जोन हल्टको डायरी

पुस्तक : हामी बालबालिका | लेखक : जोन हल्ट | प्रकाशक : इन्डिगो इन्क | पृष्ठ : २३८ | मूल्य : ३७९ रुपैयाँ

- राजकुमार बानियाँ

‘कक्षामा विषयवस्तुलाई रोचक बनाएर तिमीले ठूलो गल्ती गरिरहेका छौ । वास्तविक जीवन त निकै नीरस पो छ त ! स्कुलेलाई नीरस जीवनमै अभ्यस्त पारेको जाती ।’

स्कुलमै आएर एउटी आमाले हप्कीदप्की गरेपछि सोचमग्न भए, अमेरिकी शिक्षाशास्त्री जोन हल्ट । ती आमा सोह्रै आना गलत पनि त थिइनन् । नीरस र घिसेपिटे घनचक्करमै त छ जीवन । गमेर हेरे– शिक्षाको सार्थकता जीवनलाई दाइँको गोरुजस्तो मियोवरिपरि घुमाउनुमा छ या नीरस घनचक्करबाट उन्मुक्ति दिनुमा ?

अधिकांश शिक्षक, अभिभावक र अग्रजले जीवन र भविष्यप्रति असीम रुचि भएका बालबालिकाको मनोभावना नै बुझ्दैनन् । आज्ञाकारी, विनम्र, कर्तव्यपरायण, परिश्रमी या सम्झौतापरस्त नै भइरहून् भन्ने आकांक्षाले सिकाइप्रति बालबालिकाको नि:स्वार्थ लगाव क्रमश: नष्ट हुँदै जान्छ ।

भीमकाय भवन, नक्कली वातावरण अनि चाहिनेभन्दा नचाहिने सुविधा र क्रियाकलाप थोपरेका विद्यालयबाट अभिभावक प्रताडित छन् । जोन हल्टको शब्दमा त स्कुलहरु झ्यालखाना भइसकेका छन्, अभिभावकले त्यसमै निर्दोष नानीहरुलाई जबर्जस्ती कोचिरहेका छन् । केही वर्ष शिक्षण गरेका हल्टको स्कुले प्रणालीमै मोहभंग भयो र ‘होम स्कुलिङ’ अभियान चलाए ।

खासमा जोन हल्टले कोलोराडोको रक्की माउन्टेन स्कुल र लेस्ली एलिस स्कुलका विद्यार्थीको सान्निध्यमा चार वर्षसम्म सँगालेका अनुभव र अनुभूतिको डायरी हो, हामी बालबालिका । जहाँ उनले पढाउने शैलीमा स्वतन्त्रता पाएका थिए अनि गल्ती गर्ने र सिक्ने स्वतन्त्रता पनि । उनको स्वीकारोक्ति छ– मैले भन्दा पनि बालबालिकाले नै मलाई सिकाए ।

खासमा बालबालिकाको संसारमा सफलता र असफलता भन्ने नै हुँदैन । कुनै पनि काममा सफलता र असफलता त एकै सिक्काका दुई पाटा हुन् । दुवै सधैँ साथसाथै रहन्छन् । हल्टले गणित, भूगोल, भाषा, इतिहास विषयका घटना अध्ययनमार्फत कक्षाकोठाभित्र सबभन्दा कमजोर मानिएका विद्यार्थी बाहिर निकै प्रतिभावान्, परिपक्व र रोचक देखापरेका तथ्य औँल्याएका छन् ।

बालबालिका फेल हुन्छन्, स्कुल छाड्छन्, त्यो शिक्षकको असफलता हो कि होइन ? छानीछानी भर्ना लिने, महँगो शुल्क असुल्ने अनि फेल भएपछि विद्यार्थीलाई मात्र दोष दिने ? जोन हल्ट त अझ ‘दोषी’, ‘अपराधी’ भन्दा पनि ‘जिम्मेवार’ शब्द सुहाउँदो देख्छन् । त्यसमा विद्यालय वा शिक्षकले जिम्मेवारी सकारुन् भन्ने उनको अभीष्ट छ ।

