भद्र भ्रष्टाचारी

- लक्ष्मण गाम्नागे

आयल निगमका पूर्वहाकिम गोपाल खड्काजीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा लगाएछ । मुद्दा लाग्दैमा उनले डराउनुपर्ने केही छैन । भोलि चोखो ठहर भएर सय किलोको माला लगाउँदा अख्तियारले थाहा पाउला । यदि उनले भ्रष्टाचार गरेकै रहेछन् भने पनि अख्तियारले उनीमाथि ठूलो अन्याय गरेको स्पष्ट छ । जसरी ढिलो न्याय दिनु अन्याय हो, त्यसैगरी ढिलो मुद्दा दायर गर्नु पनि अन्याय हो । उहिल्यै जोश–जाँगर, कमाइ–धमाइ, पद, सत्ता, शक्ति सबै कुरा भएकै बेला मुद्दा नलगाएर अवकाशपछि पारिवारिक जीवन बिताइरहेका बेला, अनेक रोगले धावा बोलिरहेका बेला, खाएको सबै पच्यो भनेर ढुक्कले घाम तापिरहेका बेला अख्तियारले आक्रमण गरेर उनीमाथि अन्याय गरेको छ ।

यदि उनले भ्रष्टाचार गरेकै रहेछन् भने पनि उनी विशिष्ट, लोकतान्त्रिक र परोपकारी भ्रष्ट हुन्, चानचुने होइनन् । उनले आफूले भ्रष्टाचार गरेर कमाएको करोडौँ रकम लोकतन्त्रको समावेशी सिद्धान्तअनुसार आफूसँग जात, थर केही नमिल्ने एक महिलाको नाममा राखेका रहेछन् । आधा दर्जन घर किनेर भाडामा लगाएर जनताको आवासको समस्या समाधान गर्न सहयोग पुर्‍याएका रहेछन् । साँच्चै भन्दा उनी गरिब भ्रष्टाचारी रहेछन्, ५/६ करोड रुपैयाँ त सापटी नै लिएका रहेछन् । गरिब भइकन पनि करोडौँ रकम चन्दा दिएर उनले एक परोपकारी भ्रष्ट भएको प्रमाणित गरेका छन् । चार करोडभन्दा बढी रकम ऋण तिर्नमा खर्च गरेर एक इमानदार भ्रष्टको परिचय पनि दिएका छन् ।

नेपाली बैंकहरुको उत्थान होस् भनेर उनले ५५ वटा बैंक खाता खोलेका रहेछन् । छोटो अवधिमा उनले बजारमा दुई करोडको सौदा गरेर पुँजी बजारलाई चलायमान बनाउन सहयोग पुर्‍याएका रहेछन् । नगद र जग्गा जोड्ने मात्र नगरी सेयरमा पनि करोडौँ लगानी गरेर बहुमुखी प्रतिभाको परिचय दिएका छन् । आयल निगमका लागि जग्गा खरिद गर्दा केही हजारमा आउने खोलानाला र बगरका जग्गालाई केही करोडहरुमा खरिद गरिदिएर गरिब जग्गावाला, बिचौलिया, संरक्षक र स्वयं आफूलाई पनि ठूलो गुन लगाएका छन् ।

भ्रष्टाचार गरेकै रहेछन् भने पनि उनी पारदर्शी र कर्तव्यनिष्ठ भ्रष्ट हुन् । उनी अपारदर्शी भएको भए अख्तियारले सम्पत्ति फेलै पार्ने थिएन । कर्तव्यनिष्ठ किन हुन् भने उनलाई जुन संस्थामा लगेर राखे पनि आफ्नो मुख्य कर्तव्य धन आर्जनमा लिप्त भइहाल्ने प्रवृत्ति रहेछ । अर्को महत्त्वपूर्ण विशेषता उनी प्रखर राष्ट्रवादी र वीर भ्रष्टाचारी हुन् । एक त, उनी त्यति धेरै भ्रष्टाचार गरेर पनि देश छाडेर कतै गएनन् । दोस्रो, उनले विदेशी बैंकमा पैसा जम्मा गरेको देखिएन ।

अन्तिम कुरा के भने अख्तियारले ढिलो मुद्दा लगाउनाले उनले गरेको धेरै आम्दानी धर्मछोरीलाई दिएर, सपिङ गरेर, घर किनेर, ऋण तिरेर, सेयर खरिद गरेर सकिइसकेको हुँदा १८ करोड जरिवाना तिर्न भ्रष्टाचार गर्ने कुनै पद र सामथ्र्य उनीसँग अब छैन । फेरि उनले जति नै कमाएको भए पनि मरेर जाँदा एउटा लंगौटी पनि साथमा लिएर जाने छैनन्, सबै यही धर्तीमा छाडेर जानेछन् । अत: यस्ता कर्मशील, परोपकारी, राष्ट्रवादी एवं भद्र भ्रष्टाचारीलाई मुद्दा हालेर अख्तियारले पापको भारी बोके पनि अदालतले अवश्य उनलाई न्याय दिनेछ । केही समय उनले धैर्य गरुन् ।

प्रकाशित: माघ २, २०७५

ट्याग: झटारो