महाराजको व्यञ्जन : बडाहाकिमको गाली

- यज्ञप्रसाद आचार्य

 विसं २००६ हिउँदको घटना । उबेला अहिलेजस्तो सडक सुविधा थिएन । एसएलसी दिन धरानबाट भारतको जोगबनी हुँदै रक्सौलसम्म भारतका विभिन्न स्थानबाट रेल यात्रा पार गर्दै वीरगन्ज जानुपथ्र्यो । परीक्षा केन्द्र तोकिएको थियो, वीरगन्जस्थित जुद्धोदय हाई स्कुल । त्यो स्कुलका प्रधानाध्यापक मदनमणि दीक्षित थिए । त्यतिबेला काठमाडौँ उपत्यकाभित्र अर्थात् नेपालमा पढ्नेलाई काठमाडौँमा र उपत्यकाबाहिरकाले एउटा मात्र केन्द्र वीरगन्ज गएर परीक्षा दिनुपथ्र्यो ।

धरान पब्लिक हाई स्कुलबाट परीक्षा दिने हामी सात जना मात्र थियौँ । इलाम, विराटनगर, धनकुटा, बुटवल, वीरगन्ज र पाल्पाका गरी ३०/३२ जनाजति विद्यार्थी थियौँ । उपत्यकाबाहिरबाट वीरगन्जमा परीक्षा दिन गएका हामी मारवाडी समुदायको धर्मशालामा बस्यौँ । पहिलो दिन साथीहरुले महाराजले बोलाएको छ भन्दा त म छक्कै परेँ, राणा प्रधानमत्री मोहनशमशेर राणा वीरगन्ज आइपुगेछन् भनेर ! मलाई उनले किन बोलाएछन् भन्ने गुन्दै अरु साथीहरुसँगै भान्साघरमा पुगेँ । मैले खाना पकाउनेलाई महाराज भन्ने गरेको पहिलो पटक त्यही सुनेको थिएँ । मारवाडी भान्छेलाई महाराज भनिँदो रहेछ ।

राणा शासक जातभात र धर्मकर्ममा असाध्यै कडा । वीरगन्जमा पनि यस्तै घटना बेहोर्नुपर्‍यो, हामीले । त्यतिबेला वीरगन्जका बडाहाकिम थिए, सोमशमशेर जबरा । बडाहाकिमले एसएलसी दिन आएका विद्यार्थीले कहाँ खान्छन्, कसले पकाउँछ, कहाँ बस्छन् भनेर सोधीखोजी गर्दा रहेछन् । उनका सुराकीले धर्मशालामा महाराजले पकाएको खानेकुरा खान्छन् भनेर उजुरी गरेछ । त्यसपछि बडाहाकिमले प्रहरी पठाए । हामीलाई उनको निवास लगियो । उनले हामीलाई निकै हपारे । मेरो कन्पारो तातेर आयो । मैले सोमशमशेरलाई जवाफ दिएँ, “बडाहाकिम साब हामी बाध्यताका कारण धर्मशालामा बसेका हौँ । खाना पनि महाराजले नै बनाएको खाएका छौँ । हजुरले अन्त कतै बस्ने व्यवस्था मिलाइदिनुहुन्छ भने ब्राह्मणले पकाएको खान पनि तयार छौँ ।”

मलाई बडाहाकिमसँग बोल्न कुनै धक लाग्दैनथ्यो । यसअघि ००५ मा धरानकै पब्लिक हाई स्कूलमा हिरालाल र तुलाराम विश्वकर्मा दाजुभाइबारे प्रतिवाद गरेको थिएँ । अनि त मलाई सोमशमशेरसँग केको डर ! मेरो कुरा सुनेपछि बडाहाकिमसँगै रहेका सहायक बडाहाकिम शम्भुप्रसाद ज्ञवालीले बडाहाकिम सोमशमशेरसँग बिस्तारै केही कुरा गरेजस्तो लाग्यो । शम्भुप्रसाद त्यतिबेला वीरगन्ज केन्द्रको एसएलसी परीक्षा नियन्त्रक (सुपरिटेन्डेन्ट) पनि थिए । उनी ०२७/२८ मा राजा महेन्द्रको आदेशबमोजिम बहुदलीय पञ्चायतको संविधानको मस्यौदा गर्ने न्याय, कानुनमन्त्री भए । तर राजा महेन्द्रको निधनपछि त्यो लागू भएन । दुवै जनाले एकआपसमा कुरो गरेपछि सोमशमशेरले हामीहरुलाई भने, “लौ, यी त कांग्रेसी सिल्लड पो रहेछन्, जाओ फटाहाहरु यहाँबाट ।”

