करिअर @ डान्स

- गोकर्ण गौतम

एक दशक बित्यो, सरोज अधिकारीले डान्स समूह कार्टुन्ज क्रु खोलेको । नौ सदस्य थिए । सबै डान्स भनेपछि मरिहत्ते गर्थे । उद्देश्य थियो, देश–विदेशका डान्स प्रतियोगितामा सहभागी हुने । नियमित अभ्यास गरे, एकाध सोमा भाग लिए तर सोचेजस्तो केही भएन । कार्टुन्ज क्रुमा यतिबेला सात सदस्य छन्, सरोजबाहेक सबै नयाँ । अर्थात्, नाचेर केही नहुने देखेपछि समूहबाट सबै टाढिए । सरोजले हार खाएनन्, लागिरहे निरन्तर । समय बदलिएको छ, अचेल कार्टुन्ज क्रुले जति म्युजिक भिडियो बनाउँछ, सबै नेपालको युट्युब ट्रेन्डिङको अग्रस्थानमा पुग्छ । यतिबेला उनीहरुको ‘माया लै लै...’ गीतको भिडियो चर्चामा छ । हरेक भिडियो पाँच लाख रुपैयाँभन्दा घटीमा गर्दैनन् । कार्टुन्ज क्रुको भेरिफाइड युट्युब च्यानल ९ लाख ४१ हजारले सब्सक्राइब गरिसकेका छन् ।

अर्का ‘हटकेक’ डान्सर हुन्, राहुल शाह । कैलालीका राहुल भारतमै जन्मे/हुर्के । नौ वर्षअगाडि नेपाल आए, कम्प्युटर हार्डवेयर इन्जिनियर बनेर । त्यतिबेलासम्म डान्ससँग उनको कुनै साइनो थिएन । कम्प्युटर मर्मतमै मस्त थिए । पछि आफ्नै कम्पनी खोले । कमाइ राम्रो हुन थाल्यो तर रमाउन सकेनन् । मन रित्तो थियो । त्यही बेला डान्सतिर लगाव बढ्न थाल्यो । टेलिभिजन र युट्युबमा डान्स हेर्दा दंग पर्थे । डान्स सिक्न थाले । जसले पनि उनको नृत्यकलाको प्रशंसा गर्थे । केही महिनाको अन्तरालमा उनलाई डान्स सिकाउने प्रस्ताव आयो । राहुल सम्झन्छन्, “डान्सकै कारण आफूभित्र अर्कै मान्छे पाउन थालेँ । त्यसपछि व्यापार र कम्प्युटर छाडेर डान्समै तल्लीन भएँ ।” मिहिनेतकै परिणाम हुनुपर्छ, चार वर्षकै बीचमा राहुलको माग ह्वात्तै बढेको छ । एउटै भिडियोको ६ लाख र स्टेज सोको १ लाख ५० हजार रुपैयाँ हाराहारी लिन्छन् ।

चाहे कार्टुन्ज क्रुका सरोज हुन् वा राहुल, भिडियो स्ट्रिमिङ साइट युट्युब नहुँदो त यत्ति छिट्टै उनीहरु चम्कने थिएनन् । सरोजको समूहको गुरु नै युट्युब हो । जब युट्युबमै डान्स स्टेप सिके, कभर भिडियो अपलोड गरे, तब उनीहरुतिर धेरैको ध्यान तानियो । सरोज भन्छन्, “हाम्रो समूहले डान्स गरेर घर बनाउने हैसियत त बनाएको छैन तर जीवन चलाउनचाहिँ चिन्ता छैन ।” गर्न अझ धेरै बाँकी छ । सरोज यत्तिमै फुरुंग किन छन् भने केही वर्ष अगाडिसम्म डान्स गरेर पैसा कमाउने सोच कोरा कल्पना मात्रै थियो । सरोज आफैँले सुरुआती वर्षमा सित्तैमा डान्स गरे । तर अहिले नामसँगै दाम पनि हात पर्न थालेको छ । सन्तुष्टि त छँदै छ । सरोज र राहुल मात्र होइन, डान्समै करिअर बनाएका र बनाउन लागेका तन्नेरीको संख्या बढ्दो छ । कोरियोग्राफर सुनील क्षत्री भन्छन्, “डान्सलाई रुचिमा सीमित राख्नुपर्ने बाध्यता छैन । लगाव र क्षमता भएकाले सहजै पेसा बनाउन सक्छन् ।”

