मान्छेको सबैभन्दा ठूलो रुचि अर्को व्यक्तिमा

- राजेश हमाल

केन विल्बरबारे उति जानकारी नभए पनि विषयहरूकै खोजीमा लाग्दा ब्रिफ हिस्ट्री अफ एभ्रीथिङसम्म पुगेको हुँ, अचानक । ठोस उत्तर नहुने हुँदा सन्दर्भ सामग्रीको सहायताले जीवन बुझ्नुपर्ने हुन्छ । मानव सृष्टि, जीव र मानवीय मनोविज्ञान, मानव प्रविधिजस्ता विषयमा लेखिएको यो किताबले ठोकुवाका साथ अन्तिम सत्य यही हो भन्दैन, अर्धसत्यहरु मात्रै संसारमा तैरिरहेको जानकारी दिन्छ ।

मेरा वर्तमान जिज्ञासालाई सम्बोधन गरेजस्तो लागेर यो पुस्तक आकर्षक मानेँ । भाववादी र भौतिकवादी अन्तर्विरोधका बीच विभिन्न बाटोसहितको विकल्प–दर्शन दिनु यो किताबको शक्ति हो । विभिन्न धर्मावलम्बीले सृष्टिचक्रको तिथिमितिलाई केही हजार वर्षअघि लगेर कल्पना–चित्र कोर्छन् भने डार्विनवादी करिब दुई लाख वर्षवरपरसम्मै आफ्ना व्याख्या तन्काउँछन् । प्रश्न एकै भए पनि उत्तर उही हुँदैन, परिभाषाहरु मात्रै छन् हामीसँग । हुर्काइ, बढाइ, पढाइ र परिवेशको प्रभावमा मान्छेहरु एक खालको सत्यलाई पक्रेर बसेका हुन्छन् । पूर्वधारणा नत्याग्ने समस्याका कारण नवीन तर्कबाट समेत व्यक्तिको चिन्तन परिवर्तन गर्न मुस्किल हुँदोरहेछ । विकासवादीले अरु अवधारणालाई दन्त्यकथा मानेर पन्छाइदिन्छन् । ‘मेरो गोरुको बाह्रै टक्का’ ले समाजमा समस्या निम्त्याउने भएकाले होला, विल्बर अरुलाई इन्कार नगर्ने इन्द्रेणी दर्शनको पक्षपाती छन् ।

अमेरिकाको सामाजिक इतिहास खोज्ने क्रममा चाल्र्स जोन्सन र पेट्रिसिया स्मिथको अफ्रिकन्स इन अमेरिका  फेला पारेको हुँ । मानवीय अत्याचारको इतिहास हेर्दा– अमेरिकामा काला जातिले सामना गर्नुपरेको भीषण परिस्थितिभन्दा ठूलो निर्मम–कथा संसारका अन्य कुनै जातिको उत्पीडनमा छैन सायद । मानवीय संवेदनालाई तिरस्कार गर्दै एक मनुष्यले अर्कोलाई पशुवत् व्यवहार गर्नुजस्तो ठूलो अत्याचार अरु के होला !

काला जातिलाई आफ्नो भूमिबाट त वञ्चित गरिन्थ्यो नै, गोराले कालालाई मार्नु सामान्य क्रिया मानिन्थ्यो । दास तुल्याउन शारीरिक सुगठित कालालाई छनोट गरिनुका साथै पारिवारिक रुपमा बिनासंस्कार छिन्नभिन्न पारिन्थ्यो । त्यहाँ एउटै रक्तसम्बन्धभित्र अन्जानैमा बिहेवारी पनि हुन सक्थ्यो । दास बनाउन अफ्रिकाबाट काला जातिलाई ‘ढुवानी’ गर्दा सबै सकुशल अमेरिका आइपुग्दैनथे । बाटोमै मरेका कालाहरुलाई समुद्रमा यसरी फ्याँकिन्थ्यो, मानौँ– ती जनावर हुन् । मृतक परिवारका सहोदर सदस्यसमेत त्यही यात्रामा हुन्थे ।