हरेक शिक्षकलाई आफ्नै विषय रोचक, उत्तेजक र महत्त्वपूर्ण लाग्छ । तर के शिक्षक र विद्यार्थीको रुचि एउटै हुन्छ त ? बालबालिकालाई कलिलै उमेरमा भीडभाड र कोलाहलको समाजमा धकेलेर आफ्नाबारेमा भन्दा अरुका बारेमा सोच्नुपर्ने बाध्यतामा पारिने उनको बुझाइ छ ।

१३ फेब्रुअरी १९५८ देखि ९ अप्रिल १९६१ सम्मको डायरीमार्फत जोन हल्टले सन्देश दिएका छन्– सफल मानिएका मुठ्ठीभर विद्यार्थी नै असल हुन् भन्ने ग्यारेन्टी छैन । बालबालिकाले यसरी सिकून् ताकि माथिल्लो कक्षाको आरोहण सही ठहरियोस् । बालबालिका कक्षा त चढ्छन् तर सिक्नुपर्ने जति कुरा सिकेकै हुन्छन् त ? घोक्न सक्नु नै सिकेको प्रमाण हो ? कक्षा दोहोर्‍याउँदैमा अतिरिक्त सिकिन्छ ? बालबालिकाको सफलता वा असफलताको सम्पूर्ण जिम्मेवारी स्वयंको हो कि उसको पारिवारिक पृष्ठभूमि, छरछिमेक, मस्तिष्कको विकास पनि ? एकमुष्ट जवाफ पुस्तकमै छ ।

अभिभावकका अवान्छित आकांक्षाको कालो बादल बालबालिकाको मनमस्तिष्कमा मडारिरहेको हुन्छ । बालबालिकामा अन्तरनिहित असीम प्रतिभा र सिर्जनशीलतासामुन्ने ती अत्यन्त भ्रामक आकांक्षा हुन् । विद्यालय कसरी असफल हुन्छ ? पक्कै पनि बालबालिकाप्रति लिएको खराब रणनीतिले । तिनले बालबालिकामा डरको भावना मात्रै जगाएका छन्, चाहेको ज्ञान पाएकै छैनन् ।

हल्टले पुस्तकको सुरुआतमै प्राध्यापक रोबर्ट कन्निघमका शब्द सापटी लिएका छन्, ‘निश्चितता एउटा भ्रम हो र विश्राम मानिसको भाग्य नै होइन, निरन्तरता नै जीवन हो ।’ चाखलाग्दो पक्ष के भने केही वर्षयता विदेशी शिक्षाशास्त्रीका पुराना शिक्षासाहित्य नेपाली बजारमा अनुवाद भएर आउँदै छन् । गिजुभाईका दिवास्वप्न, तोत्तोचान, हामी आमाबाबु, बालमहिमा, अनि जोन हल्टका असफल स्कूललगायत । यद्यपि, यी एकअर्काका विकल्प नभएर पूरक पुस्तक हुन् । सन् १९८५ का गुजराती गिजुभाई र १९२३ का अमेरिकी हल्टको जति परख हाम्रा शिक्षाविद्ले किन गरेनन् ?

बालबालिकालाई असफल हुनबाट कसरी जोगाउने भन्ने हल्टको चिन्तन हो, हामी बालबालिका । उनको पुस्तक असफल स्कूल निकै रुचाइएको सन्दर्भमा यो अनुवाद आएको हो सायद । पुस्तकको सार्थकता सुहाउँदो नाममा पनि हुन्छ । हामी आमाबाबुको प्रभावमा बहकिनुको साटो पुस्तकको मर्मअनुसार सिर्जनशील शिक्षक या अरु केही राख्न सकिन्थ्यो । मूल पुस्तकको नामसमेत छुटेको छ, पुस्तकमा । यद्यपि, जोन हल्टको अनुवाद सुकर्म हो, अब्बल अनुवाद त्यसको अनिवार्य सर्त ।

प्रकाशित: माघ ९, २०७५

ट्याग: पुस्तक