राहुल शाह र अलिशा शर्मा | तस्बिर : भास्वर ओझा


सरोज अधिकारी र आश्मा विश्वकर्मा | तस्बिर : भास्वर ओझा


सुनील आफैँमा गजबका उदाहरण हुन् । कुनै समय उनी दुबईमा डान्स गर्थे । पैसा आकर्षक थियो । तर उनलाई आफ्नो नृत्यकला ठूलो समूहसम्म पुर्‍याउनु थियो । त्यही बेला चर्चित भारतीय रियालिटी सो डान्स इन्डिया डान्स (डीआईडी) को अडिसन भयो, दुबईमा । सुनीलले भाग लिए । झन्डै तीन लाख सहभागीलाई उछिन्दै उत्कृष्ट दसमा पुगे । नेपालसँगै भारतमा समेत चर्चा पाए । प्रगतिको पथमा लम्कँदै थिए । तर सुनीलको ‘लिगामेन्ट’ च्यातियो । डान्स त के, उभिनसमेत नसक्ने भए । केही सीप लागेन अनि पत्र लेखेरै सोबाट बाहिरिएको घोषणा गरे । चीँ मुसी चीँ नामक फिल्म खेलेका सुनील भन्छन्, “सोबाट निस्कनुपर्दा पीडा कत्ति थियो, कत्ति तर खुसी पनि थिएँ । डान्समै अगाडि बढ्न सक्छु भन्ने प्रेरणा मिलेको थियो ।” त्यसको केही समयपछि सुनील नेपाल फर्किए र नेपाली ठिटोज् नामक डान्स समूह स्थापना गरे ।

सुनील क्षत्री


नेपाली ठिटोजमा पाँच केटा छन्, पाँच केटी । यो समूहले ५० भन्दा बढी भिडियो बनाइसकेको छ । उत्तिकै संख्यामा सुनीलले म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । बीचमा मुम्बई फर्किएर शाहरुख खान अभिनीत फिल्म ह्याप्पी न्यू इयरमा डान्सरका रुपमा काम गरे । विभिन्न अवार्ड सोमा बलिउडका गिनेचुनेका स्टारसँग नाचेका छन् । नेपालका स्टेज सोमा उस्तै व्यस्त हुन्छन् । कति प्रतियोगितामा निर्णायक हुन्छन् । डान्ससँगै अभिनयमा समेत रुचि राख्ने सुनील भन्छन्, “विदेशी डान्स शैलीमा नेपालीपन मिसाउन सकियो भने दर्शकलाई मन पर्दो रहेछ ।” यही शैली पछ्याएरै हो, पोखराको क्रिस्टल क्लज डान्स क्रुले देशभर नाम कमाएको । अढाइ वर्षअगाडिसम्म क्रिस्टल क्लजको लोकप्रियता पोखरामा सीमित थियो । फिल्म मिस्टर झोलेको कभर डान्स प्रतियोगितामा उत्कृष्ट ठहरिएपछि उनीहरुलाई भ्याईनभ्याई छ । टिम लिडर तथा कोरियोग्राफर सन्देश ठकुरी भन्छन्, “पहिले कामको खडेरी थियो । आफैँ हात फैलाउनुपथ्र्यो । अहिले काम नै हामीकहाँ आउन थालेको छ । छानेर गर्छौँ ।” सन्देशसँगै समूहका अन्य पाँच सदस्य फिचरिङ ‘नाच फिरिरी...’ गीतको भिडियोले युट्युबमा ३ करोड ६१ लाख भ्युज पाएको छ ।

