यारी गुमाउँदै ‘खसियारी’

सहर चिनौँ–२

- जे पाण्डे/नेपालगन्ज

कुनै बेलाको ‘खसियारी’ बजार हो, नेपालगन्ज । हिमाली र पहाडी भेगबाट व्यापार गर्न खसहरू झर्थे । उनीहरूसँग मित्रताको गाँठो कसिन्थ्यो यो बजारमा । यारी अर्थात्, निकै गाढा साइनो । भावनात्मक नाता जोड्ने थलो । रैथानेहरू यसलाई खसियारी भन्थे ।

अहिले न यारी छ, न त खसहरू नै यता झर्छन् । हिमालबाट ओर्लिए पनि गिनेचुनेका मात्र । बजार नाफामुखी हुँदै छ । ‘खसियारी’ आधुनिकतातिर जति मोडिँदै छ, यारी उति टाढिँदै छ ।

त्यसैले पनि ‘खसियारी’ का सच्चिदानन्द चौबे, ८१, निकै उदास छन् । ‘दोस्तीयारी’ जोडिने सहरको सानो घरको बिछ्यौनामा नातिसँग अशक्त अवस्थामा भेटिए उनी । भन्छन्, “यारी जोड्ने ती दिन कहाँ गए ? बजारमा घिउको नदी बग्थ्यो । ७०/८० टिन घिउ तताउने ठूला भाँडा मेरै घरमा थिए । अब सबै बिरानो भयो ।”

सहरमा यारी जोड्नेभन्दा तोड्नेहरूको वर्चस्व छ अचेल । व्यापार गर्ने ऋतुको अर्को नाम पनि हो, खसियारी । मंसिरदेखि फागुनसम्मलाई खसियारी महिना पनि भनिन्थ्यो । ००७ सम्म हिउँदका यिनै ४ महिना व्यापार हुन्थ्यो । यही बजारमा ४३ वर्ष पढाएका हिन्दी साहित्य रत्नको उपाधिप्राप्त चौबे सम्झन्छन्, “बुबाले घरमा एउटा रेडियो र साइकल ल्याउँदा सुन्न र हेर्न आउनेको भीड लाग्थ्यो । ती दिन अहिले सपनाजस्तो लाग्छ ।”

त्यतिबेलाको बजारमा महाजनी स्कुल थिए । व्यापारको हिसाबकिताब राख्न सिकाइने पाठशाला हुन् ती । मुठिया भाषा र गणित दुई थरी पढाइ हुन्थ्यो । जीवित इतिहासमध्येका चौबे भन्छन्, “मेरै पसलमा चाँदीको पैसाले किनमेल हुन्थ्यो । नेपाली मुद्रा बिरलै देखिन्थ्यो । लडिया, एक्का र घोडाबाहेक सवारी साधन अरू थिएनन् । अहिले बाटो काट्न गाह्रो छ ।”

खसियारीका अनगन्ती रोचक तथ्य सुनाउन बिछ्यौनाबाटै टाउको उठाए उनले । बेलिबिस्तार लगाउँदै गए, “खसियारी बजारमा वर्षको ५ दिन खुलेआम जुवा खेल्न उर्दी जारी गर्थे श्री ३ ले । घर कुरिया, गहना, लरिका (छोरा) र मेहरिया (पत्नी) छाडेर जुवा खेल्न हुकुम हुन्थ्यो । अहिले बजारमा क्यासिनो खुलेका छन् ।”

