चिहानबाट युवती हराएपछि

- नेपाल संवाददाता

चिनियाँ युवतीको शव कफिनसहित हराएपछि सनसनी मच्चिएको छ । चिहानबाट युवतीको शव हराउनुमा त्यहाँ प्रचलित ‘भूत विवाह’ को आशंका गरिएको छ ।

‘मिंघम’ वा ‘आत्मा विवाह’ का रुपमा चिनियाँहरु शवसँग विवाह गर्छन् । शवसँग विवाह गर्दा जीवनभर मात्र नभई मृत्युपछि  पनि शान्ति मिल्ने चिनियाँ विश्वास छ । विशेषगरी नवविवाहित वरबधुमध्ये एकको अचानक मृत्यु हुँदा वा पहिलो सन्तान मर्दा त्यस्तो विवाह गरिन्छ ।

१८ वर्षको उमेरमै बितेकी ती युवतीको शव त्यस्तै विवाहका लागि चोरिएको हुन सक्ने आफन्तको धारणा छ । झन्डै दुई दशकअघि चिहानमा गाडिएकी युवती हराएपछि आफन्त भावविह्वल छन् । भन्छन्, ‘उनको कफिनमा त्यस्तो मूल्यवान वस्तु केही पनि थिएन ।’

आफन्तका अनुसार केही समयअघि एक मानिस भूत विवाहका लागि युवतीको शव खरिद गर्न घरमै आएका थिए । तर उनीहरुले मानेनन् । यसअघि सन् २०१५ मा साङसी प्रान्तस्थित एक गाउँको चिहानबाट १४ महिलाका शव चोरी भएको बीबीसीले जनाएको छ ।

चिनियाँ प्रहरी कफिनसहित हराएको शवको खोजीमा लागिपरेको विदेशी सञ्चार माध्यमले लेखेका छन् । सन् २००६ को अगस्तमा चीनले आधिकारिक कानुन ल्याएर शव किनबेचमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित: पुस ३०, २०७५