युगान्डा युगका नेपाली दूत

- सन्तोष आचार्य, कम्पाला

अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पाला र अन्तर्राष्ट्रिय विमानस्थल रहेको एन्टेबे जोड्ने ‘एक्सप्रेस वे’ ले यहाँको यातायात प्रणालीलाई जति सहज र समुन्नत बनाएको छ, त्यति नै यो चित्ताकर्षक पनि देखिन्छ । समृद्घिको युगमा प्रवेश गर्दै गरेका युगान्डाबासी यो एक्सप्रेस वेलाई गौरवशाली परियोजनाका रूपमा लिन्छन् । र, युगान्डियनको यही गौरवमा जोडिन आइपुग्छन्, कीर्तिबहादुर थापा । सिभिल इन्जिनियर थापाले पाँच वर्षको अथक परिश्रमपछि डिजाइन तथा सुपरीवेक्षण गरेको ५२.४ किलोमिटरको यो एक्सप्रेस वेको बीच भागमा बनाइएको १.४५ किलोमिटर कलात्मक शैलीको आकाशे पुलका कारण झनै मनमोहक देखिन्छ ।

युगान्डाकै पहिलो नम्बरको परियोजना मानिएको यो एक्सप्रेस वे निर्माण गरेर थापाले चौतर्फी वाहवाही बटुले पनि । तैपनि, उनको मनमा चैन छैन । इथियोपियादेखि बहराइनसम्म पुगेर क्षमताको छाप छाडिसकेका थापा आफ्नो सीपको उपयोग नेपालमा हुन नसकेकामा खिन्न छन् । १५ पुसमा कम्पालामा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को तेस्रो अफ्रिका क्षेत्रीय बैठकका क्रममा थापाले मनको बह पोखे, “स्वदेशमै काम गर्ने वातावरण पाए भोलिका दिनमा छोरानातिले पनि सम्झन्थे कि !”

पछिल्लो समय नेपालमा सञ्चालन भइरहेका ठूला परियोजनामा काम गर्न नेपाली पनि उत्तिकै सक्षम छन् । तर सरकारले नेपालीको योग्यता र क्षमताको नजरअन्दाज गरेर ती परियोजनामा महँगो शुल्क तिरेर विदेशी परामर्शदाता भर्ना गरिरहेको छ । थापाको दुखेसो छ, “देशले हामीजस्ता नेपालीलाई स्वदेशमै काम गर्छौं भन्दा पनि अवसर दिएन । के हामीसँग भएको सीप नेपालका लागि उपयोगी हुँदैन ?”

अफ्रिका त्यसमा पनि युगान्डा द्वन्द्व र भोकमरीग्रस्त, अविकसित र उत्तिकै असुरक्षित देश । धेरैको मनस्थितिमा यस्तै चित्र आउँछ, अफ्रिकी राष्ट्रलाई लिएर । तर अब समय त्यो रहेन । समुन्नति र समृद्घिको नारा नेपालमा उचालिएको भए पनि यसको साकार रूप अफ्रिकामा देख्न पाइन्छ । त्यसमध्येकै एक हो, युगान्डा । यसबाट अवसर छोपिरहेका छन्, केही नेपालीले आफ्नो सीप र सामथ्र्यको बलमा । एनआरएनएको तेस्रो अफ्रिकी सम्मेलनकै क्रममा युगान्डामा भेटिएका केही प्रतिनिधि नेपाली पात्रमध्ये एक थिए, थापा ।

थापाजस्तै अफ्रिकाले पत्याएका अर्का पात्र हुन्, श्यामकृष्ण मानन्धर । क्षेत्रपाटी, काठमाडौँका रैथाने मानन्धर कम्पालासँग साइनो गाँसिरहेका छन् । कम्पालामा रहेको फरचुना लिमिटेड समूहको मेफिया कम्पाला क्यासिनोमा जनरल म्यानेजरका रूपमा कार्यरत छन् । तीन दशकअघि क्यासिनो नेपालबाट करिअर सुरु गरेका मानन्धरले केन्यामा सञ्चालित क्यासिनोमा झन्डै १२ वर्ष बिताए । ११ वर्षअघि कम्पालामा ठूलो लगानीमा क्यासिनो सञ्चालन प्रक्रिया सुरु भएपछि केन्याबाट उनलाई बोलाइयो । असिस्टेन्ट म्यानेजरका रूपमा कम्पाला क्यासिनो छिरेका मानन्धर एक वर्षको अन्तरालमै जनरल म्यानेजर हुन पुगे ।

