार्क आइपुग्दासम्म सिट कतापट्टि रहेछ भन्नेसमेत भेउ पाउन सकिनँ ।

बसमा कम्तीमा ६० यात्रु थिए । जमलमा आधाउधी झरे, सहिदगेटमा एकाधबाहेक सिटमा चढेका मात्र बाँकी रहे । त्यहाँ केही बेर रोकेपछि बस हुइँकियो कलंकीका लागि । थापाथली अफिस आइपुग्न बसमा मेरो अन्तिम गन्तव्यचाहिँ त्रिपुरेश्वर थियो । तर त्रिपुरेश्वरमा बस रोकिए पनि मचाहिँ ओर्लिनँ किनकि जसरी पनि आरक्षित सिट उपभोग गर्ने हुटहुटी थियो ।

म त्रिपुरेश्वर हुँदै कलंकीसम्म जाने निधोमा पुगेँ । त्रिपुरेश्वरमा केही यात्रु झरेपछि मात्र आरक्षित सिटको भेउ पाइयो । पत्रकारका लागि आरक्षित गरिएको सिटलाई स्पर्शसम्म गर्न पाइयो । मन फुलेर तरंगित भयो । सिटमा बसेका रहेछन्, दुई महिला । कालीमाटीमा ती दुई महिला उत्रिएनन्, मेरो पत्रकार सिटमा बसेर आरक्षित हुने चाहनाले यहाँसम्म पनि सार्थकता पाएन । त्यसपछि कालीमाटीलाई अन्तिम बिसौनी बनाएर अफिस आउन कीर्तिपुर यातायातको बस समातेँ ।

यातायात कसले चलाउने ?

निजामती कर्मचारीका लागि छ्यालब्याल आम्दानीको स्रोत बनेका छन्, यातायात विभागअन्तर्गतका कार्यालय । सुनियो, यातायात विभागका ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि कार्यालय चलाउन नसकिने अवस्था आइपरेछ ।

देशभरका यातायात व्यवस्था विभागको कार्यालयबाट अधिकृत र उपसचिवसहित ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएपछि कर्मचारी अभावमा कामै गर्न नसक्ने अवस्थामा पुगेको विभागका महानिर्देशक लावण्य ढकालले नै बताएछन् । नेतृत्वकर्ताले संघीय संसद्को विधायन व्यवस्थापन समिति बैठकमा भनेपछि कसरी नपत्याउनु ?

देशैभर यातायात विभाग मातहत रहेका कार्यालयमा काम गर्ने अधिकृत र उपसचिवजति सबै भ्रष्टाचारको मुद्दामा अख्तियारको फन्दामा परेपछि कसरी बाँडोस् त विभागले स्मार्ट लाइसेन्स !

१ वर्ष पुग्यो स्मार्ट लाइसेन्स नबाँडेको । जहिलै यातायात कार्यालयमा बुझ्न जाँदा कहिले ३ महिना, कहिले ६ महिना त कहिले अर्को वर्षको पहिलो महिना आउनू भनेर सेवाग्राहीलाई फर्काइरहेको छ । प्रधानमन्त्री केपी ओलीको नारा ‘म पनि भ्रष्टाचार गर्दिना, अरुलाई पनि गर्न दिन्नँ’ कार्यान्वयनमा आउँछ कि अब ?

प्रकाशित: माघ ९, २०७५

ट्याग: नोटबुक