पहिलो सिनेमा घरको कथा : ‘फस्ट सो’ मा सधैँ राजा

- लोकरञ्जन पराजुली

नेपालमा सिनेमा प्रदर्शनीको इतिहास खोतल्दा राणा प्रधानमन्त्री देवशमशेरको शासनकालमा पुगिन्छ । उनी र उनकी श्रीमतीको सिन्दूर–यात्रा क्रममा टुँडिखेलमा सामान्यजनलाई सिनेमा देखाइएको कुरा गोरखापत्रको पहिलो र तेस्रो अंकबाट थाहा पाइन्छ । ००२ मा प्रधानमन्त्री बनेका पद्मशमशेरले आफू शासनारुढ भएपछि विद्यार्थीलाई आफ्नो निजी थिएटरमा केही सिनेमा देखाएका थिए ।

पद्मशमशेरलाई निर्वासित हुन बाध्य तुल्याएर ००६ मा मोहनशमशेर सत्तारुढ भए । शासनसत्ता हातमा लिएपछि भएको आफ्नो सिन्दूर–यात्राका अवसरमा मोहनशमशेरले दिएको वक्तव्य र त्यसको केही महिनापछि जन्मोत्सवमा दिएको वक्तव्यमा सिनेमा घर स्थापना गर्ने कुरा नपरे पनि उनैको पालामा सिनेमा नेपालमा सार्वजनिक उपभोगको साधन बन्यो । ‘काठमाडौँ सिनेमा भवन’ को स्थापना गरेर व्यापारिक हिसाबले हिजोआजजस्तो सिनेमाको टिकट बेचेर सिनेमा देखाउने प्रबन्ध भयो ।

यो पहिलो सिनेमा हलको नाम, स्थापना मिति र स्वामित्वबारे यसअघि प्रकाशित सामग्रीमा मतैक्य देखिन्न । म्युनिसिपलिटी अड्डा (गोश्वारा) मातहत रहने र आम्दानी पनि म्युनिसिपलिटीलाई नै जाने गरी तात्कालिक सरकारले काठमाडौँ सिनेमा भवन (जनसेवा हल) स्थापना गरेको थियो । २६ मंसिर ००६ मा उद्घाटन गरिएको यो हलमा देखाइएको पहिलो सिनेमा रामविवाह थियो ।

२७ मंसिरको गोरखापत्रमा ‘काठमाडौँमा सिनेमा उद्घाटन’ शीर्षकमा पहिलो पातोमा प्रकाशित समाचारले सो सिनेमा हलबारे थप प्रस्ट्याउँछ :

काठमाडौँ, मार्ग २६ गते । आज काठमाडौँ सिनेमा भवनमा सिनेमा प्रदर्शनको काम भयो । त्यस भवनवरिपरि रंगीचंगी ध्वजापताकाहरू टाँगिएका थिए । पस्ने ढोकामा रातो तुलमा सेतो अक्षरले श्री ३ महाराजको जय भन्ने लेखिएको थियो । भवनभित्र ठाउँठाउँमा सुशोभित पूर्ण कलशहरू राखिएका थिए । सरोकारवाला अड्डाका कर्मचारीहरूद्वारा रामविवाह भन्ने सिनेमाको उद्घाटन भयो । सिनेमा भवनको भित्री भागको सजधज एउटा प्रसिद्ध सिनेमा भवनको दाँजोमा दाँज्न सकिन्थ्यो । यस तमासाको दर्शनले सबैको चेहरा बडो प्रफुल्लित देखिन्थ्यो । भवनअगाडि चौरमा पनि धेरै मानिस जम्मा भएका थिए । दिनको २ पटकका दरले सिनेमा देखाउने प्रबन्ध भएको छ । (गोरखापत्र, २००६/८/२७/१)

प्रदर्शनीको पूर्वतयारी

राणा प्रशासनको उच्च ओहोदामा रहेका भीमबहादुर पाँडेले आफ्नो पुस्तक त्यस बखतको नेपाल  चौथो भागमा नेपालमा सिनेमा हल स्थापनासम्बन्धी भएको छलफलबारे उल्लेख गरेका छन् ।