झन्डै चार सय कर्मचारीको नेतृत्व गरेर क्यासिनो व्यवस्थापन सम्हालिरहेका मानन्धरले अंग्रेजी नयाँ वर्ष आगमनको रसरङमा डुबेको माहोलमा नेपालसँग गफिँदै उनले भने, “आफूमा क्षमता र दक्षता हुनुपर्छ, संसारमा जहाँ पनि अवसरै अवसर छ ।”

मानन्धरसँगै दोस्रो वरीयतामा रहेर असिस्टेन्ट म्यानेजरका रूपमा कार्यरत छन्, ललितपुर, कुपन्डोलका अशेषध्वज खड्का, ५६, पनि । क्यासिनो गेमिङ विज्ञका रूपमा कार्यरत खड्काले स्थानीयलाई गेमिङ प्रशिक्षण दिएर रोजगार सिर्जना गरिदिने वातावरण बनाइदिएका छन् ।

धरानका निमेष श्रेष्ठ, ३४, ले होटल क्षेत्रमै आफ्नो करिअर देखे । डेढ दशकदेखि काठमाडौँको सोल्टी, गोदावरी भिलेज, एअरपोर्ट होटलदेखि, हायात होटलसम्म व्यापारदेखि व्यवस्थापनमा आबद्घ रहे । घुम्दै फिर्दै उनलाई अवसर आइपुग्यो, कम्पालामा । यहाँको पाँचतारे होटल स्पेक अपार्टमेन्टमा फ्रन्ट अफिस म्यानेजरका रूपमा कार्यरत श्रेष्ठको आगमनले होटल व्यापारमा वृद्घि भयो । त्यसपछि उनले त्यहाँबाट उम्किन पाएका छैनन् ।

स्पेक अपार्टमेन्टमा श्रेष्ठले व्यवस्थापनको नेतृत्व गरिरहेका छन् भने अन्य ६ नेपालीले यसको सुरक्षा व्यवस्थापनको नेतृत्व । अंग्रेजी नयाँ वर्षको पहिलो बिहान स्पेक अपार्टमेन्टको लबीमा गपिँmदै श्रेष्ठले भने, “युगान्डा अथाह सम्भावना भएको मुलुकका रूपमा विकसित हुँदै छ, नेपालीलाई निकै रुचाइने यो मुलुकमा सीप बोकेर वैधानिक रूपमा आउन चाहनेका लागि अपार सम्भावना छ ।”

युगान्डाको जिन्जा पर्यटकीय थलो हो । नाइल नदीको मुहान भिक्टोरिया लेकको सौन्दर्यबाट नलोभिने कमै होलान् । सम्भवत: राजमणि भण्डारीलाई पनि यस्तै केही भयो । स्याङ्जाका भण्डारीले यही अवसर देखे । र, परिवारको साथ लिएर आफ्नै लगानीमा सञ्चालन गरे, लियोज बार एन्ड रेस्टुराँ । एनआरएनए, युगान्डाको नेतृत्व सम्हालिरहेका भण्डारीले १५ स्थानीयलाई रोजगारीसमेत दिएका छन् ।

रेस्टुराँको जग भने १३ वर्षअघि बसालेका थिए, भण्डारीले । युगान्डामा यसअघि ग्रुपचेनका रूपमा पाँच वटा रेस्टुराँ खोलिसकेका भण्डारीले व्यावसायिक कारण अन्य चार चेन हाल बन्द गरेका छन् । मुम्बईबाट होटल व्यवस्थापनमा स्नातकोत्तर भण्डारी अफ्रिकाकै केन्यामा १५ वर्षअघि एक भारतीय रेस्टुराँमा म्यानेजरका रूपमा कार्यरत रहे । चित्त बुझेन, स्वदेश फर्किए । काठमाडौँ, पोखरामा रेस्टुराँ पनि खोले । स्कुल चलाए । तर हात केही लागेन ।

दोस्रो पटक फेरि केन्या पुगे । केन्यामा भेटिएका आफ्ना पुराना गुजराती सल्लाहकारले देखाएको बाटो अनुसरण गर्दै युगान्डा आएर रेस्टुराँ क्षेत्रमा आफूलाई सक्रिय राखे । युगान्डामा कहिलेसम्म त ? भण्डारी भन्छन्, “छोराछोरीलाई यहीँ शिक्षा दिइरहेको छु, यहाँको शिक्षा प्रणाली निकै राम्रो छ । यिनीहरूको उच्च शिक्षा सकिएपछि नेपाल गएर रोजगारमूलक व्यवसाय गर्ने सोच छ ।”

