आमाको आर्तनाद

- नदीश

‘मेरो छोरो आइपुग्यो, आमालाई सम्झेर आइपुग्यो मेरो छोरो ।’ आमाका नाजुक हत्केलामा आफ्नो निधार राखिदिएँ । आमाले मेरो दायाँ हत्केला बिस्तारै आफूतिर तान्नुभयो र स्नेहले चुम्नुभयो । मैले उहाँका सपाट आँखामा अजस्र पीडा र थोरै सन्तुष्टिको तरल रसाइरहेको देखेँ ।

आमा ओछ्यानमा लम्पसार हुनुहुन्थ्यो । टाउको मुडुलो थियो । आँखीभौँ रित्ता थिए । अहो ! आमालाई आफ्नो बाक्लो लामो कपालप्रति कत्रो लगाव थियो । म द्रवीभूत भएँ । गालाको भरिलोपन अब कत्ति बाँकी थिएन । कुपोषित शिशुको जस्तै टिठलाग्दो अनुहारमा याचनाले भरिएका आँखा । त्यो भासको गहिराइ कति थियो, म अन्दाज गर्न सक्दिनथेँ । दन्तलहर पनि अनुहारबाट बाहिर निस्किने अथक परिश्रममा लागेजस्तै देखिन्थे । पिटिक्कै भाँचिएलाजस्तो निगालोसरि घाँटी । अनुहारको दयनीयताबाट सम्पूर्ण शरीरको अवस्था अन्दाज गरेँ । मन भरंग भयो । भित्रभित्रै बगेर गयो आासुको छाँगा ।

अनिश्चित छुट्टी बोकेर आइपुगेको थिएँ, काठमाडौँ ।

कन्चटभरि गाडीको एकोहोरो कर्कस आवाज । छातीभरि धूलो र धूवाँको उकुसमुकुस । हृदयभरि भत्केका धरोहरको खण्डहर । नाकैमुनि फोहोरको पिरामिड । नशानशामा बगिरहेको दुर्गन्धित बाग्मती । ढाड भाँचिने गरी ओहोरदोहोर गरिरहेका अस्तव्यस्त पाइला । मस्तिष्कभरि जबर्जस्ती कोरिएको भविष्यको झूटो आश्वासन । हराभरा उखेलिएर मरुभूमि भएको रुग्ण शरीर । आँखाबाट अविरल बगिरहेको आर्यघाट ।

काठमाडौँ निराश, लाचार, दु:खी, रोगी र असह्य पीडामा छटपटाइरहेको देखेँ । काठमाडौँलाई आमा देखेँ ।

‘यत्तिपछि घर आएको छोरोलाई एकमुठीसम्म पकाएर खान दिन सकिनँ ।’ मातृ–ममताको भारीले मलाई बेस्सरी थिच्यो । लज्जाले मेरो शिर निहुरियो । आमा रातभरि छट्पटिनुहुन्थ्यो । तीन वर्षदेखि लगातार शरीरले केमोथेरापीको घातक रसायन थेगिरहेको थियो । दुखाइ कम गर्ने ओखतीले शरीरलाई टेर्नै छाडिसकेको थियो । पेटमा पानी दिनप्रतिदिन भरिएर दमाहाजस्तै देखिन्थ्यो । पानीको चाप बाहिर फुत्किन खोजिरहन्थ्यो । आमालाई न बस्दा आराम हुन्थ्यो, न त सुत्दा–उठ्दा । ओछ्यानमा घरी यता फर्किनुहुन्थ्यो घरी उता । पीडाको दीर्घ उच्छ्वास निस्किरहन्थ्यो । निदाउन सक्नुहुन्नथ्यो । मूकदर्शक भएर हेर्नुको विकल्प थिएन मेराअघि । घरी आमाको हात बाउँडिन्थ्यो, घरी खुट्टा निदाउँथ्यो । थेरापीको ‘साइड इफेक्ट’ ले कब्जियत थियो । मृगौलाले पनि काम गर्न अटेर गथ्र्यो । घाँटीमा समस्या थियो । आन्द्रामा घाउ थियो । खानैपिच्छे बान्ता हुन्थ्यो । दिसा–पिसाब गर्दा, बोल्दा, खाँदा पीडा थियो । जिउँदो शरीरको हरेक अंगमा असह्य पीडा थियो । लाग्थ्यो, त्यो शरीरभित्र जीवित केही थियो भने केवल पीडा थियो ।

