लिम्बूहरू किरात होइनन्

- अर्जुनबाबु माबुहाङ

इतिहासकार इमानसिंह चेम्जोङले सन् १९४८ देखि १९७४ सम्ममा लिम्बू जातिबारे दर्जनौँ पुस्तक लेखेका छन् । नेपालका लागि ब्रिटिस रेजिडेन्ट ब्राएन हटन हज्सनले १८४० यता दार्जिलिङमा रहँदा सिक्किम र नेपालबाट संकलित सामग्री अंग्रेजले भारत छाडेपछि बेलायतको इन्डिया अफिस लाइब्रेरी पुर्‍याइएको थियो । आज ती सामग्री ‘हज्सन पाण्डुलिपि’ को रूपमा सुरक्षित छन् । हज्सन पाण्डुलिपि लिएर १९५५ मा प्रोफेसर आरके स्प्रीग नेपाल आएका थिए । सिरिजङ्गा लिपि पढ्न जान्ने मान्छे खोज्दै हिँड्दा इलाममा स्प्रीग र चेम्जोङको भेट भयो ।

ती सामग्री भेटेपछि चेम्जोङको लिम्बू इतिहास, भाषा, साहित्य र संस्कृतिसम्बन्धी खोज–अनुसन्धान अझ गहिरियो । उनलाई १९५२ मा नेपाल झिकाइयो । उनले १९६१ देखि १९७५ सम्म त्रिभुवन विश्वविद्यालयमा किरात इतिहास एवं संस्कृतिविद्को रूपमा रहेर काम गरेका थिए । उनको मृत्यु १९७६ अक्टोबर ८ मा दार्जिलिङमा भएको थियो । चेम्जोङको योगदानको कदर गर्दै विसं ०५५ मा नेपाल सरकारले उनको तस्बिर अंकित हुलाक टिकट प्रकाशनमा ल्याएको छ । कक्षा १० को नेपाली पाठ्यपुस्तकमा उनको जीवनी पनि छापिएको छ । उनको नाममा किरात याक्थुङ चुम्लुङले ‘इमानसिंह साहित्य पुरस्कार’ स्थापना गरेको छ । लिम्बूवानका विभिन्न ठाउँमा उनको पूर्ण कदको सालिक ठड्याउने कार्य जारी छ ।

लिम्बू : न काशी गोत्रे न ल्हासा गोत्रे

चेम्जोङले आफ्नो पहिलो पुस्तकको नाम नै किरात इतिहास राखेर १९४८ मा प्रकाशनमा ल्याए । यो पुस्तकको पहिलो संस्करण कमैसँग मात्र भए पनि अन्य संस्करण धेरै पटक प्रकाशन भएका छन् । पुस्तकका प्रत्येक पृष्ठमा लिम्बूहरू ल्हासा र काशी गोत्रे भएको र किराती जाति भएको तर्क अगाडि सारिएको छ । यस्तो किन र कसरी लेखे त चेम्जोङले ?

चेम्जोङमा ब्रिटिस लेखक एचएच रिस्लेको प्रशस्तै प्रभाव परेको देखिन्छ । रिस्लेको पुस्तक गजेटियर अफ सिक्किम (१८९४/ १९७२) पृष्ठ संख्या ३६–३७ मा याक्थुङ्बा लिम्बू जातिका देउता तागेरा निङवाफुमाङका अवतार मुबोक्वामाले मालिंगोको खरानी र लुइँचेको बिष्टा मुछेर मनुष्यधारी महिला मुजिङ्ना खेयोङ्ना बनाए । उनैका सन्तान काशीदेखि ल्हासासम्म फैलिए । पछि तिनैका सन्तान कोही ल्हासादेखि त कोही काशीदेखि आएकाले काशीबाट आउनेलाई ‘काशी गोत्रे’ र ल्हासाबाट आउनेलाई ‘ल्हासा गोत्रे’ भनियो ।