खसियारीमा उनकै पालामा एक पाईमा धेरै सामान किन्न सकिन्थ्यो । दिनको मजदुरी २ पैसा थियो । अहिले ५ सयदेखि १ हजारसम्म छ । काले कम्पाउन्डर र डा त्रिवेणी बजारका कहलिएका चिकित्सक । तर खसियारीमा हैजा र मलेरिया फैलिएका बेला एक–दुई सय जनाको अकाल ज्यान जान्थ्यो । अहिले टोलैपिच्छे डाक्टर छन् । तर बिरामीले भरपर्दो सेवा पाउन नसक्दा सीमापारि जान्छन् । सुरक्षामा भने पहिलेजस्तै आन्तरिकभन्दा बाह्य चुनौती बढी छ । उनी भन्छन्, “००७ मा राजा त्रिभुवन दिल्ली शरणमा पुगेका बेला खसियारीमा भारतीय फौज राणा खोज्ने निहुँमा हतियारसहित घुसेको थियो । त्यो बेला धेरै राणाहरू भूमिगत भए । कतिपय भागे ।”

त्यो दृश्य अझै घुमिरहेको छ, चौबेको स्मृतिमा । लगत्तै मुख्य बजारको जुद्धशमशेरको सालिक ढालियो, त्रिभुवनको राखियो । ०६२ मा त्यो पनि ढालियो । अहिले राष्ट्रिय झन्डा फर्फराउँछ, त्रिभुवन र वीरेन्द्र चोकमा ।

दिनानुदिन खसियारी बदलिँदै छ । “मिर्मिरेमै भँगेरा–भँगेरीको चिरबिरचिरबिर सुनिनै छाडेको छ । न त अन्य पक्षीको गान नै सुनिन्छ । परेवा र ढुकुर घरका कोठाचोटा बस्थे । कोइलीको कुहुकुहुसँगै मयूर सप्तरंगी पंख फिजाउँदै नाच्थे, नजिकैका बगैँचामा । अब त स्यालको हुइयाँसमेत सुनिँदैन,” पारिलो घाममा कपास कात्दै गरेकी फुलटेक्रास्थित राजमहलकी बोधकुमारी राना, ८७, ले पहिलेको नेपालगन्ज सम्झिँदै थिइन् ।

४ बुर्जा, १२ कोठाको २ तले भव्य महल । भूमिगत तला पनि छ । बेलायतबाट ल्याइएका ग्रिलजडित घरमा सरिया छैनन् । लामा फलामे पातामा इँटा राखेर ढलान गरिएको छ । १९३४ मा लखनउका कारिगरले नवाबी शैलीमा निर्मित राजमहलको राज धेरैलाई थाहै छैन ।

तस्बिरहरू: जे पाण्डे


कुनै बेलाको झलमल्ल राजमहल खण्डहर बन्दो छ । १ सय ४० वर्ष बूढो भए पनि महलको शान बेग्लै छ । अरू घरसँग मेल खाँदैन । घरबारी टोलबाट महलमा भित्रिएकी राना अहिले चिन्तित देखिन्छिन् । भन्छिन्, “पुर्खाको नासो नास हुँदै छ । अब राजमहल चलचित्र निर्माणस्थल बनेको छ ।”

जीर्ण राजमहलजस्तै सीमित घर पनि उस्तै छन् । गर्मीको खानी हो खसियारी । बजारका ती घरहरू अहिलेका रेलका डिब्बाजस्ता देखिने र आधुनिक सिसमहलको तुलनामा फराकिला र चर्को घामले भित्री कोठा नतातिने खाले थिए । अब त्यो अवस्था रहेन । सानो खसियारी अहिले विशाल भइसक्यो । यो क्रममा धेरै संरक्षणयोग्य सम्पदा मेटिँदै छन् ।

००७ को क्रान्तिसँगै बागेश्वरी मन्दिर नजिकैको भुवनेश्वर खनालको ३ तले ८ कोठे महलको स्मृति मेटिँदै छ । सुर्कीचुना, बेल, मास मिसाएर बनाएको पिलरविहीन घरको देवल निकै मजबुत थियो । भूकम्पले बजारका अन्य घर भत्किँदासमेत यो सामान्य चर्केको मात्र थियो । ठूल्ठूला डकैती हुन्थे । सुरक्षा अवस्था कमजोर थियो । डाँकाहरूले सजिलै फोड्न नसक्ने बलिया र ठूला ढोका बनाइन्थे । अब त्यो युग हरायो । लिफ्टसहितको अत्याधुनिक ८ तले खनाल कम्प्लेक्स बनाउँदै गरेका भूवनेश्वरका नाति दिवाकर भन्छन्, “जीवनशैलीले काँचुली फेर्‍यो ।”

