पहिचान, भाषा र मधेस

- कृष्ण धरावासी

अमेरिका पुगेपछि मैले मातृभाषाको महत्त्व पहिलोपल्ट अनुभव गरेँ । नेपालमा जनजाति, आदिवासी र मधेसीहरूले मातृभाषाबारे सधैँ गर्ने बहसको घनत्व महसुस गरेँ । जब मैले त्यहाँ जानेको भाषामा आफ्ना कुरा चित्त बुझ्ने गरी बताउन सकिनँ र आफूलाई ‘लाटो’ जस्तो पाएँ, तब मैले देशमा उठिरहेका भाषा आन्दोलनको अर्थ बुझेँ । त्यसमा पनि मधेसीहरूको भाषिक माग बढी मार्मिक लाग्यो । र, ती मागको पक्षमा आफ्नो मतलाई सुरक्षित गरेँ ।

खासमा पहाडमा बोलिने मूल भाषा नेपाली हो, जो अधिकांश पहाडियाले बोल्न सक्छन् तर मधेसमा धेरैले यो भाषा बोल्न सक्दैनन् । मधेसमा मैथिली, भोजपुरी, अवधी, थारुलगायत अन्य आदिवासीका आ–आफ्नै भाषा छन् । तर मूल भाषाका रूपमा मधेस मैथिली र पहाड नेपाली भाषामा विभाजित छ । तथापि, मधेसको सम्पर्क भाषा हिन्दी छ भने पहाडको नेपाली । यही सम्पर्क भाषाका कारण पहाडले मधेसीलाई शंकाको नजरले हेर्छ, जुन कुराले उनीहरू पहाडसँग सधैँ चित्त दुखाउँछन् ।

कुनै पनि मधेसी हिन्दी भाषाको सम्पर्कका कारणले पहाडीले शंका गरेजस्तो भारततिर आकर्षित हुँदैनन् । बरु भारतबाट जति दु:ख मधेसीले पाएका छन्, त्यति दु:ख कुनै पनि पहाडियाले पाएका छैनन् । मधेसीहरू भारतसँग सीमा जोडिएको भूमिमा छन् । भारतबाट पस्ने कुनै पनि चोर, डाँका वा भगौडा अपराधी पहिला उनीहरूकै आँगनमा आइपुग्छ । उनीहरूलाई नै लुट्छ, मार्छ, उनीहरूकै छोरीचेलीमाथि बलात्कार गर्छ । जतिजति सीमापारिबाट सीमा मिचिँदै आउँछ, पहिला उनीहरूकै जमिन हराउँछ ।

एउटा कुरामा समानता छ, पहाडिया र मधेसीबीच । जसरी पहाडियासँग नेपाली भाषाका कारण नेपालीभाषी विदेशी सहजै घुलमिल भएका देखिन्छन्, त्यसैगरी मधेसी नेपाली हिन्दी, मैथिली, भोजपुरी आदि भाषाका कारण भारतका मानिससँग जुन ठाउँमा पुगे पनि सजिलै घुलमिल भएको देखिन्छ । आफूहरूसँग नेपालीभाषी विदेशी घुलमिल भएको थाहा नपाउने पहाडिया मधेसी पारिकारसँग मिसिएको मात्र देख्छन् ।

त्यसमा पहाडियाले नबुझेको एउटा ठूलो समस्या के छ भने जसरी भारतको दार्जिलिङ, सिक्किम, आसाम, मणिपुर, भुटान र बर्माबाट आएका नेपालीभाषी विदेशी उनीहरूको लवजका कारण सहजै चिनिन्छन्, त्यसैगरी नेपाली मधेसी भारतको जुनसुकै ठाउँमा पुगे पनि सहजै चिनिन्छन् र उताकाहरूले नेपाली भनेर हेपिरहेका हुन्छन् ।

एउटा पहाडिया बसाइँ गएको, निर्वासित भएको, देश छाडेको ठूलो खबर हुन्छ । फर्केर आयो भने पनि त्यसको सुरक्षा हुन्छ । मधेसीहरू पनि उत्तिकै बसाइँ गइरहेका हुन्छन् तर उनले देश छाडेको कथा खोइ ? पहाडियाको दु:खलाई संसारले सुन्ने गरी गीत बन्छ, कथा लेखिन्छ, उपन्यास बनिन्छ, सिनेमा खेलिन्छ तर मधेसीका लागि ती कुनै सुविधा छैनन् । पहाडका कथामा राई, लिम्बू, गुरुङ, मगर, नेवार, दमाई, कामी, सार्की आदि सबैका दु:ख मिसिएर आउँछन् । तर मधेसको दु:ख कति आउँछ ? मधेसी पात्र कति आउँछन् ?