००६ भदौतिर नेपालमा सर्वप्रथम सिनेमा हल खोल्ने निधो लागेकाले श्री ३ मोहनका सबैजसो भित्रिया, आशामुखी र सेनामेनाहरूको सिनेमा हल खोल्ने इजाजतलाई हुकुम प्रमांगीका लागि बिन्तीपत्र परे । धेरैजसो निवेदकहरू प्रधानमन्त्रीले हार्नै नहुने खालका मानिस हुँदा, सिनेमाको लाइसेन्स एकलाई दिँदा अर्को ठुस्सिने सम्भव देखी, श्री ३ महाराज अलपत्र परेको बेला उद्योग परिषद्का तालुकवाला मे.ज. विजयले नेपालमा सिनेमा हल सरकारी क्षेत्रमा खोल्ने, त्यसबाट हुन आउने सबै आम्दानी नगर विकासलाई सहायतास्वरूप हस्तान्तर गर्ने र उद्योग परिषद्‌मार्फत सिनेमा चलाउने सुझाव पेस गरे । सो तुरुन्तै स्वीकार भयो । (पाँडे २०७१, पृ ११०)

पाँडेका अनुसार तत्कालीन म्युनिसिपलिटीका सचिव सुब्बा अनंगमान शेरचन साविकको सभागृह (हाल विशालबजार महानगरीय प्रहरी वृत्त, जनसेवा रहेको स्थान) वा टाउनहललाई सिनेमा हलमा परिणत गर्न खटिएका थिए ।

प्रदर्शनी सुरु हुनु केहीअघि १ मंसिरको गोरखापत्रमा ‘सिनेमा’ शीर्षकमा एउटा सम्पादकीय छापिएको छ । सम्पादकीयले सिनेमाको सार्वजनिक प्रदर्शनी हुने मितिको पनि जानकारी दिन्छ– ‘वर्तमान दूरदर्शी श्री ३ महाराजले ‘मुलुकले फायदा उठाओस् भन्नाका निम्ति यही मंसीर २६ गतेदेखि म्युनिसिपलिटी अड्डाको मातहतमा टिकटबाट सिनेमा देखाउने प्रबन्ध गराइबक्सेको छ । चाहिने रुपियाँको निकासा र देखाउने ठाउँको (?) बरबन्दोबस्त पनि भइसकेको खबर छ ।’

सोही सम्पादकीयमा उल्लेख भएअनुसार ‘सिनेमा घरको क्याम्पभित्र पसल थाप्न मानिसहरू तँछाडमछाड गरेर’ लागिसकेका थिए (गोरखापत्र, २००६/८/१/२) ।’ जनाना गेट किपरदेखि टिकट सेलर र मेनेजरसम्म गरी जम्मा २५ जवान कर्मचारीको खोजी गरिएको सो ‘सरकारी सूचना’ मा भनिएको छ, ‘म्युनिसिपल गोश्वाराको मातहत र रेखदेखमा जुद्धसडक सभागृहमा खुलाउने गरिबक्सेको पब्लिक सिनेमाको काम निमित्त तपसिलबमोजिमका कामदारहरूको दर्कार भएकाले यो सूचना प्रकाश गर्ने काम भएको छ ।’ यी कर्मचारीको तलबमान वार्षिक मोहरु १८० (गेट किपर) देखि १५०० (मेनेजर) सम्मको तोकिएको थियो । सिनेमा हलको पहिलो मेनेजरमा नरबहादुर थापा, बीए नियुक्त गरिए । सहायक मेनेजरमा रामप्रसाद रिमालले नियुक्ति पाए ।

सम्पादकीयमा उल्लेख भएझैँ व्यापारीहरू सिनेमा हलको कम्पाउन्डभित्र पसल थाप्न प्रयत्न गरिरहेको तथ्य सो पत्रिकामा छापिएका वहालमा दिनेसम्बन्धी सूचनाबाट पनि प्रस्टिन्छ । सूचनाअनुसार ‘जुद्धसडक सभागृहमा पब्लिक सिनेमा खुलाइबक्सने भन्ने बुझिएकाले सो सभागृहको कम्पाउन्डभित्र चुरोट पानसुपारी (?), चियारोटी इत्यादिको पसल राख्न पाऊँ, लाग्ने सलामी बुझाउँछु भन्नेसमेत बेहोराको धेरैको बिन्तीपत्र दरखास्त परेको’ थियो । जम्मा नौ वटा पसल कवल बहालमा दिनका लागि उपलब्ध थिए र तिनमा पानसुपारी खाने मसला, चुरोट, सलाई, दूध, चिया, बिस्कुट, मिठाई, रोटी, सोडा, मीठा पानी, सिरप आइसक्रिम इत्यादि बजार दरमा नबढाई बिक्री गर्न पाइन्थ्यो (गोरखापत्र, २००६/८/१०/१) ।

के–कति र कस्ता सिनेमा ?

