राजनीति = षड्यन्त्र

- सुरेन्द्र लाभ

जनकपुरका क्याम्पस प्रमुखलाई विद्यार्थीले कालोमोसो दले । त्यसको अन्तर्य बुझ्न खोज्दा एक जनाले फ्याट्ट भने, “अहाँ नै बुझुबै अइमे बडका राजनीति छै ।” भैरहवामा त्यस्तै अर्को घटना भयो । एक स्थानीयले जवाफ फर्काए, “एहमा बडका राजनीति बा ।” गोरखामा सडक निर्माणमा निकै विवाद भयो । एक स्थानीयले भने, “यसमा ठूलो राजनीति छ ।”

भाषा फरक होला तर हिमाल, पहाड, तराई जताततै यस्ता अभिव्यक्ति सुनिन्छन् । आखिर हाम्रो समाजले प्रत्येक घटनामा किन षड्यन्त्र देखिरहेको छ ? तर मुखबाट शब्द निस्किरहेको छ– राजनीति । नेपाली जनजीवनमा षड्यन्त्रको पर्यायवाची शब्द राजनीति किन बन्न गयो ?

राजनीतिसँग कुनै लेनादेना नभएका अवकाशप्राप्त प्राध्यापक गंगारामजीसँग मैले सोधेँ, “तपाईंको विचारमा राजनीति के हो ?” एकछिन गम्भीर बन्दै उनले जवाफ दिए, “जुन नीतिमा कुनै राज (रहस्य) हुन्छ, राजनीति त्यही हो ।” उनको परिभाषामा असहमत हुन सकिन्छ । तर वर्तमान समाजले राजनीतिलाई यस्तै राज, रहस्य र षड्यन्त्रका रूपमा लिइरहेको साँचो हो ।

भारतीय स्वतन्त्रता संग्रामसँगै नेपालमा राजनीतिक दलहरूको उदय भयो । नेपालका ठूला दलहरूको जन्म पनि उतै भयो । तिनीहरू उतैबाट पुष्पित र पल्लवित भए । संस्कार र शैली उतैबाट ल्याए । दलभित्र षड्यन्त्र उतै सुरु भयो, यता पनि आयो । षड्यन्त्रकारी नेतालाई कुशल नेता मान्ने परम्परा उतै प्रारम्भ भयो, यता पनि सुरु भयो ।

रामराज्यको कल्पनाजस्तै राजनीतिमा स्वच्छता, इमानदारी, त्याग, पारदर्शिता, स्वार्थहीनताजस्ता शब्द काल्पनिक बन्न गए, यता पनि उता पनि । वाकपटुता, चातुर्य, कुशल ठग, भाषणबाज यी सबै राजनेताका गुणका रूपमा स्थापित भए, यता पनि उता पनि । यस्ता कुरामा खोइ त स्वाभिमान जागेको ? लम्पसार परेको पर्‍यै । नेता त यस्ता भए भए, दलहरूले पनि लगाम लगाउन सकेनन् । कसरी लगाउने लगाम– नेपालका प्रत्येक दलभित्र गुट–उपगुटको बिगबिगी छ ।

नेपालको सबभन्दा ठूलो दल नेकपामा भ्रातृ संगठन एकीकरण हुन सकेको छैन, अहिलेसम्म । तत्कालीन एमालेभित्र केन्द्रदेखि जिल्लासम्म गुट–उपगुट रहेको तथ्य समय–समयमा छुताछुल्ल हुने गरेको छ । केपी ओली र माधवकुमार नेपाल गुट लगभग स्थापित नै छ । यस अतिरिक्त झलनाथ खनाल र वामदेव गौतमका गतिविधि र अभिव्यक्तिबाट पनि दलभित्र विधिभन्दा व्यक्ति प्रभावशाली रहेको अनुभूति हुने गरेको छ । तत्कालीन माओवादी ‘जनयुद्ध’ देखि नै प्रचण्ड र बाबुराम भट्टराई गुटमा विभाजित रहेको समाचार बेलाबखत आई नै रह्यो । पछि यो दल विभिन्न टुक्रामा पनि विभाजित भयो । बाबुरामजीले नयाँ शक्तिको नामबाट नयाँ दल गठन गरे । उता, विप्लवले आफ्नै धार समाते । सबैका गुरु वैद्यजीले पनि आफ्नै पार्टी चलाए, प्रचण्डजी एमालेसँग एकीकरण प्रक्रियामा गए ।

नेपालको सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसभित्र पनि प्रारम्भदेखि नै चरम गुटबन्दी छ । कोइराला परिवार कांग्रेसलाई आफ्नै बपौती ठान्छ । ऊ यो मानसिकताबाट माथि उठ्न सकेको छैन । शेरबहादुर देउवाजी पार्टी सभापतिको नाताले एकल स्वामित्व चाहन्छन् भने रामचन्द्र पौडेल आफैँ गुट बनाउन सक्रिय छन् । नयाँ दलहरूमा पनि यस्तो रोग देखापरेको छ ।

संघीय समाजवादी फोरममा पनि गुट रहेको समाचार जनतामा सम्प्रेषित हुने गरेको छ । संविधान दिवसमा यसको एउटा रूप देखियो ।  मधेसकेन्द्रित ६ दल मिलेर बनेको राजपाभित्र रहेको गुटबन्दी केन्द्रीय अध्यक्षमण्डलदेखि धनुषा जिल्लासम्म देखियो । वैकल्पिक राजनीति गर्ने नाममा विवेकशील साझा पार्टी गठन भयो । त्यहाँ पनि गुटबन्दी हालै सुन्नमा आयो । पञ्चायती संस्कारमा हुर्केको राप्रपाभित्र पनि पञ्चायतकालीन गुट–उपगुटको छाया देख्न सकिन्छ ।

कुल मिलाएर नेपालका कुनै पनि राजनीतिक दल स्वस्थ नरहेको प्रमाणित हुन्छ । आश्चर्य के भने कुनै पनि दलभित्र वैचारिक नभएर व्यक्तिगत विवाद मात्र छ । नेताहरूको स्वार्थ र भ्रष्ट आचरण हाबी छ । आपसी प्रतिस्पर्धा स्वस्थकर छैन, षड्यन्त्रमूलक छ । षडयन्त्र मूल प्रवृत्ति बन्दै छ यहाँ । नेताहरूको सम्पूर्ण समय यस्तै जाल बुन्नमा व्यतीत भइरहेको छ । कस्तो विडम्बना– षडयन्त्र गर्नेलाई नेता मान्नुपर्ने ! र, षड्यन्त्रपूर्ण कार्यलाई राजनीति भन्नुपर्ने ! दिनप्रतिदिन यसमा विशेषज्ञता बढ्दो छ ।

त्यसैले अब ग्रामीण जनताले पनि षड्यन्त्रलाई राजनीति भन्न थालेका हुन् । षड्यन्त्रको मात्रा धेरै भएपछि धनुषातिर एउटा लोकोक्ति बन्न गयो, ‘राजनीतिमा पोलिटिक्स भयो ।’ अब त सम्पूर्ण देशमै राजनीतिमा पोलिटिक्स घुस्न थाल्यो । यो बन्द हुनुपर्छ । तर कसरी ? जवाफ अरूसँग नमागेर हामीले आफैँसँग माग्नुपर्छ । राजनीति र षड्यन्त्रलाई पर्यायवाची शब्द बन्न दिनुहुँदैन ।

प्रकाशित: माघ ३, २०७५

ट्याग: विचार