पहाडका उकालीओरालीलाई मात्र दु:खको विम्ब मानिन्छ । तर मधेसको समथर बालुवामुनि दबिएको पीडा कसले देख्ने ? रेडियोमा बजिरहने कुनै पनि राष्ट्रिय गीतमा मधेस बोल्दैन । सबै गीत पहाड र हिमालको बयानमा केन्द्रित हुन्छन् । मधेसको दु:खलाई नेपाली भाषाको साहित्यले राम्ररी सम्बोधन गर्न सकेको छैन । विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, धु्रवचन्द्र गौतम, सनत रेग्मी, नयनराज पाण्डेहरूको कलमले छोए पनि त्यसले समग्र मधेसी समाजको प्रतिनिधित्व गरेको छैन । 

मधेसीहरूको मूलभाषा हिन्दी नभएर मैथिली, भोजपुरी, अवधीलगायत हुन् । तर उनीहरूले ती भाषालाई बोलीचालीमै सीमित राखे । ती भाषालाई नेपाली साहित्यको मूलभाषा बनाउन सकेनन् । नेपालको दोस्रो ठूलो भाषाको रूपमा रहेको मैथिलीले कस्ता कृति दिन सक्यो त ? मधेसीले कुनै साहित्य पढ्नुपर्दा कि नेपाली भाषामा पहाडको कथा पढे कि त हिन्दीमा भारतका कथा पढे । उनको जनकपुरको कथा खोइ ? उनको वीरगन्जको कथा कहाँ पढ्न पाए ?

सभ्यतालाई चिनाउँछ, भाषा र संस्कृतिले । मधेसीसँग हजारौँ वर्ष पुरानो संस्कृति छ तर आफ्नै भाषाको साहित्य छैन । एउटा पहाडिया लेखकले जति प्रयत्न गरे पनि मधेसीको पीडा कति लेख्न सक्छ ? चुल्ठोमा फुर्के धागो हल्लाउँदै हिँड्ने आमाको काखमा हुर्किएको लेखकले आमाको घुम्टोमा लुकेर दूध चुसी हुर्किने संस्कृतिको पीडा कसरी लेख्न सक्छ ? आफ्नो समस्या आफ्नै समुदायबाट आउनुपर्छ । नेपाली भाषामै लेखे पनि त्यो कृतिको लेखक मधेसी हुनुपर्छ । अनि पो मधेसको नक्सा उघ्रिन्छ ।

साहित्यका लागि खुला समाज चाहिन्छ । मधेसमा त्यस्तो समाज बन्नै सकेको देखिँदैन । केटा र केटीबीच प्रेम हुन सक्छ तर त्यो विवाहमा परिणत हुनै गाह्रो । दहेज प्रथाले गर्दा कुनै केटो मन परेकी केटीसँग प्रेम गर्न सक्दैन वा गर्नै डराउँछ किनकि उसलाई सानैदेखि ‘विवाहमा यति दहेज आउनुपर्छ’ भनेर पढाइएको हुन्छ । उसले पनि आफ्नो विवाहसँग प्राप्त हुने सम्पत्ति सोचिरहन्छ । प्रेमविवाह गर्दा दहेजको सम्भावना हुँदैन । त्यसैले बरु बलात्कारका घटना हुन्छन् तर प्रेमविवाह कम हुन्छ । साहित्य लेखिने हो– प्रेममा, वियोगमा, रोमान्समा ।

पहाडी संस्कृति पनि यदि उदार छ भने त्यो क्षत्री–बाहुनका कारणले भएको होइन । त्यसलाई उदार पारेका हुन्, त्यहाँका जनजातिले । जुन समाजमा महिला बढी स्वतन्त्र हुन्छन्, त्यो समाज धेरै अनुशासित र सिर्जनशील पनि हुन्छ । जनजाति महिला नाच्न, गाउन, घुम्न, प्रेम गर्न सब कुरामा स्वतन्त्र छन् । बाहुन–क्षत्रीका छोरी जनजातिसँग र जनजातिका छोरी बाहुन–क्षत्रीसँग विवाह गरिरहेछन् । त्यसको तुलनामा पहाड र मधेसबीच बिहाबारी हुन सकेको छैन ।

