नेकपा (भारुण्ड)

- राजकुमार बानियाँ

ठट्टा नै सही, प्रधानमन्त्री केपी ओलीले १ पुसमा नेपाल कानुन व्यवसायी संगठन घोषणासभामा भनेछन्, ‘संविधानले दिँदैन, नत्र दुई जना मिलेर प्रधानमन्त्री भई देश चलाउँथ्यौँ ।’ जतिसुकै होहल्ला भए पनि दुई प्रधानमन्त्री भएर मुलुक चलाउने कुरा ओलीका लागि सामान्य हो, किनभने उनको पार्टी नेकपामै दुई अध्यक्ष बहाल छन् । उनको दुईटाउके दर्शनले एक पौराणिक लोककथाको सम्झना हुन्छ ।

भारुण्ड नामक चराको पेट एउटै थियो, टाउको दुइटा । एक दिन समुद्र किनारमा टहलिरहँदा अमृत–फल भेटियो । एउटा टाउकाले आधा आफू खायो, बक्यौता प्रियतमालाई दियो । बदलामा प्रियतमाको मीठो चुम्बन पायो । त्यो देखेर अर्को टाउकोले चर्को असन्तुष्टि जनायो । जसले खाए पनि आखिर पेट एउटै हो भनेर चित्त बुझाउन खोज्यो खाने टाउकाले । अर्को दिन समुद्रमा विष–फल भेटियो । आफ्नो अपमान सम्झेर अर्को टाउकाले त्यसलाई एक्लै खाइदियो । अन्तत: त्यो अद्भुत भारुण्ड नामक चरा नै संसारबाट लोप भयो । ओली र प्रचण्डको नमुना नेकपाको हकमा त्यस्तो नहोस्, कमसेकम नेताद्वयले टाउको दुइटा भए पनि पार्टी एउटै हो भन्ने थाहा पाऊन् । 

कठै अगुवा !

केही महिनाअघि एक आफन्त बिते । पशुपतिको विद्युतीय शवगृहमा दाहसंस्कारलगत्तै केही युवाले १३ दिने किरिया पद्धति लामो, खर्चालु र बोझिलो भएकाले यसलाई छोट्याउनुपर्ने तर्क राखे । भद्रभलाद्मी, सुकिलामुकिला, जेठाबाठा र क्रान्तिकारीले बोल्नै चाहेनन् या सुनेको नसुन्यै गरे । पर–पर तर्किए । क्रान्तिकारी पार्टीलाई एक्लै २१ भोट खसालेको धाक दिनेहरु चुइँक्क बोलेनन्, बीपी कोइरालाको किरिया भएन भनेर फुर्ति लगाउने लोकतन्त्रवादीहरु चुपचाप बसे । अन्त्यमा यथास्थितिकै पक्षपोषण भयो, ‘जे चलिआएको हो, त्यही गर्ने ।’

अरु बेला समाज सुधारको सुगारटान दिने तर परेका बेला जोखिम नलिने । नेपाली समाजमा सुधार वा परिवर्तनको नारा लगाउने अगुवाहरुको नियति यस्तै छ । हिन्दु परम्परामा जन्मदेखि मृत्युसम्म १६ संस्कार छन् । तीमध्ये केहीलाई समेटेर ‘दस कर्म’ भनिँदै आएको छ । मृत्यु संस्कारलाई सामयिक र समयसापेक्ष बनाउनुपर्ने आवाज पनि उठिरहेकै छ । तीन, पाँच या सात दिने किरियाका अभ्यास पनि भएकै छन् । तर समाज सुधारमा यथोचित टेवा पुगेको छैन ।

संग्रहालय कि प्रेक्षालय ?

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मरण भएको ६१ वर्ष भइसक्यो । सरकारले २० मंसिर ०७५ मा बल्ल महाकविको मैतीदेवीस्थित जीर्ण तीनतले घरलाई संग्रहालय बनाउने सुरसार गरेको छ । घरले चर्चेको १२ आना जग्गाको मूल्यांकन गर्न सरकारी समिति बने पनि देवकोटापुत्र पद्मप्रसाद अस्ट्रेलियामा भएकाले टुंगो लागेको छैन । १० झ्याल भएको देवकोटा निवासलाई संग्रहालय बनाउने प्रसंग ०५१ मै पनि नचलेको होइन । तर पद्मप्रसादले ५ करोड रुपैयाँ मागेपछि सरकार ‘ब्याक’ भयो । यसपालि कुरा मिल्यो भने नेपाल प्रज्ञा प्रतिष्ठानले ०७२ को भूकम्पले थङथिलो पारेको घरजग्गा खरिदेर संग्रहालयको काम बढाउनेछ ।

विदेशी कवि, लेखक/कलाकारका घर संग्रहालय बनेका सुनिन्छन् । नेपालमै पनि नेपाल भाषाका कवि चित्तधर हृदयको घर संग्रहालयमा परिणत भएको त सुनिएको थियो । खासै प्रचारमा छैन । आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको नाममा पनि संग्रहालय छ तर विराटनगरको घरमा होइन, सुन्दरीजल जेलमा । जनस्तरबाट ‘स्वरसम्राट’ कहलिएका नारायणगोपालको महाराजगन्ज, मिलिजुली टोलको घर नं २६८ लाई गीतगंगा नामक चारतले प्रेक्षालय बनाउने तम्तयारी छ ।

कथम् १ रोपनी २ आना १ पैसा १ दामको जग्गा प्रेक्षालय बनिहाल्यो भने पनि नारायणगोपालको घर जाने गल्ली साँघुरो छ । दोहोरो गाडी पास हुँदैन, सानो जग्गामा पार्किङको झमेला हुने नै भयो । नारायणगोपाल संगीत कोषका पदाधिकारीले सायद यसबारे सोचेकै छैनन् ।

देवकोटाको घरलाई संग्रहालय बनाउन ढिलो गरिएको गल्ती यहाँ पनि दोहोरिँदै छ । नारायणगोपालका सामग्री चोरिने र हराउने क्रम जारी छ । केही थान तस्बिर, पुरस्कार, प्रमाणपत्र, हार्मोनियम र तबलामै खुम्चिनुपर्ने अवस्था छ । नारायणगोपाल चढ्ने बाअम ६४८ नम्बरको होन्डा मोटरसाइकल टहरोमा थन्किएको छ भने सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा चढेको मित्सुबिसी कालो कार नाचघरमा ।

संग्रहालय पुरानो वस्तु थन्काउने ठाउँ मात्रै होइन । तर तिनले पुरानो समयको झलक दिन्छन् । साँच्चै नारायणगोपालको सुरमय सपना पूरा गर्ने हो भने त्यस्तो प्रेक्षालय उपत्यकाको जुनसुकै ठाउँमा बनाए पनि हुन्छ । एक नामी संगीत साधकको घरलाई संग्रहालयकै रुपमा संरक्षण गर्न सके यसको महत्त्व पनि बढ्छ ।

प्रकाशित: माघ ३, २०७५

ट्याग: नोटबुक