बाबा तीन वर्षदेखि कुन मनोदशामा बाँच्नुभएको होला ? कुन तागतले चौबीसै घन्टा अनवरत सेवामा खटिरहन सक्नुभयो होला ?

दर्द लुकाएर फोनमा बाबा भनिराख्नुहुन्थ्यो– ‘सब ठीक हुँदै छ, पहिलेभन्दा सुधार भ’को छ, चिन्ता नगर ।’ सधैँभरि उहाँलाई सन्तानकै सपनाको चिन्ता लाग्छ । तर आमालाई बाबाको पनि चिन्ता लाग्छ । लाग्यो– हामीसँग जे छ, पोल्टोभरि चिन्ता मात्रै छ !

(जिन्दगीमा सबैभन्दा निरस आफ्नै जिन्दगी लाग्दोरै’छ ।)

‘कमाइले बाटो खोज्छ भन्छन् हो रै’छ’ खुइऽऽऽय सुस्केरा हाल्दै आमा भन्नुहुन्छ ।

तीन वर्षअघि छोरालाई अमेरिकाको कुनै सफ्टवेयर कम्पनीबाट कामका लागि निम्तो आउँदा आमा त्यति खुसी देखिनुभएन । उहाँलाई लाग्थ्यो, जति कमाए पनि मान्छेलाई कहिल्यै पुग्दैन । आफ्नै परिवारनजिकै जे–जति कमाइ छ, मनग्गे छ । तर छोराले अवसर गुमाउन चाहेन । ‘दुई– चार वर्षमा मज्जाले कमाएर फर्कन्छु । काठमाडौँमा घर हुन्छ, गाडी हुन्छ । अर्काको घरमा तल्लो दर्जाको मान्छे भएर कति बस्नु हेपिएर यो सहरमा ?’

आमाका विस्फारित आँखामा आश्वासनको बिस्कुन छरेर छोरो हिँडेको थियो अमेरिका । छोराको प्रगतिमा कुन आमाले बाधा हाल्न चाहन्छिन् होला ?

नेताले जनतालाई दिने आश्वासन र मैले आमालाई दिएको आश्वासनमा अहिले म तात्विक फरक देख्न सक्दिनँ ।

सन्तानलाई के थाहा हुन्छ, आमाबाबा कतिन्जेल साथ रहन्छन् ? हामीलाई लागिरहन्छ, जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ । बाँकी जिन्दगीलाई राम्रो बनाउने लालसामा आफैँलाई पनि भुलेर यान्त्रिक भइदिन्छौँ । यो जम्मै कुरा थाहा छ र पनि यही दलदलमा भासिनुको विकल्प हामीसँग जिन्दगीभर हुँदैन ।

(जिन्दगीलाई सबैभन्दा धेरै जिन्दगीकै पीर लाग्दोरै’छ ।)

‘ऐया बाबु मरेँ । साह्रै दुख्यो । म के गरुँ ? मरेँ नि बाबु ।’ पेटमा एक्कासि असह्य पीडाले आक्रमण गरेपछि असीम वेदनाले आक्रान्त हुँदै एक दिन आमाले फोन गर्नुभयो । उहाँको आवाजमा गहिरो रोदन थियो । पीडाको सघन आर्तनाद थियो ।

छोरा अमेरिका छिर्नु, आमालाई ठूलै बिमारले बेस्मरी च्याप्नु ।

वेदनाले विह्वलित भएर आमाले दैनिकजसो फोन गर्न थाल्नुभयो । म अत्तालिएँ । आमालाई काठमाडौँ लगियो । उहाँको ओभरीमा देखिएको क्यान्सर कलेजोसम्मै पुगेछ । पाठेघर र कलेजोको केही भाग फाल्नुपर्ने देखियो । अपरेसनपछि किमोथेरापी सुरु गर्नुपर्ने भयो ।