चाल्र्स आफैँ काला जातिका लेखक भएकाले उनको समुदायको पीडा र दु:खको कथा भोक्ता अनुभवकै रुपमा पढ्न सकिन्छ भने अनुसन्धानको गहनता झल्किन्छ नै । दमनको ऐतिहासिक पाटोमा बढी केन्द्रित यो किताब प्रतिकार, प्रतिरोध र मानव अधिकारका पक्षबारे भने कम बोल्छ । अमेरिका बहुसांस्कृतिक भइसके पनि गोरा र काला जातिबीचको असमानताको वास्तविकता पर्गेल्न यो सामग्री पठनीय छ । ‘अवसरको भूमि’ का रुपमा परिचित अमेरिकामा विश्वका विभिन्न मुलुकका नागरिक फक्रेका छन् । तर लामो समयदेखि अमेरिकी भूमिमै रहेर पनि ठगिनुपर्ने कालाहरुको विवशताले मलाई अश्वेत इतिहासमा रुचि जागेको हो । अफ्रो–अमेरिकी समुदाय पछाडि पर्नुमा दासत्वको ऐतिहासिक कारण मूल हो भन्ने निष्कर्षमा पुर्‍यायो मलाई पुस्तकले । गोराको दृष्टिबिन्दुबाट मात्रै इतिहासलाई हेर्ने परम्पराभन्दा भिन्न अफ्रो–अमेरिकी कोणले विभेदको जरा खोतल्छ ।

सतही बुझाइमा सोधिन्छ, काला अमेरिकी किन बढी हिंसा र अपराधमा संलग्न भएका होलान् ? तर उनीहरुको दमनको ऐतिहासिकतालाई नजिकबाट बुझेपछि प्रतिप्रश्न जाग्छ– आरम्भदेखि नै समान धरातलमा उभिन नपाएको समुदायलाई उठ्न समय लाग्दैन त ? त्यो समुदाय समृद्ध हुन स्वाभाविक रुपमा लामो काल पर्खनुपर्छ किनकि जीवन–दौडमा कालाहरुलाई निकै पछाडि र तल पारिएको थियो । आर्थिक असमानताको विभेदकारी इतिहास नजानीकन मूल्यांकन गर्दा अश्वेत जाति र सिंगो समुदायमाथि अन्याय हुन जान्छ ।

आफ्नै दर्शन र प्रश्नलाई सम्बोधन गर्ने तथा जीव र जीवनबारे विमर्श गरिएका पुस्तकको खोजीमा हुन्छु म । अचेल आध्यात्मिक उत्तरहरु पाउने किताब पढ्दै छु । जीवन र मृत्युको एउटै तात्पर्य नभएकाले व्यक्तिपिच्छे अनुभव र अनुभूतिअनुसार अर्थहरु निकालिन्छन् । आक्रोश, अहं, यौनिक आकर्षण, लोभजस्ता भावको कारण जान्न र व्यवस्थापन गर्न चाहनेहरुका लागि टिबेटन बुक अफ लिभिङ एन्ड डाइङ उपयोगी हुन सक्छ । जीवनजतिकै मृत्युलाई निकटबाट बुझ्न सम्प्रेषणीय भाषामा लेखिएको सोग्याल रिन्पोचेको यो किताब निकै सहयोगी हुन सक्छ । कुनै एक विचारधारालाई पूर्ण मान्न सकिँदैन ।

विचारस्रोतहरु खोज्दै जाँदा बौद्ध–दर्शनले जीवनका विविध जिज्ञासाहरुको सम्बोधन गरेको पाएँ तर जीवन यति जटिल छ कि अध्यात्मबोध मात्रैले व्यवसाय, राजनीति, अर्थतन्त्रजस्ता जीवनका व्यावहारिक पाटा चल्दैनन् ।

मान्छेको सबैभन्दा ठूलो रुचि अर्को व्यक्तिमा हुन्छ । अरुका सोचाइ, भनाइ, संघर्ष, जीवन–दर्शनमा आफ्ना प्रश्न र धारणा खोज्ने मानवीय स्वभाव हुन्छ । आफ्नै खोजीमा हिँड्दा अरुको संकथनसम्म पुग्ने गतिलो माध्यम पुस्तक रहेछ । 

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: माघ ९, २०७५