साइपाल घुमेर

- वसन्तप्रताप सिंह

बझाङ– ‘इट्स इनक्रेडिबल ब्युटीफुल बट मोस्ट टेक्निकल’, गत कात्तिकमा लगातार १४ दिने प्रयासपछि साइपाल हिमाल आरोहण गर्न असफल स्पेनी आरोही जर्ज इगोचेएगाले सुनाए, ‘इट इज च्यालेन्ज फर द वल्र्ड ।’ जर्ज संसारका आठ हजार मिटरभन्दा बढी उचाइका सबै १४ हिमाल चढेका कीर्तिमानी हुन् ।

जर्जसँगै साइपाल पुगेका स्पेन, अमेरिका, इटाली, क्यानडा आदि देशका आरोही सफल हुन नसके पनि यस क्षेत्रको सुन्दरताले नलठ्ठिइरहन सकेनन् । “यहाँको सुन्दरता शब्दमा बयान गर्न सकिँदैन,” चिकित्सकसमेत रहेका स्पेनकै आरोही जेफ हवेन भन्छन्, “यतिचाहिँ ढुक्कले भन्न सकिन्छ– यति सुन्दर हिमाल विश्वमा कमै होलान् ।”

साइपाल हिमाल आरोहणका दृष्टिले धेरै कठिन भए पनि यसको आकर्षक बनावट जोकोहीलाई मन्त्रमुग्ध पार्ने खालको छ । आधारशिविरसम्म पुग्ने मार्गमा रहेका झरना, तालतलैया तथा नदीनाला, रंगिबिरंगी फूलले ढाकेका पाटन र भौगोलिक तथा जैविक विविधताको अनुपम संयोजनले यो क्षेत्र आरोहीका लागि मात्र नभएर पदयात्रीका लागिसमेत नौलो अनुभव दिलाउने खालको छ ।

साइपाल हिमशृंखलाले नेपालका अन्य हिमशृंखलाभन्दा करिब ४७ किलोमिटर वर दक्षिण पश्चिम फैलँदै नेपालकै हुम्ला र बझाङको सिमानाको काम गरेको छ । स्थानीयले साइपाल र आसपासका चुचुरामा लाँगा, वाँठपाला, भवानीलगायतका देवीदेवताको वासस्थान रहेको विश्वाससाथ भक्तिपूर्वक पूजाआजासमेत गर्छन् ।

बझाङ सदरमुकाम चैनपुरबाट १८ किलोमिटर जिपको यात्रापछि लगातार चौथो या पाँचौँ दिनको पैदल यात्रामा साइपाल हिमालको आधारशिविरसम्म पुग्न सकिन्छ । सेती नदीको किनारैकिनार साइपाल गाउँपालिकाको धलौनसम्म पुगेपछि समुद्र सतहदेखि ३ हजार ३ सय मिटरको उचाइमा रहेको रस्यालेक पार गर्नुपर्छ । त्यहाँबाट २ घन्टाको ओरालो झरेपछि सेतीको मुख्य सहायक नदी घाटगंगाको किनारैकिनार साइपाल बेसक्याम्पसम्म पुग्न सकिन्छ ।

आधारशिविरबाट आँखैअगाडि साइपाल हिमाल र यो शृंखलामा रहेका दर्जनौँ साना चुचुरा अवलोकन गर्न पाइन्छ । यस शृंखलामा भुजेडी, राइढुंगी, माँजा, रानीसैना, मडुङग्रालगायतका एक दर्जनभन्दा बढी सानाठूला चुचुरा छन् ।

उचाइका हिसाबले पनि धेरै नभएको र बाटो निकै सजिलो भएका कारण यो क्षेत्र आरोहीका लागि मात्र नभएर भ्रमणको आनन्द लिन चाहने जोकोहीका लागि आकर्षक गन्तव्य हुन सक्छ । जिल्लाकै आकर्षक झरनामध्येको एक ढाँकीछडा झरना पनि यही बाटोमा पर्छ । यसबाहेक किनाडा, दोतले, औलागाड झरना पनि यही पदयात्रा मार्गमा छन् ।

डाँफे, मुनालजस्ता चराचुरुंगी तथा नाउर र झारलका बथानको प्रत्यक्ष अवलोकन गर्ने मौका यो बाटो हिँड्नेले सजिलै पाउँछन् । हिमाली क्षेत्रमा पाइने विभिन्न खालका जडीबुटी र वनस्पतिले पनि यो यात्रालाई थप रोमाञ्चक बनाउँछ । हिमाली जनजीवन, देउडा सँस्कृति र यहाँको प्रकृतिसमेत जोडेर साइपाल सर्किट (पदयात्रा मार्ग) को विकास गर्न सके यो सुदूरपश्चिमको समृद्धिको आधार बन्ने निश्चित छ ।

आठ हजार मिटरभन्दा माथिका सबै हिमाल चढिसकेकी छन्, संसारकी प्रथम महिला स्पेनकै एडुर्ने पासावन । २८ पटकभन्दा बढी नेपाल आए पनि पहिलो पटक साइपाल क्षेत्रमा पुग्दा यहाँको वातावरणले लोभ्याएको बताउँछिन् । “अन्त कतै नभएको प्राकृतिक सुन्दरता यहाँ भेटेँ,” उनी भन्छिन्, “यहाँका स्थानीयको खेतीपाती लगाउने परम्परागत तरिका, लवाइखवाइ, आत्मीयताले मलाई यो क्षेत्र खास नेपालजस्तो लाग्यो ।”