यो अकल्पनीय समाचार थियो । आत्माले विश्वासै गर्न सकेन ।

साँचिएका कति इच्छा छन् आमाका । सन्तानका कति सपना बाँकी छन् । सन्तानसँग अघाउँजी बस्ने आमाको कत्रो अभिलाषा । सबका सब बाँकी छन् । आमालाई जहाज चढाउनु छ, देश घुमाउनु छ, विदेश चिनाउनु छ । बिहान सँगै नास्ता गर्नु अनि बेलुकी दिनभरिका गफसँगै खाना खानु छ । आमाकै नाममा बैंक खाता खोलिदिनु छ ।

आमालाई गुमाउनु थिएन । उपचारका निम्ति ठूलो खर्च लाग्थ्यो । त्यसका लागि कमाउनु थियो । म फर्केर जान सकिनँ । बिरामी हुँदा सन्तान आफूसँगै नहुँदाको रिक्तताले आमालाई कति बिझाउँदो हो ।

मलाई विदेश बस्न पटक्कै मन भएन । आमालाई जसरी होस् बचाउनु थियो । आमाको आयु थप्न म देश जान सकिनँ ।

(बिरामी आमा बिलौना गर्छिन्– ‘बाबु यता भइस् भने आधा रोग यसै निको हुन्थ्यो अघाउन्जेल कहिले बस्न पाइनँ तँसँग ।’ छोरो सम्झाउँछु– ‘यता छु आधा रोग निको भइरहेछ आमा, राम्रो अस्पतालमा उपचार गर्नू, सब ठीक हुन्छ ।’)

पोहोरसम्म आमासँग गफ थिए । सपना थिए । सम्भावना थिए । अस्पतालप्रति भरोसा थियो । जिन्दगीप्रति आशा थियो । औषधीले थोरबहुत काम गर्दै थियो । शरीरका अंगले अलिअलि काम गर्दै थिए ।

पोहोरसम्म छोराको कार्यक्रममा जानुहुन्थ्यो आमा । नाटक हेर्न जानुहुन्थ्यो । कविता वाचनमा जानुहुन्थ्यो । अनुहारमा आभा थियो । निको हुने विश्वास थियो । ‘काल पनि किन आउँदैन बाबा मेरो ! काल किन आउँदैन छोरा ! कत्ति अभागी रै’छे तेरी आमा !’ आमाको स्थिति झन्–झन् कहालीलाग्दो हुँदै गयो ।

‘तेरो काखमा मर्न पाए हुन्थ्यो । भगवान् ! मैले के पाप गरेँ ! किन यस्तो हालतमा बचाइराख्यौ नि मलाई ।’

आमालाई लागिरहन्थ्यो– उहाँको कारण सबै परिवारले दु:ख पाइरहेछ । डाक्टर, औषधी, अस्पताल सबले आमालाई चिढ्याउँथ्यो ।

‘अरुका आमाले सन्तानलाई कति खुसी दिन्छन्, मेरो हालत यस्तो छ । न मर्न नै सक्छु, न त बाँचेर सुख दिन । तँ आफ्नो जिन्दगी नबिगार छोरा, म त मर्न पनि नसक्ने भएँ । तेरो सप्पै कमाइ यही आमाको उपचारमा गयो ।’ उहाँ बिलौना गरिरहनुहुन्थ्यो । म आमालाई ढाट्न सक्दिनथेँ । अब कुनै हालतमा ठीक हुनेवाला थिएन । यो कुरा आमालाई छर्लंग थियो ।