राणा शासक त्यतिबेला कांग्रेसप्रति आक्रामक हुनुको कारणचाहिँ उनीहरुको शासन बिस्तारै मक्किँदै थियो । टंकप्रसाद आचार्य, मातृका र बीपी कोइरालाको नेतृत्वमा कांग्रेसले राणा शासन हटाएर प्रजातन्त्र ल्याउन आन्दोलन गरिरहेकै थियो । कोही जेलमा थिए, कोही नेपाल र भारतबाट लडिरहेका थिए । त्यसकारण युवा, विद्यार्थी र पढेलेखेका मान्छे जसलाई देखे पनि राणाका प्रतिनिधि बडाहाकिमले कांग्रेसको बिल्ला भिराइहाल्थे ।

बडाहाकिमको निवासबाट फर्किएको भोलिपल्ट नै एसएलसी सुरु भयो । त्यतिबेला गोग्राह हाई स्कुल, विराटनगरका विद्यार्थी जगतमोहन अधिकारी (मनमोहन अधिकारीका भाइ) हामीसँगै एसएलसी दिन वीरगन्ज आएका थिए । परीक्षाचाहिँ नेपाली माध्यममा हुने गथ्र्यो । त्यसबेला विराटनगरमा बढीजसो बोलीचाली, लेखाइ, पढाइ सबै हिन्दीमा हुन्थ्यो । उनी नेपाली भाषामा कमजोर रहेछन् । विद्यालय टपर भए पनि त्यस वर्षको एसएलसीमा नेपाली विषयमा अनुत्तीर्ण भए । पछि ००७ मा पूरक परीक्षा दिएर पास गरे । उनै जगतमोहन त्रिभुवन विश्वविद्यालयको उपकुलपतिसमेत भए, ०२६ मा ।

पाल्पा हाई स्कुलबाट परीक्षा दिन आएका पीताम्बरध्वज खाती पनि हामीसँगै धर्मशाला बस्थे । पढाइमा अब्बलै थिए । अंग्रेजी विषयको परीक्षा दिएर सबै विद्यार्थी धर्मशाला फर्कियौँ । खातीले आफ्नो नाडीमा लगाएको घडी फुकालेर भुइँमा राखेर इँटाले हिर्काए । मैले यसबारे सोधीखोजी गरेँ । उनले दु:ख मनाउको भाषामा भने, “यही घडीले गर्दा मेरो अंग्रेजी विषयको परीक्षा बिग्रियो ।”

इँटा बर्साउनुको कारणचाहिँ परीक्षा दिँदा उनको घडी बन्द भएछ । घडी हेर्दा समय जहाँको तहीँ हुने । समय जति पनि बाँकी छ भन्दै बिस्तारै लेख्दा रहेछन् । त्यसैबेला परीक्षा सकिएको घन्टी बजिहाल्यो । फसाद पर्‍यो । ७ मध्ये ३ वटा प्रश्नको मात्र उत्तर लेखेछन् । यसरी उनको पनि त्यस वर्षको परीक्षा बिग्रियो । अर्को वर्ष मात्रै मौका परीक्षामा पास गरे । खाती बीए सकाएपछि राजनीतिमा लागे । उनलाई राजा वीरेन्द्रले प्रधानमन्त्री कीर्तिनिधि विष्टको मन्त्रिमण्डलमा उद्योग, वाणिज्यमन्त्रीसमेत नियुक्त गरे, ०३१ मा । यसरी हामीसँगै एसएलसी दिनेमध्ये कालान्तरमा कोही ठूला सरकारी ओहोदाधारी र कोही मन्त्रीसमेत हुन सके ।

प्रस्तुति : गोकुल अर्याल 

प्रकाशित: माघ ४, २०७५

ट्याग: स्मरण