लिम्बू जातिमा गोत्रको चर्चाभन्दा पनि मिङ्स्रा/थवासाम (पहिलो पुर्खा), माङ्गेना यक/थामालुङ (उत्पत्ति थलो), नाहाङमा यक (कर्मथलो), सामलामातेन (गर्भवती महिलाको सातो जगाएर ल्याउने ठाउँ), सामसामा तेन (मृतकको आत्मालाई पितृकहाँ पुर्‍याएर सुम्पने ठाउँ), सेभाक्कुम/चो?लुङ (मनकामना पूरा गरिने, गरिएको ठाउँ/सिद्धि प्राप्ति स्थल) भनेर बुझ्नुपर्छ । यस्ता सांस्कारिक स्थलहरू याक्थुङ्बा लिम्बू जातिका विभिन्न विधाका देवारीहरू फेदाङ्बा, साम्बा, येबा/येमाहरूले मुन्धुम गर्दा पुकार्ने गर्छन् । यी स्थल फक्ताङलुङ/कुम्भकर्ण हिमालको आसपास थाङ्वा पुम्मा/तमोर नदी हुँदै लाजिरी लाभाख्खोङ/अरुण नदीको बीच भूभागमा मात्र पर्छन् । त्यसो हुँदा याक्थुङ्बा जातिको उद्गम थलो खोज्न बनारस/काशीदेखि तिब्बतको ल्हासासम्म पुग्नुपर्दैन ।

चेम्जोङले हज्सन पाण्डुलिपिको खण्ड ८६ मा संकलित सिरिजङ्गाका लेखोट–पत्रहरू सरसर्ती पढेको देखिन्छ । पत्रहरूमा ‘माङ पोक्मा काशी ।। राजा पोक्मा काशी ।। साप्ला पोक्मा काशी ।। लामा गुरु ।। उगेन पोमा ।।’ अथवा देउ–देउताको उत्पत्ति, राजकाज, कागजी चलन काशीबाट सुरु भएको भनेर लेखिएको छ । बनारसको काशीले विशाल हिन्दु सभ्यताको प्रतिनिधित्व गर्छ । त्यस्तै, ‘लामा गुरु’ र ‘उगेन पोमा’ प्रशस्तियुक्त शब्दहरूले बौद्ध सभ्यताको प्रतिनिधित्व गर्छ । तिब्बतको ल्हासा बौद्धमार्गीहरूको उद्गमथलो हो । त्यसैले उनले लिम्बू जातिको उद्गमथलो काशी र ल्हासासँग जोड्न खोजेका हुन् कि ! तर पाण्डुलिपिको त्यही खण्डमा ‘याप्मि पोक्मा ।। इमि लुङ्मा ।।’ अथवा मनुष्यको उत्पत्ति ‘इमिलुङमा’ मा भनेर लेखिएको भलै चेम्जोङले पढ्न सकेनन् । इमिलुङमा भनेर ताप्लेजुङको लेलेपको इमिलुङधुङ/काइलुङधुङलाई भनिएको हो, जहाँ याक्थुङ्बा लिम्बू जातिका पुर्खा मुजिङ्ना खेयङ्नाका सन्तानहरू हाडनाता भएका थिए । चेम्जोङले मुन्धुमी ज्ञान पूर्ण रूपले बटुल्न सकेका भए लिम्बू जातिलाई ल्हासा र काशी गोत्र भिराउने थिएनन् ।

किरात छुट्टै जाति

चेम्जोङको पुस्तक किरात मुन्धुम खाहुन (सन् १९६५/१९८२) को पृष्ठ संख्या ३२ र ३३ मा माबोहाङ राजाको उपदेशलाई लिएर ‘याक्थुङसा:से खेप्साम्मे ओ’ वाक्यलाई नेपाली भाषामा उल्था गर्ने क्रममा ‘किराती लिम्बू वंश सबैले सुन्नु’ भनेर पढ्न पाइन्छ । चेम्जोङले ‘याक्थुङ्बा’ शब्दलाई नेपालीमा ‘किरात’ भन्नुको पृष्ठभूमि रोचक छ ।