यसरी तयारी गरिसकेपछि रामविवाह नामक सिनेमाबाट काठमाडौँ सिनेमा भवनमा चलचित्रको व्यापारिक प्रदर्शन प्रारम्भ भएको माथि उल्लेख भइसक्यो । प्रेम अदिबले निर्देशन गरेको र सन् १९४९ मा निर्मित यो धार्मिक सिनेमा करिब तीन साता काठमाडौँमा चलेको थियो । यसपछि सम्राट अशोक नामक सिनेमा प्रदर्शनी गरियो । सन् १९४७ मा निर्मित र केबी लाल निर्देशित यो चलचित्र अघिल्लोभन्दा अलि बढी दिन (करिब एक महिना) चल्यो । यद्यपि, यसलगत्तै लागेको जेके नन्दा निर्देशित फिल्म परवाना दुई साता मात्र चल्यो । यो सिनेमा देखाउने बेला ‘सेन्सर’ या काँटछाँट गरिएको हल्लासमेत चलेको थियो ।

बीचमा केही दिन बिजुली र अन्य कारण (जस्तै, मृत्युशोक) ले स्थगित भएबाहेक यो हलमा निरन्तर हिन्दी सिनेमा देखाइयो । स्थापनादेखि ००७ को अन्त्यसम्म कम्तीमा २२ वटा सिनेमा यो हलमा देखाइएको पाइन्छ । थोरैमा १० देखि बढीमा ३३ दिनसम्म एउटा सिनेमा प्रदर्शन भएको देखिन्छ । औसतमा १९.५ दिन एउटा सिनेमा काठमाडौँमा लाग्ने गरेको थाहा हुन्छ ।

काठमाडौँमा चलेका सिनेमालाई तिनको कथावस्तुका आधारमा बाँडेर हेर्ने हो भने एक तिहाइ धार्मिक र ऐतिहासिक विषयवस्तुमा केन्द्रित सिनेमा देखाइएका थिए । बाँकी दुई तिहाइ सिनेमाका विषयवस्तु प्रेम, रोमान्स र अन्य सामाजिक विषय थिए, केही त रिलिज भएको वर्ष धेरै पैसा कमाएका (हिट) सिनेमासमेत थिए ।

राणा शासकले सिनेमाको विषयवस्तुमा अलि बढी नै ध्यान दिएका थिए । उनीहरूले खासमा ‘उपयुक्त’ अर्थात् धार्मिक र शिक्षाप्रद सिनेमा आफ्ना रैतीजनलाई देखाउन चाहेका पनि थिए । तर राणाकालमा प्रदर्शित सिनेमाको विवरणले उनीहरूको सो ध्येय पूरा नै भएको चाहिँ देखाउँदैन ।

काठमाडौँको सिनेमा हलमा सिनेमा देखाउँदा सँगसँगै निकट भविष्यमा देखाइने सिनेमाका ट्रेलर र अन्य विभिन्न छोटा डकुमेन्ट्रीहरू पनि देखाइन्थे । यस्ता डकुमेन्ट्रीमा धेरै अंग्रेजी, केही हिन्दी र एउटा नेपालीसमेत थिए । प्राइभेट लाइफ अफ सिल्क वर्म, ओलम्पिक, ह्यान्डीक्राफ्ट अफ इन्डियालगायत अन्य विदेशी डकुमेन्ट्री प्रदर्शन गरिएका थिए । मोहनशमशेरले गरेको भारत भ्रमणसम्बन्धी डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो, जसलाई सम्भवत: नेपालको पहिलो वृत्तचित्र पनि भन्न मिल्ला । यस्ता वृत्तचित्रबाहेक सिनेमा सुरु हुनुअघि स्लाइड पनि देखाइन्थे ।

यस्ता स्लाइड विज्ञापनको रूपमा देखाइने गरेको र त्यस्तो स्लाइड सोको मूल्यसूचीसमेत गोरखापत्रमा प्रकाशित छ ।