पाँच पटकभन्दा बढी साइपाल आधारशिविर र आसपासका ठाउँको यात्रा गरिसके, रारा फिल्मस्का प्रमुख भोजराज भाटले । साइपाल हिमाल आरोहणको कथालाई आधार बनाएर डकुमेन्ट्री फिल्म निर्माण गरिरहेका उनी साइपाल हिमाल र यहाँसम्म पुग्ने पदमार्गको सुन्दरता विश्वजगत्लाई पुलकित पार्ने खालको रहेको बताउँछन् । भन्छन्, “साइपाल लुकेको सुनको टुक्रा हो । यसको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके विश्वभरका पर्यटकको आकर्षण केन्द्र बन्नेमा शंकै छैन ।” सम्भावना हुँदाहुँदै पनि सरकारी क्षेत्रको उपेक्षा भएको उनको भनाइ छ ।

प्रदेश सरकारले भने यसलाई उच्च प्राथमिकतामा राखेको बताएको छ । सुदूरपश्चिम प्रदेशकी उद्योग, वन तथा पर्यटनमन्त्री माया भट्ट साइपाल प्रवद्र्धनका लागि बृहत् योजना ल्याउने तयारीमा रहेको बताउँछिन् । भन्छिन्, “साइपाल यस प्रदेशको मात्र नभएर देशकै ठूलो गन्तव्य हुने सम्भावना भएको हिमाल हो ।”

पर्यटक लोभ्याउने सुन्दर र मायावी शक्तियुक्त साइपाल हिमाल आरोहणका लागि भने निकै कठिन भएको आरोही जर्जले बताइरहँदा स्पेनी महिला आरोही एडुर्ने पासावन सही थाप्दै थिइन्, “दक्षिणी मोहडाबाट साइपाल आरोहण असम्भवै छ भनेर त भन्दिनँ । तर यो काम धेरैको वशभन्दा बाहिर छ ।” साइपाल आफूले चढेका सबै हिमालभन्दा कठिन भएको पाएको उनको अनुभव छ ।

उनको आरोहण दलमा १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पासहितका ५ अनुभवी शेर्पा र अन्य १० विदेशी आरोही थिए । ७ हजार ३१ मिटर अग्लो यो हिमालको दक्षिणी मोहडाबाट आरोहणको असफल प्रयास गर्ने यो टोली पहिलो भने होइन । गत कात्तिकमै अमेरिकी नागरिक र्फोरेस्ट सी कोट्स नेतृत्वको टोलीले पनि साइपाल आरोहण गर्न नसकी फर्किएको थियो । आरोहण दलका सदस्यमध्ये ट्यालेर जोन र वेनार्ड स्ट्राग्लेवस्की ६ हजार ७ सय मिटरसम्म पुगेका थिए । यो टोलीले २५ दिनसम्म साइपाल चढ्ने प्रयास गरेको थियो ।

सन् १९५३ मै अस्ट्रियन नागरिक हर्बट टीचीले पहिलो पटक दक्षिणी मोहडा (बझाङतिर) बाट साइपाल चढ्ने पहिलो प्रयास गरेका थिए । १९५४ मा अस्ट्रियाकै रुडल्फ जोनासले पनि साइपाल आरोहणको असफल प्रयास गरेका थिए । उनका टिम सदस्य कार्ल रेइसले आरोहण प्रयासमा ज्यानसमेत गुमाउनुपर्‍यो । सन् २०१० मा फ्रान्सेली आरोही पाउलो ग्रोबरले उत्तरी मोहडाबाट चढ्ने प्रयास गरे पनि प्रतिकूल मौसमका कारण सफल हुन सकेनन् । ६ हजार ५ सय मिटरको सानो चुचुरोबाट फोटोग्राफी गरेर फर्किए । अहिलेसम्म साइपालको सबैभन्दा उचाइबाट लिइएको भनेर इन्टरनेटमा भेटिने तस्बिर पाउलो ग्रोबरकै टिमले खिचेको हो ।

विदेशी पर्वतारोहीको व्यक्तिगत रेकर्डमा साइपाल हिमाल उत्तरी मोहडाबाट जापानका कात्सुतोसी हिराबासी र नेपाली शेर्पा पासाङ फुतुरले २१ अक्टुबर १९६३ मा सफल आरोहण गरेको तथ्य इन्टरनेटमा भेटिन्छन् । यद्यपि, नेपाल सरकारसँग यसको कुनै आधिकारिक तथ्यांक छैन ।

“साइपाल हिमालको बनावट एकदमै कठिन खालको छ,” पेछोम्बे शेर्पा भन्छन्, “६० डिग्रीभन्दा बढी भिरालोपन रहेको यो हिमाल चढ्न निकै ठूलो जोखिम छ ।” निरन्तरजसो बगिरहने वेगवान हावा र अप्रत्यासित मौसमको बदलीले पनि साइपाल हिमाल आरोहणलाई थप चुनौतीपूर्ण बनाएको उनको निष्कर्ष छ ।

शब्द/तस्बिर : वसन्तप्रताप सिंह

प्रकाशित: माघ ४, २०७५

ट्याग: दृश्य