मिसन– नेपाल र नेपाली

- सौरभ

नेपालका जुनसुकै भाषाको शब्दकोश पाएसम्म आद्योपान्त पढ्छु । र, भिन्न भाषाहरूबीच तुलनात्मक अध्ययन पनि गर्छु । सम्बन्धित भाषा बोल्न नजाने पनि भाषिक व्युत्पत्तिका आधारमा जातिगत इतिहास, समयचेतको अड्कल गर्न सकिन्छ । भाषाले नयाँ क्षितिज उघारिदिन्छ ।

१६ जनाले २० वर्ष लगाएर तयार पारेको डिक्सनरी अफ क्लासिकल नेवारीमा तत्कालीन नेवारी चालचलन, रीतिरिवाज र त्यस संस्कृतिका शक्ति–सीमाको भेउ पाइन्छ । १४ औँ शताब्दीदेखि १७ औँ शताब्दीका शब्दसमेत संगृहीत यो कोशका प्रधान सम्पादक कमलप्रकाश मल्ल हुन् । उनका महत्त्वपूर्ण काममध्ये यो शब्दकोश लेखनको नेतृत्व एक हो ।

लैनसिंह बाङ्देललिखित माइतीघरकी सानी ऐनाको सानो टुक्रा लिएर अंश–अंश नियालेर आफ्नो सग्लो अनुहारको कल्पना गर्छिन् । ठीक उस्तै– यो कोशका एकेक शब्दार्थको योगबाट सिंगो नेवारी सभ्यताको ऐतिहासिकता अनुमान लगाउनुपर्ने हुन्छ । तर त्यसका लागि बेग्लै तहको अनुराग चाहिन्छ ।

कुनै शब्द सर्वप्रथम कुन हस्तलिखित सामग्रीमा प्रयुक्त भयो भन्ने उल्लेख गरिनु सबभन्दा बलियो पक्ष हो । नमुनार्थ वाक्यनिर्माण राखिए पनि शाब्दिक व्युत्पत्तिको खोलुवा नगरिनु यसको ठूलो कमजोरी मान्छु । अन्दाज गर्नुभन्दा शब्दगत मूलसम्म पुग्न पाएको भए धेरै सहज हुन्थ्यो । व्युत्पत्ति राख्दा कमजोरीको बिस्कुन छरिन पनि सक्थ्यो तर परिमार्जनबाट कमजोरी न्यूनीकरण हुँदै लामो कालखण्डमा पूर्ण हुन्थ्यो कि ! यो मानवशास्त्रीय र भाषाशास्त्रीय अध्येताका लागि आधारभूत खुराक हुन सक्छ ।

जोन लकको बुद्धिस्ट मोनास्ट्रिज अफ नेपालमा काठमाडौँ उपत्यकाका ३ सय ५० भन्दा बढी वहा र वहीबारे सचित्र वृत्तान्त दिइएको छ । उपत्यकाका बौद्ध धर्मावलम्बीको जीवनबारे प्रत्यक्ष–परोक्ष अभिव्यक्ति रहेको यो पुस्तक लेख्न ३५ वर्ष लागेको मानिन्छ । विदेशी क्रिस्तानी पादरी आएर बौद्ध धर्मबारे लेख्नु आफैँमा रोचक पक्ष हो । लेखकले आफ्नो धारणा वा विचार नलादीकन रैथाने धारणा र तथ्यलाई लिपिबद्ध गरेका छन् । यहाँ वहाका पृष्ठ–कथा र वहाबाट बसाइँ सरेका परिवारको सूचना छ भने संवत् नखुलेका प्रसंगमा प्राक्कल्पनाको प्रयोग पनि गरिएको छ ।