पहाडमा रहेको छुवाछूतबारे धेरै चर्चा हुन्छन् । तर तुलनात्मक रूपमा पहाडमा भन्दा बढी छुवाछूतको व्यवहार मधेसमा छ । मधेसमा त डुम, चमार, खत्वे, मुसहर, कलुवार, तेली, तत्मा आदिको गाउँ नै अलग हुन्छ । उनीहरूको हिँड्ने बाटो, पानीको इनार सबै अलग्गै हुन्छ । मधेसमा कथित तल्लो जातिका मानिसमाथि गरिने व्यवहार दासको जस्तै छ । युगौँदेखिको यो प्रथा आजसम्म पनि चटपटाएको छैन । जतिसुकै ठूल्ठूला भाषण गरे पनि, गरिब र हेपिएकाहरूको पक्षमा नारा लगाए पनि हेपिनेमाथि कुनै सुधार छैन । सामाजिक रूपमा वहिष्कृत ती जातिको न गरिखाने जग्गा–जमिन हुन्छ, न  त उचित ज्याला । सधैँ झुप्रोमा बस्ने यिनीहरू हरेक हिउँदमा शीतलहरको सिकार हुन्छन् र कक्रिँदै मर्छन् ।

मलाई लाग्छ, हाम्रा मधेसका नेताहरू काठमाडौँमा जति उफ्रिन्छन्, त्यसको केही भाग मात्र मधेसको चेतना विस्तारमा काम गर्ने हो भने दस वर्षमा मधेस कहाँ पुगिसक्दो हो । तर उनीहरू मधेसमा पहाडविरोधी उग्र नारा लगाउँदै जातीय राजनीतिका रूपमा मात्र मानिसलाई उचालेर समय बर्बाद गरिरहेछन् ।

मधेसमा समस्याका रूपमा रहेका धामी, बोक्सीजस्ता कुसंस्कारबाट पहाड पनि उम्कन सक्दैन । पहाडमा पनि धामीले बोक्सी डाम्ने नाममा बिरामीकै गालामा पन्यूँ तताएर डामिरहेका हुन्छन् । घरपरिवारभित्रै पनि छोराबुहारीले आमालाई बोक्सी भनेर घरबाट निकालिरहेका हुन्छन् । एक किसिमको मनोवैज्ञानिक डर बोकेका मानिस बाहिर–बाहिर आधुनिक र नास्तिक देखिन खोजे पनि भित्रभित्र धामीझाँक्री र ज्योतिषीको शरणमा पुगिरहेकै हुन्छन् ।

कुसंस्कारका कुरा गर्ने हो भने पश्चिम तथा सुदूरपश्चिम पहाड झन् धेरै आक्रान्त छ । यिनै गरिबी र कुसंस्कारको प्रचार गरेर माओवादीले ‘जनयुद्ध’ गरे तर तिनै क्षेत्रमा अहिले पनि ती विकृति जिउँदै छन् । आज पनि त्यहाँ पिछडिएका क्षत्री–बाहुन मात्र होइन, क्रान्तिकारी पार्टीका नेताका श्रीमतीसमेत छाउपडी गोठमा सुत्न बाध्य छन् । काँधमा बन्दुक र टाउकामा छाउपडी बोकेर दस वर्ष ‘जनयुद्ध’ लडे पनि समाजमा भने खासै परिवर्तन आएको छैन । ठूल्ठूला राजनीतिक नाराले मधेस, पहाड खुब घन्कियो तर त्यसबाट कुनै संगीत निस्किएन ।

भाषा बोलीचालीको माध्यम मात्र होइन, सम्पूर्ण सभ्यताको जग नै हो । मैथिली भाषाको इतिहास र त्यस भाषाको साहित्यको उचाइ कति माथिसम्म छ ? पछिल्लो कालमा मधेसले किन त्यस भाषामा काम गर्न सकेन भन्ने प्रश्नको उत्तर दिन केही बेर पनि घोरिनुपर्दैन । पञ्चायतको एक भाषा, एक भेषको प्रशासनिक नारा र व्यवहार त्यसको प्रमुख कारण थियो । तर पञ्चायती व्यवस्था विघटन भएको पनि २८ वर्ष भयो । ३० वर्षको पञ्चायतलाई २८ वर्षसम्म गाली गरिरहेर मधेसले उन्मुक्ति पाउँदैन । प्रजातन्त्र आइसकेपछि मधेसले आफ्नो भाषाका लागि के–के काम गर्‍यो ? सरकारको मुखै नताकी के–कति काम गरियो ? त्यसको जवाफ त मधेसी नेता र विद्वानहरुले मधेसकै नयाँ पुस्तालाई दिनैपर्छ । पहाडले गरेका गल्तीको जवाफ उसले देला तर मधेसले पहाडतिर चोर औँलो तेस्र्याएर मात्र धर पाउला ?