टिकट र कालोबजारी

काठमाडौँ सिनेमा भवनमा सिनेमाको ‘खेला’ सुरु हुँदा दिनको दुई ‘सो’ देखाइन्थ्यो । यो कहिले बढेर तीन सो र कहिले फेरि दुई सोमा झथ्र्यो । प्रारम्भमा पहिलो सो १२ बजेदेखि अढाइ बजेसम्म र दोस्रो सो ४ बजेदेखि साढे ७ बजेसम्म तोकिएको थियो । यो सो समय पनि समय–समयमा परिवर्तन भएको गोरखापत्रमा प्रकाशित सूचनाहरूबाट थाहा पाइन्छ ।

प्रारम्भमा श्रेणी हेरी ५० पैसादेखि पाँच रुपैयाँसम्म सिनेमाको टिकट दर तोकिएको थियो, जुन तुलनात्मक रूपमा अहिलेभन्दा महँगो हो । पहिलोदेखि चौथोसम्म र बक्ससहित पाँच श्रेणी थिए । बक्सचाहिँ राजपरिवार, राणा परिवार तथा उच्च तहका कर्मचारीका लागि मात्र थियो । राजपरिवार अथवा राणा–शासक परिवार नआउने खण्डमा मात्र उच्च तहका गैरशाह–राणा कर्मचारीले त्यहाँ पहुँच पाउँथे । भीमबहादुर पाँडेका अनुसार नयाँ फिल्म लाग्नासाथ तत्कालीन राजा त्रिभुवन सिनेमा हेर्न पुग्थे, कुनै फिल्म छुटाउन्नथे ।

गोरखापत्रमा छापिएको एउटा सूचनाले बक्स सिटबारे थप प्रस्ट्याउँछ– ‘००७ सालदेखि श्री ५ सरकार र श्री ३ सरकारका ७ सिटे रायल बक्समा पनि खेल सुरु हुने । आधा घन्टासम्म पनि मौसुफहरूको सवारी हुने जनाउ नआएमा १७ भाइ राणाजी, गुरु पुरोहित र अरूमा हिराको चाँद दर्जासम्मले पूरै सिट लिएमा दिने भएको यो सूचना दिइएको छ ।’ (गोरखापत्र, २००७/१/३/४) । पहिले पाँच श्रेणी भए पनि पछिबाट बाल्कोनी तह थपिएको थियो ।

तुलनात्मक रूपमा सिनेमाको टिकटको मूल्य महँगै भए पनि कतिपय सिनेमा देखाउँदा त्यतिबेलै टिकटको ‘कालोबजारी’ (तीन गुणासम्म) र झैझगडासमेत हुन्थे । खासगरी ००७ को परिवर्तनपछि सहरमा अरू सिनेमा घर पनि खुलेका र सम्भवत: प्रतिस्पर्धाका कारण प्रतिटिकट मूल्यमा कमी आएको थियो ।

सम्भवत: भीडभाड, होहल्ला, झैझगडा र कालोबजारी रोक्न सिनेमा टिकटको अग्रिम बुकिङको समेत व्यवस्था थियो । यस्तो बुकिङ सो सुरु हुनु केही घन्टाअगाडि खुला गरिन्थ्यो । तर अग्रिम बुकिङको व्यवस्था भए पनि त्यसले टिकटको कालोबजारीलाई छेक्न सक्थेन । केही सिनेमाको प्रदर्शनी क्रममा गोलमाल भएको थियो । कालोबजारी गर्ने केहीलाई प्रहरीले समातेर खोरमा समेत पु‍र्‍याएको थियो ।

एक पटक त स्वयं सिनेमा हलका कर्मचारीले टिकट लुकाएर कालोबजारी गरेको हल्ला चलेपछि गोलमाल भएको थियो । गोरखापत्रमा लेखिएको छ– ‘आज काठमाडौँ सिनेमा हलमा तेस्रा सोको बालकोनीको टिकट जनतालाई बिक्री नगरी ब्लाक गर्‍यो भन्ने निहुँले बडो गोलमाल भएको खबर छ ।’ (२००७/१२/२७/४)

कालोबजारी गरेको आरोपमा प्रहरीले स–साना उमेरका केटा पनि पक्डन्थ्यो । खासगरी गैरधार्मिक सिनेमा (जस्तै, सुनहरे दिन, स्वयंसिद्धा, शवनम आदि) लाग्दा टिकटको कालोबजारी हुन्थ्यो । कालोबजारीसम्बन्धी समाचार गोरखापत्रमा छापिएका बेला कुन सिनेमा चलिरहेको थियो भनेर केलाउँदा यो तथ्य खुल्छ ।

दर्शक को–कस्ता ?