लिच्छविदेखि गोर्खालीसम्मका आर्यहरूले खम्बू (राई) हरूलाई ‘किरात’ भनेर सम्बोधन गरेको देखिन्छ । जयस्थिति मल्लको पालामा संकलित गोपालराज वंशावलीमा ‘एते द्वात्रिश किरातराजा:, तामज्जर्णकोशकीटटाद्भबाये:’ अथवा ‘यी बत्तीस जना किरात राजाहरू भए, किरात राजाहरू तामाकोसी र सुनकोसी तटमा जन्मेका’ भनेर लेखिएको योगी नरहरीनाथद्वारा विसं ०२२ मा संकलित इतिहास प्रकाशमा सन्धिपत्र संग्रहको पृष्ठ २५५ मा छापिएको छ । धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठद्वारा विसं ०३७ मा संकलित शाहकालका अभिलेखको पृष्ठ १२७ मा केलटोल बालकुमारीस्थित अभिमानसिंह बस्नेतको अभिलेखमा ‘नवलख देश किरात’ शब्दहरू परेका छन् । हज्सन पाण्डुलिपिको खण्ड ८५ का पत्रमा सिरिजङ्गा लिपिमा लिम्बू भाषामा लेखिएको लेखोटमा गोर्खालीले नेवार राज्य जितेर तामाकोसीमा आइपुगेपछि वलिङहाङ, उलिङहाङ खम्बुलाई कज्याएको र अन्तत: चौदण्डीका अगमसिंह खम्बु अरुण तरेर याक्थुङ्बा लिम्बूहरूसँग सहयोग माग्न आएको चर्चा गरिएको छ ।

पाण्डुलिपिका वलिङहाङ, उलिङहाङ र अगमसिंह खम्बुहरूलाई नै अभिमानसिंहको अभिलेखमा ‘नवलख किरात’ भनिएको हो । लिच्छविकालीन अभिलेखका ‘द्वात्रिश किरात राजा’ र अभिमानसिंहको अभिलेखका ‘नवलख किरात’ मिल्न आउँछन् । पृथ्वीनारायण शाहले लिम्बूहरूलाई गरिदिएको कागजहरूमा ‘अरू नौलाख पट्टि होइन’ भनेर लेखेको पाइन्छ । मतलव ‘नौलाख किरात’ लिम्बूभन्दा छुट्टै हुन् । अभिमानसिंहको अभिलेखमा लेखिएको ‘नवलख किरात’ र पृथ्वीनारायण शाहका ‘नौलाख’ शब्दहरू मिल्न आउँछन् । वास्तवमा आर्यहरूले ‘किरात’ भनेर सम्बोधन गरेको खम्बू/राईहरूलाई मात्र हो ।

पृथ्वीनारायणले लिम्बूहरूलाई गरिदिएको लालमोहरमा ‘तिमी तुंतुतुंम्माहां यांहां सन्तान,.. ...‘लालमोहोर वांधी माथि लिम्बू कुल भाइलाई दिञ्युं’ ...भनेर सम्बोधन गरिएको छ । ‘यहाँ’ भनेको याक्थुङ्बाहाङ भनिएको हो । ‘तुंतुतुंम्माहां’ भनेको तुत्तु तुम्याङहाङ वा याक्थुङ्बाहरूका पुर्खाहरूको प्रशस्ति गाइएको हो । बुझ्नैपर्ने के हो भने गोर्खालीले खम्बु/राईलाई ‘ किराती’ भनेजस्तै याक्थुङ्बालाई ‘लिम्बू’ भनेका हुन् । गोर्खालीले अथवा उतिबेलाको सत्ताले बोलेको ‘लिम्बू’ लोकप्रिय भएको हो । गोर्खालीले याक्थुङ्बाहरूलाई चिन्ने क्रममा उनीहरूका पुर्खा ‘सुसुवा लिलिम याक्थुङहाङ’ को नाम सुन्दा ‘लिलिम’ शब्द स्पष्ट सुनेर ‘लिलिम’ शब्दलाई उच्चारण गर्दा ‘लिम्बू’ शब्दको व्युत्पत्ति भएको हुन सक्छ ।

