‘रैथाने संगीत नै मूलधार’– गायिका झुमा लिम्बू

- मनबहादुर बस्नेत

गायिका एवं संगीतकार झुमा लिम्बू रैथाने संगीत शृंखला अभियानमा छिन्, अचेल । अभियानको पहिलो खुड्किलो थियो, २४ पुसमा काठमाडौँको शिल्पी थिएटरको हाक्पारे भाका । रैथाने संगीतबारे लिम्बूसँग गफगाफ :

रैथाने संगीत अभियान हाक्पारेबाट नै किन थालिएको  ?

पूर्वको भाकादेखि थालौँ भनेर । म मुन्धुममै काम गरेकोले तयारी गर्न सजिलोका लागि पनि हो ।

भूमण्डलीकरणभित्र स्थानीयताको खोजी हो यो ? 

हो । भूमण्डलीकरण आफैँ भइहाल्छ । स्थानीयताचाहिँ खोज्नुपर्ने आवश्यकता देखियो ।

कसरी ?

हाम्रो संगीतमा नेपाली संगीत कहाँनेर छ भनेर खोज्दा एकदमै कम मात्रै भेटियो । भाषा हाम्रो छ, संगीत अर्काकै । नेपाली हो भनेर उभिनलाई आफ्नो संगीत कम पाइएपछि खड्कियो । हाम्रो संगीत त अर्कैले लगिसकेछ ।

कसले लगेछ ?

परार साल बेलायतको पुस्तकालयमा जाँदा मैले एक डेढ सय वर्षअगाडिको नेपाली संगीतहरु सुनेँ । सुन्न पाइने, कपी गर्न नपाइने । हामीले पहिचानका यस्ता ऐतिहासिक कुरा कति गुमायौँ होला ।

भनेपछि तपाईं पहिचानको खोजीमा हुनुहुन्छ ?

हो । नेपाली संगीत आफ्नो पहिचान बनाएर विश्वमा उभिएकै छैन । उभिने बनाउनुपर्‍यो नि ।

मूलधारे संगीतमा केही कमी देखेर यता लाग्नुभएको होइन ?  

जसलाई मूलधार भनिरहेछौँ, त्यो मूलधारै होइन । हामी रैथानेलाई नै मूलधार बनाउँछौँ ।

रैथान संगीत कहिले मूलधारको बन्ला ? 

संगीत संस्कृतिबाट आउने हो । संस्कृतिबारे थाहा पाउन समय लाग्छ । यस्ता रैथाने समूह कम्तीमा १०/१५ वटा हुनुपर्‍यो । अनि कम्तीमा ५०/६० वर्षमा हामी संगीत सुन्ने स्तरमा पुगौँला । अहिले त हामीलाई भातकै समस्या छ ।

हाक्पारेलाई लिम्बू दर्शनले कसरी लिन्छ ?

हाक्पारेभित्र सृष्टि, समाज, सभ्यताको कथा छ । धेरै नै गम्भीर कुरा गर्छ हाक्पारेले ।

मुन्धुम गायिका भन्दा आफ्नो परिचय खुम्चेजस्तो लाग्दैन ? 

दुई/चारवटा गाएर कहाँ मुन्धुम गायिका हुनु ? यो त अरुले भन्दिएको मात्र हो ।

तपाईंको अनुभवमा गीत संगीतको फरक के हो ?  

गीत एउटा मानिसको भाव हो भने संगीत सिंगो समाजको प्रतिनिधित्व । गीत एउटा मानिसले लेख्ने हो । संगीत समयले जन्माउने हो ।

तपाईंको संगीतबाट अभिव्यक्त गर्न खोजिएको मुन्धुमी दर्शन के हो ? 

समाजमा चाहिने आधारभूत कुरा यी हुन् भनेर दिन खोजेकी छु । लिम्बू समुदायले दिएको दर्शनलाई मैले संगीतमा ढालेर ल्याएको मात्रै हो । मुन्धुमी दर्शन व्याख्या गर्ने ल्याकत मसँग कहाँ हुनु !

तपाईंले च्याब्रुङ सारंगीको फ्युजन गर्नुभयो आर्य लिम्बू संस्कृतिको सम्मीलन आवश्यक भन्न खोज्नुभएको हो ? 

मेलोडीका हिसाबले सुदूर पूर्व र सुदूर पश्चिम एकदमै धनी छ । रिदमको हिसाबले मध्य बलियो छ । पूर्व र पश्चिमको मेलोडीलाई फ्युजन गर्ने ठूलो रहर थियो । त्यसलाई प्रयोग गरेको हुँ ।

 

प्रकाशित: माघ १, २०७५

ट्याग: अचानक