सर्जिकल स्ट्राइकको कथा

फिल्म : उरी | रेटिङ : ३/५

- गोकर्ण गौतम

पाकिस्तानका आतंकवादीले भारत प्रशासित जम्बु एन्ड कस्मिरको उरी बेस क्याम्पमा आक्रमण गर्दा १९ सैनिकको ज्यान गयो, १८ सेप्टेम्बर २०१६ मा । त्यसको ११ दिनपछि भारतीय सैनिक पाकिस्तान छिरे र त्यहाँका आतंकवादी आधार क्षेत्रमा हमला गरे । ५० आतंककारी मारिए । भारतीय सेनातर्फ कुनै नोक्सान भएन । अति गोप्य शैलीमा गरिएको यो आक्रमणलाई ‘सर्जिकल स्ट्राइक’ नाम दिइयो । यही घटनामाथि बलिउडमा फिल्म बनेको छ, उरी : सर्जिकल स्ट्राइक । आदित्य धर निर्देशित यो फिल्म भारतीय सेनाको साहस र देशप्रेमको दस्तावेजझैँ लाग्छ, जसको पृष्ठभूमिमा छ, सर्जिकल स्ट्राइक । भारत–पाक सम्बन्धमाथि बन्ने अधिकांश फिल्मजस्तै यसलाई ‘प्रोपागान्डा’ मात्र सीमित  गरिएको छैन । राष्ट्रप्रति समर्पित एक सैनिक जवानको मन छुने कथा पनि देख्न पाइन्छ । सबैभन्दा प्रशंसाको हकदार हुन्, अभिनेता विक्की कौशल ।

भारतीय सेनाका बहादुर मेजर विहानसिंह (विक्की कौशल) की आमालाई अल्जाइमर्स हुन्छ । त्यसैले ‘लाइन अफ कन्ट्रोल’ को संवेदनशील क्षेत्र छोडेर दिल्लीमा खटिन्छन्, आमाको रेखदेख गर्न पाइयोस् भनेर । तर एक्कासि आतंककारीले उरीमा आक्रमण गर्छन्, जसमा विहानसिंहका साथी र बहिनी ज्वाईं क्याप्टेन करण (मोहित रैना) मारिन्छन् । जवाफमा भारत सरकारले सर्जिकल स्ट्राइक गर्ने निर्णय गर्छ । यही योजनाको नेतृत्वको जिम्मेवारी पाउँछन्, विहानसिंहले । उनको टोली कसरी सीमा पार गरेर आतंककारीलाई नष्ट गर्छ र सकुशल स्वदेश फर्कन्छ भन्नेमा फिल्म केन्द्रित छ ।

पाकिस्तानी भूमिमा भारतले गरेको सर्जिकल स्ट्राइकले संसारभर चर्चा पायो । कतिले विरोध गरे, कतिले सहमति जनाए । भारतभित्रै पनि यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो सफलताको रुपमा हेरियो तर यसको योजना कसरी बनेको थियो, त्यति गोप्य राख्न सरकार र सैनिक कसरी सफल भएजस्ता सवाल अनुत्तरित थिए । लेखकसमेत रहेका निर्देशक आदित्य धरले यी प्रश्नका जवाफ धेरै हदसम्म दिएका छन् । सर्जिकल स्ट्राइकमा सहभागी हुने मेजर विहानसिंहको चरित्र मजबुत लाग्छ । उनको पारिवारिक समस्या र राष्ट्रभक्तिलाई अतिरञ्जित होइन, व्यावहारिक ढंगले चित्रण गरिएको छ । सोही कारण सुरुआतबाटै दर्शक ‘इन्गेज’ हुन्छन् ।

सन्देह छैन, भारत र पाकिस्तानको खुफिया एजेन्सीभित्र एकअर्काका एजेन्ट छन् । उनीहरुले नै सूचना चुहाउँछन् । यो यथार्थलाई चलाखीपूर्ण ढंगले पटकथामा बुनिएको छ । तर भारतलाई सूचना दिने पाकिस्तानी एजेन्ट देखाइएको पहिलो दृश्यमा निर्देशकको अपरिपक्वता झल्कन्छ । त्यसैगरी, क्लाइमेक्समा विहानसिंहको टोलीको आक्रमणलाई मात्र देखाइन्छ, बाँकी तीन समूहलाई पूरापूर बेवास्ता गरिएको छ । सर्जिकल स्ट्राइकका लागि उडेको एउटा हेलिकप्टरबीचबाटै फर्कनुपर्छ, जसले पाकिस्तानको सैन्य शक्ति कमजोर छैन भन्ने छनक दिन्छ । उता, भारतीय सेना, सरकार र खुफिया एजेन्सीबीचको समन्वय, टकराव र द्वन्द्वलाई पनि बेवास्ता गरिएको छैन । यो फिल्मलाई उरी हमलामा मारिएका सैनिक जवानप्रतिको ‘ट्रिब्युट’ भन्न सकिन्छ । तर राष्ट्रवाद बेच्ने नाममा कथा र प्रस्तुतिमा खेलाची गरिएको छैन । हरेक ‘फ्रेम’ मा मिहिनेत देखिन्छ ।

उरीमा मेजरका रुपमा अनुबन्ध भएपछि विक्की कौशलले पाँच महिना कठोर सैन्य तालिम लिएका थिए । शरीरको वजन बढाए । बन्दुक चलाउने छुट्टै तालिम लिए । सोही कारण हुनुपर्छ, पर्दामा उनी जीवन्त लाग्छन् । विक्कीको करिअरकै कोसेढुंगा साबित हुन सक्छ यो फिल्म । प्रधानमन्त्री मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको भूमिकामा परेश रावल सशक्त लाग्छन् । यमी गौतमले खुफिया एजेन्टको चरित्रलाई आत्मसात गरेकी छन् । भारतीय सैनिकका रुपमा देखा परेका हरेक कलाकारलाई ‘ट्रेन्ड’ लाग्छन् । ‘मै लड जाना...’ गीतलाई कथावाचनमै प्रयोग गरिएको छ । पहिलो फिल्ममा संवेदनशील विषय रोजे पनि आदित्य धरले त्यसको सफल अवतरण गरेका छन् ।

सर्जिकल स्ट्राइकका बारेमा जान्न चाहने र एक्सन–थ्रिलरका पारखीलाई उरीले निराश पार्दैन । फिल्म हेरेपछि जोकोही विक्कीको फ्यान हुन्छन् ।

प्रकाशित: माघ ४, २०७५