स्तुप चैत्यजस्तो वहालाई वरपरका घरको साझा ‘देवता’ मानिन्छ । त्यसका पूजा विधि–विधान छन्, जसको पुजारीका रुपमा गुभाजु हुन्छन् । सामूहिक सांस्कृतिक योगदान हुने भएकाले एकताको भावनासहित संघमा आबद्ध हुन्छन् वहा अनुयायी । बौद्ध दर्शनमै छ– संघम् शरणम् गच्छामि ।

यो किताब सामान्य पाठकलाई भन्दा समाजशास्त्रीय र मानवशास्त्रीय रुझान हुनेहरुका लागि आकर्षक छ । मेरा लागि यो किताब कोसेढुंगा नै त होइन, पोथ्रापोथ्रीबीचको अग्लो रुखचाहिँ हो । १ सय पृष्ठ सामग्री भेला भएपछि किताब निकाल्न हतारो गर्ने नेपाली लेखकका लागि जोन लक धैर्य र साधनाका गतिला पाठ हुन् ।

हन्ड्रेड इयर्स अफ आर्कियोलोजिकल रिसर्च इन लुम्बिनी, कपिलवस्तु एन्ड देवदहमा पूर्ववर्ती उत्खननका विवरण, भेटिएका माटाका भाँडा, मुद्रा, मूर्ति र तल्लो तहका फोसिलबारे सचित्र वर्णन गरिएको छ । लुम्बिनीलाई बुद्धसँग निकै गहिरोसँग जोडेर हेरिएकाले भारतले यो किताब पुनर्मुद्रण गर्न मानेन । यद्यपि भारतीय पुरातत्व विभागकै संलग्नतामा उत्खनन सम्पन्न भएको थियो । घुमाउरो पाराले प्रतिबन्धमा परेपछि पीसी मुखर्जीलिखित यो किताब अप्राप्य भयो ।

खड्गशमशेरका एकाध कामबाहेक पुरातत्वको क्षेत्रमा नेपालीको खासै ठूलो योगदान छैन । साधन, स्रोत र ज्ञानको अभाव रहेको नेपालमा २५ वर्ष लुम्बिनी उत्खननमा बिताएकाले बाबुकृष्ण रिजाललाई आधिकारिक मानिन्छ । उनैले भूमिका लेखेको यो किताब म मात्रै होइन, लुम्बिनी र पुरातत्वका जिज्ञासुका लागि रुचिकर र फलदायी हुने नै भयो ।

गैरआख्यानको पारखी हुँ म । पत्रकारिताको पृष्ठभूमिले मेरो चासो बहुविधातिर गयो । भ्रमण या पुस्तकमा मेरो रुचिक्षेत्र हो– ‘नेपाल र नेपाली’ । संस्कृति र इतिहासले भरिपूर्ण संस्कृत भाषाको लामो परम्परा छ । तर सबै कुराको जरा संस्कृत नै हो भन्ने मान्यताको विरोधी हुँ । धनी र पुरानो यो भाषाको ज्ञानले हामीलाई समृद्धै बनाउँछ । भौतिक र दृश्य सामग्रीको मात्रै भर पर्दाचाहिँ हाम्रो ज्ञान दक्षिणको देन भन्ने गलत निचोडमा पुगिन्छ । अनुश्रुतिजस्ता अदृश्य आधारलाई पनि अध्ययनको सामग्री बनाउनु श्रेयस्कर हुन्छ ।

मूर्ति, थांका, चित्रजस्ता विधामा गहिरो अन्वेषण गर्ने हो भने नेपाली संस्कृति धेरै धनी र मौलिक रहेको तथ्य अनावृत्त हुन्छ । त्यसका लागि अध्ययनमा दत्तचित्त हुनु जरुरी छ तर पढ्ने मात्रै मान्छेले सिर्जना गर्दैन । दुई घन्टा पढेपछि ६ घन्टा सोच्नु–घोत्लिनु आवश्यक छ । धेरै किताब पढ्नु विद्वान् हुनु होइन । असली विद्वानले त आफूलाई भयंकर अज्ञानी देख्छ ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: माघ ३, २०७५