गुट चिन्ने उपाय

- सुरेश किरण

राजनीतिमा को कतापट्टि छ, कसको कोसँग सम्बन्ध छ, कोसँग कति साँठगाँठ छ भन्न सजिलो छैन । मुखले नबोलेसम्म उनीहरु आबद्ध पार्टी पत्ता लगाउन गाह्रो छ । पार्टी पत्ता लागिहाले पनि गुट पत्ता लगाउन त झनै गाह्रो छ ।

यस्तो परिस्थितिमा कुन मान्छे कतातिर छ भनेर पत्ता लगाउने एउटा उपाय निकालेको छु । त्यसअनुसार गयो भने ठ्याक्कै पत्ता लाग्छ । यसका लागि एउटा काम गर्नुपर्छ । कुनै मानिसलाई गएर तपाईं सोध्नुस्, ‘हजुरले सरकार देख्नुभएको छ ?’ यसको जवाफको आधारमा उनको पार्टी वा गुट पत्ता लगाउन सकिन्छ ।

‘हजुरले सरकार देख्नुभएको छ ?’ भन्ने प्रश्नको उत्तरमा यदि उनले ‘छ छ, देखेको छु’ भने भने बुझ्नुस्, त्यो नेकपा समर्थक हो । ‘अहँ, मैले त देखेको छैन’ भन्यो भने बुझ्नुस्, त्यो कांग्रेस हो । यसो नभई मानिसको उत्तर अरु पनि हुन सक्छ । जस्तो, ‘पहिले देखेको हो, अहिले देखेको छैन,’ यस्तो उत्तर आयो भने बुझ्नुस्, त्यो नेकपाभित्र पनि वामदेव गौतम पक्षधर हो । ‘देखेकै छैन त भन्नुभएन, झल्याकझुलुकचाहिँ देख्छु’, यस्तो जवाफ दिने माधव नेपाल पक्षधर हुन सक्छ । ‘यो देशमा सरकारबाहेक अरु केही देखेको छैन,’ खड्ग ओली पक्षधर परे भने यस्तो जवाफ आउन सक्छ । ‘विपनामा त भन्न सकिन्न, सपनामा चाहिँ खुबै देख्ने गर्छु,’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर कार्यकर्ताको जवाफ यस्तो हुन सक्छ । ‘सरकार देखेँ कि देखिनँ, अझै ठीकसँग भन्न सकिरहेको छैन, अलिकति बुझ्नैपर्छ,’ झलनाथ खनाल पक्षधर कार्यकर्ताको जवाफ यस्तो हुन सक्छ । ‘देउवाले हामीलाई पेले कि देख्छु, पेलेनन् भने देख्दिनँ,’ कांग्रेसभित्र पनि रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताको जवाफ यस्तो आउन सक्छ ।

प्रयास गर्नुस् । यसबाट मान्छेको पार्टी मात्र होइन, गुटसमेत पत्ता लागेन भने मलाई भन्नुस् ।

प्रकाशित: माघ ४, २०७५

ट्याग: परिहास