जनता म्वासा भाषा म्वाइ ?

- शिशिर वैद्य

असोज–कात्तिकको रोमाञ्चकता र उमंगमय पर्वसन्धिमा भक्तपुरका युवाले ३८ वर्षयता ‘नेपालभाषा साहित्य त:मुँज्या’ गर्दै आएका छन् । यसपटक ४ र ५ कात्तिकको कार्यक्रममा मैले भाषाबारे केही टिप्पणी गरेँ । कार्यक्रम सकिएको दुई महिनापछि नातिवज्रको सफू धुकू असनमा सञ्जीव श्रेष्ठ भेटिए । लामो समय टोखामा शिक्षण पेसामा बिताएका सञ्जीव दाइले मैले त:मुँज्या कार्यक्रममा बोलेको सुनेका रहेछन् ।

तिमीले त आयोजकको लाइनभन्दा फरक कुरा पो बोलेछौ त ! म अचम्ममा परेँ । किन दाइ, के बोलेँ त्यस्तो ? मेरो प्रश्नमा उनी अलि चर्किएर बोले– जाति नै नभई भाषा कसरी बाँच्छ ? तिमीले ठीक उल्टो कुरा बोल्यौ । तिमीले आयोजकको नारा यादै गरेनछौ । ‘जनता म्वासा भाषा म्वाइ’ (जनता बाँचे भाषा बाँच्छ) । तर होइन, मैले गलत बोलेको थिइनँ । सञ्जीव दाइको बुझाइ गलत थियो । शिक्षक मान्छे बुझाए बुझिहाल्लान् भनेर  बुझाउने प्रयासमा लागेँ । तर उनी मेरो कुरा मान्न तयारै भएनन् । उनी भन्दै थिए– ‘नेवार भन्ने जाति नै नभएपछि भाषा कसले बोल्छ ? त्यसैले हामीले पहिले जातिलाई बचाउनुपर्छ ।’

उनको तर्क मलाई चित्त बुझेन । जाति बाँच्दैमा भाषा बाँच्ने भए नेपालभरि छरिएर रहेका नेवारलाई नेपालभाषा आउनुपथ्र्यो । तर अवस्था त्यस्तो छैन । नेवार बाहुल्य र नेवारी संस्कृतिमा धनी उपत्यकामै नयाँ पुस्ताले आफ्नो भाषा बोल्न छाड्दै गएको छ । मोफसलको त कुरै नगरे भो । कमलविनायक चौरको त:मुँज्या मञ्चमा मातृभाषा साहित्य वाचन भइरहँदा कार्यक्रम स्थलको अन्तिम लहरमा बसेका भक्तपुरकै केही युवा नेपालीमा संवाद गरिरहेका थिए । यसले के स्पष्ट गर्छ भने उपत्यकामै अधिकांश नयाँ पुस्ता मातृभाषा बोल्दैनन् । युवाको बोलचाल भाषा खस नेपाली भइसकेको छ । नेवारी भाषा विलुप्त हुँदै गएको छ ।

नेपालमा १ सय २६ जातजाति छन् । जनसंख्याका आधारमा नेवार छैटौँ स्थानमा पर्छ । मातृभाषाको संख्या पनि झन्डै सय छ । मातृभाषा बोल्नेलाई आधार मान्ने हो भने जनसंख्याका चार प्रतिशतको हाराहारीमा नेवारी बोल्ने छन् । भाषा अध्येताका अनुसार नेपालका थुप्रै भाषा लोपोन्मुख छन् । मातृभाषा बोल्न जान्ने जातजाति नहुँदा थुप्रै रैथाने भाषा विलुप्त हुने खतरा बढ्दै छ । कति भाषा बोलीमा मात्रै बाँकी छन् । अर्थात्, ती भाषाको लिपि कस्तो हो पत्ता लागेको छैन । यो मामिलामा नेवारी भाषा धनी छ । उसको आफ्नै लिपि छ ।

भाषा र संस्कृति एकअर्काका परिपूरक हुन् । भाषा रहेन भने संस्कृति पनि रहँदैन । त:मुँज्या कार्यक्रममा विभिन्न जिल्लाबाट नेपाल भाषाका अगुवा सहभागी हुन आएका थिए, बाजागाजासहित । तर अधिकांश मोफसलबाट आएका सहभागीलाई नेवारी भाषा आउँदैनथ्यो । उनीहरू नेवार त थिए तर मातृभाषा बोल्न जान्दैनथे । जाति रहे भने मात्र भाषा रहन्छ अब कसरी भन्ने सञ्जीव दाइ ?

मानिस अवसरको खोजीमा डुलिरहने स्वभावको प्राणी हो । झन् नेवार समुदायका मानिस व्यापार व्यवसायको अवसर खोज्दै विभिन्न जिल्लामा पुगेर त्यहीँ बसोबास गरेका उदाहरण थुप्रै छन् । यसरी बसाइँ सरेका नेवारले साथमा लगेको आफ्नो भाषा र संस्कृतिलाई आफूपछिको पुस्तालाई हस्तान्तरण गर्न नसक्दा जाति त रहे तर भाषा र संस्कृति विलुप्त भए ।

एउटा कुरोचाहिँ सही हो, बढ्दो सहरीकरणका कारण नेवारी संस्कृति र सम्पदामाथि अतिक्रमण बढेको छ । नेवारहरू आफ्नै मातृभूमिबाट विस्थापित हुनुपर्ने अवस्था सिर्जित छ । नेवारी संस्कृति, सम्पदा र अस्तित्वमाथि नै खतरा हो यो । संस्कृति रहेन भने भाषाको पनि अस्तित्व संकटमा पर्छ । त्यसैले भाषा जोगाऔँ, भाषा जोगाउन घरघरमा मातृभाषा बोल्ने अभियान चलाऔँ ।

यसमा आमाहरूको भूमिका अहं हुन्छ । किनभने, आमाले बोल्ने भाषा नै हो बालबालिकाले टिप्ने र बुझ्ने । त्यसैले मातृभाषा भनिएकै हो । स्कुलस्कुलमा मातृभाषाका कक्षा सुरु गरौँ । आधारभूत तहमा मातृभाषाको शिक्षा दिन सके मात्र भाषा पुस्ता दरपुस्तासम्म हस्तान्तरित हुन्छ । तपाईंको नातिले जातमा श्रेष्ठ लेख्ला तर भाषा नेपाली र अंग्रेजी मात्रै बोल्यो भने भाषा बाँच्छ त सञ्जीव दाइ ? यो समस्या नेपाल भाषा बोल्नेको मात्र होइन, तामाङ, गुरुङ, मगर, थारु आदि थुप्रै अन्य मातृभाषा बोल्नेहरूको पनि हो । भाषा र संस्कृति बाँचे मात्रै कुनै पनि जातिको अस्तित्व रहन्छ । राष्ट्रको पहिचान रहन्छ ।

प्रकाशित: माघ ३, २०७५