गोरखापत्रका सामग्री र अन्य द्वितीय स्रोत–सामग्रीको अध्ययनबाट नेपालको पहिलो सिनेमा घरका दर्शकबारे खासै थाहा हुँदैन । माथिल्ला श्रेणीका टिकट दर अलि महँगो भएकाले अलि हुनेखानेले मात्रै हेर्थे कि भन्न पनि सकिएला । तर तल्लो श्रेणीका टिकट दर ‘त्यति धेरै महँगो’ नभएको र खासगरी गरिब–गुरुवाले पनि सिनेमालाई मनोरन्जनको साधन बनाएको देखिएकाले काठमाडौँ सिनेमा भवन पनि कुनै वर्ग–विशेषको मात्रै ‘प्रेरोगेटिभ’ थिएन ।

हर्ष महर्जनले २००७ सम्म ‘कथित अछूत’ हरूलाई सिनेमा हेर्न निषेध गरिएको उल्लेख गरेका छन् । तर उनले सो तथ्यको स्रोत खुलाएका छैनन् । भीमबहादुर पाँडेका अनुसार सिनेमा ‘हरेक वर्गका मानिसलाई’ लोकप्रिय थियो । उपलब्ध तथ्यहरूले सिनेमा हेर्नमा जातविशेषलाई वञ्चित गरेको संकेत मिल्दैन ।

नेपालको पहिलो सिनेमा घरमा प्रारम्भदेखि नै महिला दर्शकलाई पनि सिनेमा हेर्नबाट रोक लगाइएको थिएन । तथापि, केही बाधा–बन्देज अवश्य राखिएको थियो । सिनेमा घर उद्घाटन हुनुअघि २४ मंसिरको गोरखापत्रमा छापिएको सूचनामा भनिएको थियो– ‘मंगलबार र शनिबारको दिउँसोको १२ बजे सो महिला वर्गको निमित्त मात्र देखाइनेछ । सोबाहेक अघिपछिलाई सेकेन्ड क्लास र सोदेखि माथिका दर्शकसम्मले आफ्नो जहानलाई साथमा लान देखाउन हुन्छ ।’ (२००६/८/२४/१)

यो सूचनाले महिला एक्लैलाई तोकिएको दिनबाहेक अन्य दिन सिनेमा हेर्नबाट रोक्छ । त्यस्तै, माथिल्लो श्रेणीकाले आफ्ना ‘जहान’ लाई सिनेमा देखाउन पाए पनि तल्लो तहकालाई भने त्यो सुविधा यसले दिँदैन । पछिल्ला दिनमा महिलाका लागि तोकिएका दिनमा परिवर्तन भएको र कुनै बेला साताको एक दिनमा सीमित भएको पनि थियो ।

सिनेमाको टिकट कालोबजारीमा साना उमेरका केटाहरू पनि संलग्न भएको र पक्राउ खाएको कुरा माथि उल्लेख भइसकेको छ । सिनेमाको दर्शकमा पनि साना उमेरका केटा एवं स्कुले विद्यार्थीको संख्या निकै हुन्थे । गोरखापत्रमा छापिएको सूचना र आदेशले त्यतै संकेत गर्छ– ‘विद्यार्थीहरूले पढ्न छली सिनेमा हेर्न आएको बेहोरा जाहेर हुँदा उद्योग परिषद्का श्री डाइरेक्टर जनरलसाहेबबाट अघिपछिको ‘सो’ मा आफ्नै गार्जियनले नै साथमा ल्याएमा र बिदाका दिनमा दिउँसोको ‘सो’ बाहेक १६ वर्षमुनिका विद्यार्थी केटाकेटीलाई सिनेमा नदेखाउने प्रबन्ध मिलाउनू भन्ने आडर बक्स भई आएकाले सोबमोजिम मात्र १६ वर्षमुनिका विद्यार्थी केटाकेटीलाई सिनेमा देखाइनेछ ।’ (२००७/८//१९/४)