हजुरबाका पालासम्म गाउँ र बजारको साइनो नङमासुजस्तै थियो । गाउँले हुन् वा बजारिया, उत्तिकै आत्मीय । हिमाली क्षेत्र कर्णालीबाट हटारु र यहाँका जमिनदारदेखि ठूला व्यापारी भावनात्मक एव अन्तरंग सम्बन्धले गाँसिएका थिए । अतीतको गर्तमा पुरिइसके ती दिन । नाता–सम्बन्ध र मायाको मखमली रुमाल च्यातिँदै छ । अब कसैले कसैलाई चिन्दैन, चिन्नु आवश्यक ठान्दैनन् सायद । दिवाकर दिक्क छन् । भन्छन्, “विशाल गल्लामन्डी र धान–चामलका ठूला मिल हेर्दाहेर्दै विलीन भए । कुनै बेलाको विशाल गल्लामन्डी महानगरउन्मुख छ । एक छाक चामल सीमापारि गएर किन्नुपर्ने बाध्यता छ ।”

जमिन पनि तीव्र गतिमा खण्डीकृत हुँदै छ । बबरुबहान बस्नेत भन्छन्, “कोही बिरामी हुँदा होस् वा मृत्यु– बजारभरि सरोकार हुन्थ्यो । अहिले छिमेकी दु:खमा पर्दा वास्ता हुन छाड्यो ।”

घर, बस्ती, जग्गाजमिन र मित्रता मात्र चिरा परेको छैन, तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले बस्ती विस्तार गरेको ऐतिहासिक सहर नेपालगन्जको रहनसहन, संस्कृति, परम्परा र जीवनशैलीको अनुहारै फेरिँदो छ ।

अंग्रेजविरुद्धको विद्रोह दमन गर्न जंगबहादुर आफैँ सैनिक लिएर लखनउ पुगे, सन् १९५८ तिर । फर्किंदा खसियारी हुँदै आए । उनले लखनउकै शैलीमा सदरलाइन बस्ती बसाले । अहिले जंगेको मौलिक बस्तीको नाम निसानै मेटिएको छ सदरलाइनको, जुन बर्सादी बस्तीले परिचित थियो । घरका पेटीमाथिबाट छानोले शीतल र ओत दिन्थ्यो । घामपानीमा समेत छाताको खाँचो पर्दैनथ्यो । अहिले बर्सादी टोलमा निथ्रुक्क भिजेका बेला कठै ! भन्ने कोही भेटिँदैन । सय/दुई सयको खसियारीमा अहिले २ लाख ज्यादा बासिन्दा छन् ।

नेपालगन्ज बजार


संख्या जति बढ्दो छ, उति नै यारी घट्दो छ । निकै मुस्किल पर्छ यहाँ, मित्रता जोड्न र जोगाउन । कहिले बाहिरियाले खल्बल्याई दिन्छन् त कहिले भित्रियाले नै । नाका टोलको नाम धेरैले बिर्संदै छन् । खसियारी बजार प्रवेश गर्ने मूलद्वार भएकाले नाका टोल नाम राखिएको थियो । अहिलेको त्रिभुवन चोकमा पहिले भन्सार थियो । पहाडबाट घिउ बिक्री गर्न ल्याउँदा चोककै भन्सारमा लेखाउनुपथ्र्यो– कसको, कति टिन ? कसले, कतिमा किन्यो ? पहिलेको गोश्वारा अफिसको धेरै नाम फेरियो । पञ्चायत कालमा अञ्चलाधीश बस्थे, अहिले प्रजिअको कार्यालय छ ।

