भिखारीमुक्त सहर

- सुरेश किरण

राजधानीका सम्पूर्ण भिखारीलाई जरुरी सूचना : अब उप्रान्त काठमाडौँका कुनै पनि सडक, गल्ली, मठमन्दिर, वहाल, चोक, चौतारी, पार्क, पुल आदिजस्ता सार्वजनिक स्थानमा बसेर माग्न पाइने छैन ।

यो सूचना जारी गर्दै प्रहरीले धमाधम भिखारीहरुलाई समाउँदै लैजान पनि थालेको छ । अब सायद काठमाडौँलाई पूरै भिखारीमुक्त सहर बनाउने सरकारको तयारी होला । त्यही तयारीका क्रममा यस्तो सूचना पनि आएको होला ।

सरकारको यो तयारी सुरु भएलगत्तै एउटा वरिष्ठ भिखारीले मेरासामु आक्रोश प्रकट गरे, “अब यो साला सहर भिख माग्नका लागि पनि काम नलाग्ने भएछ ।”

मैले सोधेँ, “किन ?” “सरकारले भिखारीलाई समाउन खोजेकाले ?”

भिखारीले भने, “होइन । काठमाडौँमा अहिले भिख दिन सक्ने मान्छे नै हराइसके भन्दा हुन्छ । काठमाडौँका जनताको हालत यति खत्तम भइसक्यो कि अब उनीहरु भिख दिन सक्ने अवस्थामै छैनन् ।”

काठमाडौँली जनताको आर्थिक विश्लेषण एउटा भिखारीबाट भएको देखेर म चकित भएँ । मैले सोधेँ, “तपाईं के आधारमा यो भन्दै हुनुहुन्छ ? काठमाडौँमा भिख दिनेहरु त अझै देखिरहेको छु म ।”

“तिनीहरु या त भ्रष्टाचारी हुनुपर्छ, कि तस्कर । अरुले भिख दिन सक्दैनन्,” भिखारीले आफ्नो तर्क अघि सारे, “सरकारले हरेक वर्ष कर बढाइरहेको छ । त्यो कर तिर्दातिर्दा अब जनतासँग भिख दिनलाई पनि पैसा छैन । यस्तो अवस्थामा सरकारले नहटाए पनि भिखारी आफैँ हटेर जाने निश्चित छ । भिखै नदिने ठाउँमा को भिखारी बसिरहोस् !”

प्रकाशित: माघ ४, २०७५

ट्याग: परिहास