‘आमा मेरो चिन्ता नलिनुस् म हजुरसँगै बस्छु ।’ मैले आँसु लुकाएर यति मात्रै भन्न सक्थेँ । आमा वेदनाको शिखरमा हुनुहुन्थ्यो । मोर्फिन– पीडा कम गर्ने अन्तिम अस्त्र । पीडा बीसको उन्नाइस भएजस्तो लाग्दैनथ्यो । शरीरभित्र रोग नफैलिएको सायदै कुनै अंग थियो । खाना रुचाउनदेखि दिसा–पिसाबका लागि औषधी खुवाउनुपथ्र्यो । चर्पी लैजान कम्तीमा दुई जोर बलिया पाखुराको सहारा चाहिन्थ्यो । बिस्तारै–बिस्तारै आमा हर फेर्न पनि नसक्ने हुनुभयो । शरीरको माथिल्लो भाग पनि सुनिदै जान थाल्यो । एकै ठाउँ लम्पसार भइराख्दा घाउ हुन्थ्यो । कोल्टे फेराइदिँदा आमालाई साह्रै दुख्थ्यो । उहाँलाई जहाँ छोयो, त्यहीँ पीडा हुन्थ्यो ।

पलपलको यो दुर्दान्त अवस्थामा आमा कसरी बाँच्नुभयो होला ! पीडाले उहाँ अर्धचेत भएर मसिनो बर्बराउनुहुन्थ्यो– ‘ आमा आमा !’ ।

हामी सबैलाई थाहा थियो, आमा जिन्दगीको अन्तिम अवस्थामा हुनुहुन्थ्यो । डाक्टर, अस्पताल, औषधी केही समय आयु लम्ब्याउने प्रपन्च मात्रै थिए, यो पनि थाहा थियो । ओठबाट शब्द निस्किउन्जेल आमाले बिन्ती गरिराख्नुभयो– ‘नाइँ, मलाई अस्पताल नपठा । प्लिज, छोरा म अस्पताल जान्नँ । मलाई मर्न दे । मलाई अस्पतालमा साह्रै गाह्रो हुन्छ, बा । मलाई अस्पताल नपठा ।’

मैले भनिराखेँ– ‘अस्पताल नगएर झन् गाह्रो होला नि आमा ।’ ‘तँलाई थाहा छैन छोरा – मलाई अस्पतालमा कति गाह्रो हुन्छ  ! औषधी चढाउँदा कति पीडा हुन्छ  ! औषधीपछि शरीरलाई झन् कति पीडा हुन्छ  ! तँलाई थाहा छैन छोरा । मलाई बाँच्न कति गाह्रो छ  ! मलाई मर्न दे छोरा, अस्पताल नपठा ।’

हामी अस्पताल चहार्न छाडेनौँ ।

पलपल आमाको जिन्दगी पीडाले आक्रान्त थियो । जिन्दगी जति लम्बिँदै जान्थ्यो, उति पीडा पनि थपिँदै जान्थ्यो । यस्तो विक्षिप्ततामा पनि आमालाई बचाइराख्नुपर्ने यो कस्तो कर्तव्य हो परिवारको ? लगातारको चरम पीडामा कोही कसरी जिउन सक्छ ? यसरी पनि बचाइराख्नु ? योजस्तो ठूलो सजाय के हुन सक्छ यहाँ, कोही–कसैका लागि ? कसका लागि आमाको विषाद जिन्दगीमाथि विष थपिरहेछौँ ? हामीलाई किन यस्तो लाग्छ– बचाउनु नै प्रेम हो, कर्म हो, धर्म हो !

जे–जस्तो भए पनि सायद आमा जिउँदै छिन् भन्ने आभास खोज्दो रहेछ सन्तान । आमा जिउँदै हुने सन्तानले कहिल्यै रित्तो महसुस गर्नुपर्दैन, चाहे आमा अचेत भएर पल्टिरहेकै किन नहोऊन् । सायद यही स्वार्थ थियो कि !

काललाई घुस दिएरै सही, आमाको आयु थप्दै थिएँ । आमालाई मर्नका निम्ति म छाड्न सक्दिनथेँ । तर बाँचिरहेकी आमाको यो अवस्था हेर्न सक्दिनथेँ, पटक्कै सक्दिनथेँ ।

प्रकाशित: माघ २, २०७५

ट्याग: संस्मरण