अरू परिवर्तनको त कुरै छाडौँ– पक्षीसमेत टाढिँदै छन् । विभिन्न प्रजातिका पक्षीको मनोहारी उडान दन्त्यकथा भइसक्यो । ठूला बाग–बगैँचाको विनाससँगै पक्षीको थातथलो उजाडियो । हरभरा बस्ती कंक्रिटको जंगलमा परिणत हुँदै गएपछि जीवचक्र नै उल्टो घुम्न थालेको छ । बगैँचाको बस्ती भनेर चिनिने सल्यानी र बाँकेबागमा बगैँचा परै जाओस्, फूलका बोट बिरलै देखिन्छन् । बजारमा चिडिमार छन् चराचुरुंगी छैनन् । धोबी छन्, घाट पुरिँदै छन् ।

प्राचीन मौलिकता झल्काउने कुनै पनि वस्तुको स्मृतिचिह्नसमेत नरहने स्थिति छ । नेपालगन्जको सीमावर्ती बस्ती जयशपुर कुनै बेला अहिलेको कर्णाली प्रदेशका बासिन्दाको किनमेलको अर्को केन्द्र थियो । त्यहाँ अहिले कर्णालीको कुनै व्यक्ति भेटिँदैन । न त्यहाँ कुनै व्यापारिक मन्डी छ, न त त्यसको कुनै अवशेष नै ।

त्रिभुवन चोक पहिलेजस्तो छैन । पहाडी किसानका डोकोमा आउने घिउ खरिद–बिक्री हुन्थ्यो । दुई दशक अघिसम्म घिउ तताउने ठूला–ठूला फलामे कराही देखिन्थे । भारतीय सैनिकलाई नेपालगन्जबाटै घिउ पठाइन्थ्यो । सीमास्थित रुपैडिहासम्मको रेल लाइन घिउ र काठ ढुवानीकै लागि विस्तार गरिएको थियो । अहिले चोकबाट शुद्ध घिउको मगमग भागिसक्यो । काठसमेत भारतबाट आउँछ बजारमा ।

लडिया गुड्न नसक्ने बजारमा ४ लेनसम्मका फराकिला सडक बनेपछि टाँगा चालक रसिद राईको व्यवसाय र आम्दानीको दायरा चाउरिएको त छ नै, एक्का र टाँगा व्यवसाय नै लोपोन्मुख भयो । प्रतिस्पर्धा गर्नै नसक्ने भएपछि घोडा पाल्न छाडे धेरैले । ३० /४० वर्षदेखि व्यवसाय गर्नेहरू भेटिन्छन् अझै । कम लगानीमै धेरैलाई रोजगारी दिएको टाँगा व्यवसाय खासगरी गरिबको बाँच्ने टेको थियो । यातायात साधनका रूपमा टाँगा छँदै थियो, मौलिक साधन र मानव सभ्यताको परिचायक पनि थियो । यो पनि बिस्तारै हराउँदै छ ।

बाउबाजेका पालादेखि टाँगा चलाउँदै आएका रसिद भन्छन्, “नेपालगन्जले मौलिकता गुमाउँदै छ । पुरानो दोस्ती होस् वा व्यवसाय, सम्झनामा मात्र छ । व्यवहारमा सबै तोडिँदै छन् । मानिसमा संवेदना हराउँदै गएको छ । अचेल कतिपय मलामीसमेत दाहसंस्कार नहुँदै राप्ती नदी तटीय भट्टीमा लठ्ठिएको देखिन्छ ।”

यो पनि पढ्नुहोस् :

सहर चिनौँ–१ → पाटनसँग बौद्ध धर्मको ऐतिहासिक साइनो, तर पहिचानमै संकट

 

प्रकाशित: माघ ७, २०७५

ट्याग: सहर