देउवाको छाया सरकार

- सुरेश किरण

अन्तत: सभापति शेरबहादुर देउवाले छाया सरकारमै चित्त बुझाउने भएका छन् । पहिलेजस्तो अहिले सुत्केरीको औषधी खुवाएर सांसद हातमा लिन सकिने अवस्था छैन । त्यही भएर पूर्ण सरकार बनाउने त सम्भवै भएन । सम्भव भएको छाया सरकार मात्रै हो । त्यसमाथि राजनीतिमै छायामा परेको नेताले बनाउने भनेको छाया सरकारै त हो नि ।

छाया सरकार बनाउन सजिलो पनि छ । किनभने, यो सरकारले सदनमा बहुमत देखाइरहनु पर्दैन । होइन भने देउवाका लागि त्यही पनि सम्भव नहुन सक्छ । उनी सरकारमा भएकै बेला पनि बहुमत त पुग्छ तर देखाउनलाई पुग्दैन । त्यसैले उनका लागि त्यस्तो सरकार मात्र काम लाग्छ, जसमा बहुमत देखाइरहनु पर्दैन । देउवालाई बहुमतबिनाको सरकार मात्रै ठिक्क छ ।

अर्को कुरा, यो सरकार ढल्दैन । टिकाउ हुन्छ । टिकाउको हिसाबले हेर्ने हो भने बहुमतवाला सरकारभन्दा यो सरकार बलियो हुन्छ । तर सरकार बलियो भए पनि यसले कुनै कुराको जिम्मेवारी लिनुपर्दैन । यो एउटा पूरै गैरजिम्मेवार सरकार हो । देउवालाई यस्तै सरकार मात्र उपयुक्त हुन्छ । बहुमतवाला सरकारको त विपक्षी हुन्छ । तर छाया सरकारको विपक्षी पनि हुँदैन । त्यसैले कसैप्रति जवाफदेही पनि हुनुपर्दैन । देउवालाई चाहिने पनि यस्तै सरकार हो । अत: हामी आशा गर्न सक्छौँ, छाया प्रधानमन्त्री देउवाले अरु नचलाए पनि छाया सरकारचाहिँ सशक्त ढंगले चलाउनेछन् । एक थान अग्रिम बधाइ दिँदा केही बिग्रन्छ र ?

प्रकाशित: माघ ३, २०७५

ट्याग: परिहास