मैथिली भाषालाई भन्दा हिन्दीलाई स्थापित गर्ने यात्रामा निस्केका केही हिन्दीवादीको प्रभावमा परेको मधेसले न हिन्दीलाई स्थापित गर्न सक्यो, न त मैथिलीलाई नै सम्पन्न गराउन हिँड्यो । आज संविधानले सबै भाषाको संरक्षण गरिसक्दा पनि मधेसमा अझ आफ्नो भाषा के हो भन्नेमै अन्योल छ । मैथिलीको त्यत्रो सम्पदामा हिन्दीले रजाइँ गर्न सक्ला र ? मलाई लाग्दैन– मधेसमा राजनीतिक स्वार्थले हिन्दीलाई उभ्याइयो भने पनि जनताको स्तरमा त्यसले आफूलाई स्थापित गर्न सक्ला ।

मधेसमा मैथिली, भोजपुरी, अवधी, थारु भाषा हाम्रा सम्पत्ति हुन् । एउटा भाषा बन्न कति समय लाग्छ , के भाषा कुनै कारखाना वा विश्वविद्यालयले बनाउने कुरा हो ? त्यो त मानिसको बोली फुट्दै निस्कने आवाज हो । भाषा कुनै पनि आफ्नो–अर्काको हुँदैन । सिक्न सके सबै भाषा आफ्नै हुन् । तर आमाको काखमा दूध चुस्दै सिकेको भाषाचाहिँ आफ्नोबाहेक कसैको पनि होइन ।

आज मधेस जुन भाषाका लागि छटपटाइरहेको छ, त्यो कुन भाषा हो ? के मधेस भाषाका बारेमा आफैँ स्पष्ट छ ? मधेसमा नेपाल चिन्न नेपालीबाहेक मैथिली, भोजपुरी, अवधी, थारुबाहेक अरू विकल्प हुन सक्लान्जस्तो लाग्दैन । किनभने, भाषाले संस्कृति, परम्परा, इतिहास, धर्म, राट्रियता धेरै कुराको प्रतिनिधित्व गरेको हुन्छ  । मधेसलाई हिन्दीले मिथिला संस्कृति बुझाउन वा सम्झाउन सक्ला ?

नेपालको दोस्रो ठूलो भाषाको रूपमा स्थापित मैथिलीले आज मधेसमै यसरी गिडगिडाउनुपर्ने बनाएको पहाडले मात्र होइन, मधेसकै बौद्धिकहरूको पनि यसमा कतै न कतै समस्या हुनुपर्छ । पहाड चढ्न अल्छी गरेको मधेसले नेपालीमा उति जाँगर त चलाएन तर मैथिलीमै पनि नयाँ गीत किन गाएन ? कविता, कथा, महाकाव्य राम्रा–राम्रा उपन्यास किन लेखेन ?

राजधानीमा महल बनाएर बसेका मधेसी नेताहरूले  काठमाडौँमै स्थापित भएका मधेसी बुद्धिजीवीहरूको सहयोग लिएर एउटा विद्यापतिको सालिकसम्म पनि राख्ने जाँगर किन चलाएनन् ? राजनीतिक आन्दोलनले सत्ता प्राप्ति होला तर संस्कृतिको विस्तार हुँदैन । मधेसभरि पहाडिया संस्कृति छ्यापछ्याप्ती हुँदा पहाडमा मधेसले के–के पुर्‍यायो ? यी प्रश्न तीता होलान् तर फेरि पनि प्रश्न त हुन् नै ।

जबसम्म मानिसले आफ्नो मनको कुरा आफ्नै भाषामा खुलेर भन्न पाउँदैन, तबसम्म त्यो व्यक्ति वा समाजको अभिव्यक्ति कुण्ठाग्रस्त हुन्छ । मनमा लागेको कुरै भन्न नसकेपछि व्यवहारमा कैयौँ प्रकारका समस्या देखा परिरहन्छन् ।