क्रिस्टल क्लज


भारतीय टेलिभिजन स्टार प्लसबाट प्रसारित डान्स प्लस सिजन को फाइनलमा पुगेका सुशान्त खत्री पनि नेपालमै छन् । एक वर्षको अवधिमा एक दर्जनभन्दा धेरै म्युजिक भिडियोमा नाचिसके । प्राय: भिडियो आफैँ निर्देशन गर्छन् । लिरिकल डान्समा नाम कमाएका सुशान्तका हरेक भिडियोले युट्युबमा लाखौँ भ्युज पाएका छन् । मकवानपुरको भीमफेदीमा बसेर कभर भिडियो बनाउने भीमफेदी गाइज अहिले आकर्षक पारिश्रमिक लिएर ओरिजिनल भिडियो बनाउने हैसियत राख्छन् । कभर भिडियोसमेत सित्तैमा गर्दैनन् । खासगरी फिल्म प्रचारका लागि भीमफेदी गाइजलाई कभर बनाउन लगाइन्छ । ६ सदस्यीय यो समूह बी–बोइङ र हिप–हपमा नेपाली कल्चरल स्टेप मिसाउन पोख्त मानिन्छ ।

सुशान्त खत्री


त्यसो त, अहिले चर्चामा रहेका हरेक डान्सर वा डान्स ग्रुप स्थापित भएकै कभर भिडियोबाटै हो । राहुल सुरुमा अंग्रेजी र हिन्दी गीतमा नाच्थे । तिनै भिडियो फेसबुक/युट्युबमा अपलोड गर्थे । त्यहीँबाट ओरिजिनल भिडियो बनाउने प्रस्ताव आउन थाल्यो । उनका भिडियोमा नवीन शैलीका डान्स मुभ्स त हुन्छ नै, सँगै कथा पनि हुन्छन् । राहुल प्राय: अलिशा शर्माको साथमा देखा पर्छन् । कार्टुन्ज क्रुलाई आम दर्शकमा चिनाएकै रेशम फिलिली  फिल्मको ‘जालमा...’ र अल्मोडा राणा उप्रेतीको ‘पानी पर्‍यो...’ गीतको कभर भिडियोले हो । त्यसअगाडि यो समूह चीनमा सम्पन्न वल्र्ड लिजर गेम्समा दोस्रो भएको थियो । आधा दर्जनभन्दा बढी मुलुकका डान्सर सहभागी उक्त प्रतियोगिताका निर्णायकले ‘युनिक एन्ड पावरफुल’ भन्दै समूहको प्रशंसा गरेका थिए । आखिरमा कार्टुन्ज क्रुलाई फरक शैलीको नाचले नै स्थापित गर्‍यो । टिम लिडर तथा कोरियोग्राफर सरोज भन्छन्, “विदेशी स्टेप मात्र पछ्याउँदैनौँ । रमाइलो ढंगले नेपाली पारामा नाच्छौँ । दर्शकले यही रुचाइरहेका छन् ।”

भीमफेदी गाइज


भविष्य उज्यालो देखेरै हुनुपर्छ, डान्स इन्स्टिच्युट धाउने नृत्यप्रेमी बाक्लिँदै छन् । पछिल्लो दुई वर्षमा राहुलले आफ्नो इन्स्टिच्युट भाइव एन्ड वेभमा १२ सयलाई डान्स सिकाइसकेका छन् । अधिकांश डान्सलाई पेसा बनाउन संघर्ष गर्दैछन् । कति मुम्बई पुगेर डान्स रियालिटी सोमा क्षमता पस्कँदै छन् । नेपालभित्रै पनि फिल्म र म्युजिक भिडियोमा डान्सले प्रभावकारी स्थान पाउन थालेको छ । देश–विदेशका सांस्कृतिक कार्यक्रममा व्यावसायिक डान्सरको उपस्थिति बढ्दो छ । कोरिग्राफर तथा डान्सर सुनील भन्छन्, “नेपाली डान्सले व्यावसायिक खम्बा गाडिसकेको छ । अबको चुनौती भनेको यसलाई अझ मजबुत पार्दै नेपाली डान्सरले अन्तर्राष्ट्रिय पहिचान बनाउनु हो । हामी त्यही बाटोमा उन्मुख हुनुपर्छ ।”

प्रकाशित: माघ १, २०७५

ट्याग: डान्सरङ