कुकुरको महँगो शवयात्रा

- नेपाल संवाददाता

बेलायत, अक्टनकी सासा स्माजिक, ३७, ले मृत कुकुरको सम्मानमा महँगो शवयात्रा गरेकी छन् । बग्गी, सेता परेवा, फोटो र झकिझकाउ सजावटसहितको शवयात्रामा ४ हजार २ सय ४९ स्टर्लिङ पाउन्ड खर्च गरिएको विदेशी सञ्चार माध्यमले लेखेका छन् । पशु चिकित्सकको सहयोगमा बग्गीमा राखी कुकुरलाई उसको प्रिय पार्कमा लगेर समाधिस्थ गरिएको हो ।

गत क्रिसमसमा हृदयाघातका कारण क्याप्टेन नामक कुकुर मरेपछि शोकसन्तप्त सासाले एक सातासम्म खानासमेत खाइनन् । उनले भनेकी छन्, ‘क्याप्टेनको बिदाइ विशेष नै बनाउनुपर्ने थियो । अरुका लागि ऊ एउटा कुकुर थियो होला तर मेरा लागि सन्तान थियो । ऊ मेरो सबथोक थियो । उसलाई म जीवनभर सम्झिनेछु ।’

सासाले सात महिने क्याप्टेनलाई पशु उद्धार केन्द्रबाट घर लगेकी थिइन् । लजालु र बफादार क्याप्टेन सासाको परिवारमा सबैको प्यारो थियो । कुनै पनि जनावरलाई पाल्दा पशुजस्तो होइन, पारिवारिक सदस्यझैँ माया गरेर हुर्काउनुपर्ने उनको धारणा  छ ।

तस्बिरमा हेर्नुहोस् : क्याप्टेनको शवयात्रा

प्रकाशित: माघ ७, २०७५