राईहरू खम्बु

याद रहोस्, पाण्डुलिपिमा उलिङहाङ, वलिङहाङ र अगमसिंहहरूलाई स्पष्ट रूपमा ‘खम्बू’ भनिएको छ । रिस्लेको ऐजन पुस्तकको ऐजन वर्षको पृष्ठ २७ मा १८९१ मा सिक्किममा लिइएको जनगणना अभिलेखमा खम्बुहरूको जनसंख्या पुरुष ७२६, महिला ६४८ र बालबालिका ५८९ गरी जम्मा १९६३ लेखेको पाइएको छ । उक्त जनगणनाको जाति कोल्युममा ‘राई र ‘ जिमदार’ भनेर पुरुष ७४२, महिला ६९१ र बालबालिका ५८७ भेटिन्छ । ‘ किरात’ का बारेमा कुनै चर्चा छैन । गोर्खालीले लखेटेका खम्बु/राईहरूले सिक्किममा आफूलाई ‘किराती’ नभनेर ‘खम्बू’ भनेको यो जनगणना अभिलेखले प्रस्ट्याउँछ ।

यसरी बुझ्दा हाल खम्बु/राईहरूको वास्तविक जातीय पहिचान ‘ किरात’ नभएर ‘खम्बु’ थियो । नारायण संग्रौला (२०५६) को शोधपत्रमा पाइएको १८८० को कागजमा आठराईका राईलाई ‘खम्बु’ भनेर सम्बोधन गरेको पाइन्छ । गोर्खालीहरूको सरकारी कागजमा ‘खम्बु’ लेखिएको सम्भवत: त्यो पहिलो दस्तावेज हो ।

१७७४ सम्ममा खम्बुहरू गोर्खालीहरूसँग परास्त भइसकेका थिए । अभिमानसिंहले किरात हान्दा उतिखेर खम्बु/राई नवलाख (नौ लाख) मात्र थिए त ? कि हज्सनले भनेजस्तै राईबाट मात्र नौ लाख आना कर उठ्थ्यो त  ? त्यत्रो संख्या त उतिबेलाका सेतामगुराली सबैलाई जोड्दा पनि पुग्दैन ।

वास्तवमा ‘किरात’ कुनै जातीय नाम नभएर आर्यहरूले आफूभन्दा बेग्लै जीवन पद्धति बोकेका जुनसुकै झुन्डहरूलाई भनेका हुन् । पहिले आर्यहरूले खम्बु/राईहरूलाई मात्र किरात भने पनि राणाकालसम्म आइपुग्दा लिम्बूहरूको भूमिलाई पनि पल्लोकिरात लिम्बूवान भनेर सम्बोधन गर्न थालेको देखिन्छ ।

तसर्थ, चेम्जोङले आफ्ना ऐतिहासिक सामग्रीहरूमा जे तर्क गरे पनि वास्तवमा लिम्बू किराती होइनन् । १९२५ मा चेम्जोङकै अगुवाइमा कालेबुङमा निर्मित याक्थुङ्बा लिम्बू जातिको जातीय संस्थाको नाम ‘याक्थुङ चुम्लुङ’ मात्र थियो । अहिले लिम्बू जातिको जातीय संस्थाको नामको पछाडि ‘किरात’ थपिएको छ । लिम्बू जातिले किराती बनिनुको पीडाले उनीहरूको संस्कार र राजनीतिमा आजसम्म स्पष्ट पहिचान बन्न सकेको छैन । वास्तवमा ‘किरात’ न भूगोल हो, न जाति, न भाषा, न त धर्म–संस्कार ।

प्रकाशित: माघ २, २०७५

ट्याग: विचार