अहिले हाम्रो देशमा दिनदिनै देखिएका अनेक समस्याका पछाडि लुकेर रहेका कारण भाषाका पनि हुन् । तर पछिल्लो कालमा मधेस विद्रोहले मधेसमा ठूलो परिवर्तन पनि आएको छ । पहाडिया युवाझैँ मधेसी युवा पनि पत्रकारिता, सामाजिक संघसंस्था र सांस्कृतिक चेतना अभियानमा लाग्न थालेका छन् । मधेसमा स्थापित एफएम रेडियो, पत्रपत्रिकाले मैथिली भाषामाथि केही काम हुन लागेको देखिन्छ तर त्यतिले मात्र भाषा संरक्षित हुँदैन । भाषालाई जीवन्त बनाउने साहित्यले हो । अब हेर्नु छ, मधेसले कुन भाषामा कस्तो साहित्य लेख्छ ?

मधेस विद्रोह पहाडबाट विभिन्न चरणमा भएका मनोवैज्ञानिक दबाबविरुद्धको आवाज थियो । त्यसले पहाडलाई सम्बोधन गर्ने कति संरचना भत्काइदियो, कतिपय मानिसलाई विस्थापित गरिदियो । तर आज त्यो विद्रोह शान्त भएपछि मधेसले सोच्न थालेको छ– हिजोको विद्रोहबाट उसले के पायो/गुमायो ? माओवादी विद्रोहले पहाडलाई जति हानि गर्‍यो, मधेस विद्रोहले चार वर्षमै मधेसलाई थला पार्‍यो । विद्रोहका नाममा भएका हत्या, अपहरण, चन्दा आतंक, लुटपाट, बलात्कार सबै मधेसीमाथि नै भयो । मधेस–मुक्तिका लागि लड्नेहरूले मधेसलाई नै लुटे र खोक्रो बनाए ।

मधेसमा भएका आन्दोलनबाट मधेसी जनता नै सन्तुष्ट छैनन् । जनताको संवेदनशीलतालाई केही नेताले नगद बनाउन खोजे तर त्यसको प्रभाव दीर्घकालीन हुन सकेन । जब आन्दोलनमा विभिन्न पार्टीका पूर्वभ्रष्ट र बदनामहरू उग्र नाराका साथ छिरे, तब यो निरुद्देश्य हुन पुग्यो । मधेसमा उठेको विद्रोहमा आफ्नो राजनीतिक भविष्य सुरक्षित देखेर जीवनभरि अरू नै पार्टीमा समय बिताएकाहरूले पनि नयाँ मधेसवादी पार्टी खोलेर मधेसी जनतालाई अन्योल र भ्रममा पार्न थाले ।

मधेस आन्दोलनलाई बीसौँ टुक्रामा विभाजन गरिएपछि आज घाइते बाघजस्तो भएको छ, मधेस । केही नेताहरू राजधानीमा बसेर सत्ताको दलाली गरिरहेछन् । मधेसवादी दलहरूसँग मधेसबारे कुनै स्पष्ट धारणा छैन । मधेसका धनी, ठालू, सामन्ती परिवेशबाट उठेका र आफूलाई ‘ठूलो जात’ का ठान्नेहरूको हातमा छ मधेसको राजनीति, जसले मधेसभित्रको सामाजिक खाडल पुर्नुभन्दा त्यो खाडलमाथि स्याउला बिछयाउने प्रयत्न मात्र गर्छ । तैपनि, यो आन्दोलनले जनतालाई निकै सचेत गराएको छ । माओवादी विद्रोहले पहाडका गाउँगाउँमा जसरी चेतना फैलायो, त्यसैगरी मधेसमा पनि केही त भएकै छ ।

भाषा हरेक जातिको प्राण हो । सरकारले सबै जातिको भाषामा प्राण भरिदिनुपर्छ । एउटा कुरा त दोहोर्‍याएरै भन्छु– मधेसभरि लेखनाथ, देवकोटा, भानुभक्तका सालिकहरू छरपस्ट हुन सक्दा किन विद्यापतिको एउटा सालिक कहीँ नभए पनि राजधानीको प्रज्ञा–प्रतिष्ठान प्रांगणमा मात्र स्थापना गर्न सकिँदैन ? किन ?

प्रकाशित: माघ ७, २०७५

ट्याग: बहसविचार