त्यस्तै, सिनेमा हलको ‘क्षमता’ बारे पनि थाहा हुँदैन । तर १२ मंसिर, ००७ को गोरखापत्रमा सो सिनेमा भवनको टिकट छपाइका लागि ठेक्काको एउटा सूचना छापिएको छ, जसले दर्शक संख्याबारे केही अनुमान गर्न सघाउँछ । विज्ञापनअनुसार सिनेमालाई एक वर्षमा ४,६०,००० रंगी–बिरंगी (अर्थात् विभिन्न श्रेणी छुट्याउने) टिकट चाहिने रहेछ । यदि वर्षैभरि सिनेमा देखाउने हो भने एक दिनमा १,२६० टिकट खर्च हुन्छ । यदि दिनमा तीन सो देखाउने हो भने एक सोका लागि ४ सय २० टिकट उपलब्ध हुन्छ । यदि दुई सो देखाउने गरी हिसाब गरिएको भए एक सोमा ६ सय ३० जनासम्मले सिनेमा हेर्न सक्ने देखिन्छ । तसर्थ, सो सिनेमा घरको क्षमता एउटा सोमा ४ सयदेखि ६ सय ५० सिटसम्म भएको अनुमान लगाउन सकिन्छ ।

अनि प्रजातन्त्र

देवशमशेरको शासनकाल (विसं १९५८) देखि नै विभिन्न समय या उत्सवमा एक्का–दुक्का फिल्म हेर्न केही सामान्य नेपालीले पाए पनि ००७ सम्म सिनेमा मूलत: नेपालका शासक या सम्भ्रान्त वर्गको निजी मनोरन्जनको साधन थियो । मोहनशमशेर शासनारुढ भएपछि नेपालमा व्यापारिक रूपमै सिनेमा प्रदर्शन हुन थाले । र सम्भ्रान्तको मात्र पकडमा रहेको यो मनोरन्जनको साधन शनै:शनै: रैतीहरूको पहुँचमा पुग्यो ।

यो परिवर्तनलाई कुनै खास शासकको लहडको रूपमा होइन कि बदलिँदो आन्तरिक र विश्व राजनीतिक–सामाजिक–आर्थिक परिवेशको सन्दर्भमा बुझ्न जरुरी हुन्छ । सिनेमा–प्रविधिमा भएको प्रगतिले गर्दा छोटो समयमै विश्वभर सिनेमा प्रमुख मनोरन्जनसँगै व्यापारको साधन बन्यो । सिनेमाको चामत्कारिकताबारे सुनेका र चस्का परेका नेपाली युवा आफ्नो सरहदभित्र सोको रसस्वादन गर्न नपाउँदा ‘हूलका हूल’ बाँधेर सिनेमा हेर्न भारत जान थाले । यसले एक त नेपालको पैसा विदेसिने, अर्को– त्यहाँ ‘सबैखाले’ सिनेमा हेर्ने, ‘अरू नै केही’ विचारधारामा दीक्षित हुने या मतिभ्रष्ट हुने र राणा–विरोधी संगठनात्मक गतिविधिमा संलग्न हुने सम्भावनासमेत भएकाले त्यसलाई रोक्न काठमाडौँमै ‘धार्मिक एवं शिक्षाप्रद’ सिनेमा देखाउन थालिए । त्यसैले मनोरन्जन उद्योगको विस्तारसँगै छिमेकी भारतमा आएका सामाजिक–राजनीतिक परिवर्तन एवं नेपालको आन्तरिक राजनीतिक परिघटना नेपालमा सिनेमा सार्वजनिक पहुँचमा पुग्न जिम्मेवार छन् ।

सिनेमाको अन्तर्वस्तु र त्यसको उपयोग एवं दुरुपयोगबारे शासकहरू सचेत थिए र सोहीअनुरूप नेपालमा सिनेमा सोचीविचारी स्थापना गरिएको हो । तथापि, काठमाडौँ सिनेमा घरमा देखाइएको सिनेमाको सूचीले धार्मिक–शैक्षिक सिनेमा मात्र प्रदर्शन गरिएको देखिँदैन, प्यार–मोहब्बतवाला सिनेमाले पनि उत्तिकै ठाउँ पाएको देखिन्छ । यस्ता सिनेमा सार्वजनिक प्रदर्शनीका लागि शासकले खासै नरुचाए पनि ती उस्तो ‘क्रान्तिकारी’ नभएका र सम्भवत: अरू उपाय नभएकाले ती (सिनेमा) ग्राह्य भए । लगत्तै, ००७ मा राजनीतिक परिवर्तन भयो । यसले गर्दा निजी लगानीकर्ताले व्यवसायको रूपमा सिनेमालाई लिए र मुलुकभर विस्तार भयो ।

पराजुली मार्टिन चौतारीका अध्येता हुन् ।

प्रकाशित: माघ ३, २०७५