युगान्डाका यी चार प्रतिनिधि पात्रसँगको कुराकानीले के संकेत गर्छ भने सीप र सौर्य छ भने संसारका जुनसुकै मुलुकमा पनि नेपालीले आफ्नो स्थान बनाउन सक्छन् । जस्तो कि, गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष कुमार पन्तले भनेकै छन्, “अबको केही समय विदेशमा नेपालीको पहिचान इमानदार, सक्षम र व्यावसायिक सीप भएको समुदायका रूपमा हुनेछ ।” पन्तले भनेजस्तै संकेत यसपटक युगान्डामा देखिएकै हो ।

‘नेपालीका लागि नेपाली’

युगान्डा मात्रै होइन, अफ्रिकी महादेशका ५४ मध्ये झन्डै ३० मुलुकमा सात हजारभन्दा बढी नेपाली कार्यरत छन् । यसमध्ये धेरैजसो वैधानिक रूपमा र सम्मानित पेसा, व्यवसाय अँगालेर बस्नेहरूको लर्को लामै छ । उनीहरूका दु:खका शृंखला पनि लामै छन् । जस्तो कि, १४ र १५ पुसमा युगान्डाको राजधानी कम्पालामा आयोजित गैरआवासीय नेपाली संघ, अफ्रिकाको तेस्रो क्षेत्रीय बैठकमा यस्ता केही एजेन्डा उठे, जसमा तत्काल नेपाल सरकारको पहल आवश्यक देखिन्छ । गैरआवासीय नेपाली संघको ‘नेपालीका लागि नेपाली’ मूल नारा कम्पाला बैठकमा सान्दर्भिक देखियो । १२ बुँदे कम्पाला घोषणापत्रमा नेपालीले भोगेका समस्याको निराकरण खोज्ने प्रयास मात्र गरिएन, देशमै अपार सम्भावनाको खोजी पनि गरियो ।

घोषणापत्रमा उल्लेख गरिएअनुसार अफ्रिकाको सबैभन्दा प्रमुख समस्या भनेकै मानव तस्करी हो । नेपालबाट अवैध बाटो हुँदै युरोप र अमेरिका प्रवेशको ट्रान्जिटका रूपमा अफ्रिकी मुलुकको प्रयोग बढेकाले नेपालीको ठूलो संख्या समस्यामा परेको छ । नेपालबाट अवैध रूपमा ओसारप्रसार गरेर अलपत्र पारिएका नेपाली महिलालाई नर्तकीका रूपमा मुजरामा प्रयोग गरिएको छ । एनआरएनए, अफ्रिकाका संयोजक सुनील कार्कीलगायतका केही सक्रिय नेपालीले मानव तस्करी नियन्त्रणमा पहल गर्ने र अलपत्र परेका नेपालीलाई उद्धारको प्रयास गरे पनि त्यो दीर्घकालीन उपाय भने होइन । यसका लागि नेपालबाटै सचेतना कार्यक्रम र अफ्रिकामा सरकारी निकायको बलियो उपस्थिति आवश्यक देख्छन्, एनआरएनएका कोषाध्यक्ष हिक्मत थापा । “एउटा नेपालीले अर्को नेपालीलाई अलपत्र परेको, ठगिएको, बेचिएको देख्न सक्दैन । किनभने, हामी नेपाली हौँ र नेपालीका लागि हौँ । हामीले सकेसम्म आइपरेका यस्ता समस्या न्यूनीकरणमा पहल गर्दै पनि आएका छौँ,” थापा भन्छन्, “तर यो पर्याप्त छैन । सरकारी तहबाटै यसको दीर्घकालीन समाधान खोज्नुपर्छ । यसका लागि समन्वय गर्न तत्पर छौँ ।”

आर्थिक रूपमा चम्किँदै गएका अधिकांश अफ्रिकी राष्ट्रमा भिजिट भिसामा आउने नेपाली समस्यामा परेकाले नेपाल सरकार र अफ्रिकी मुलुकबीच श्रम सम्झौता हुन सके ठूलो संख्यामा नेपालीले रोजगारी पाउन सक्छन् । तर यसतर्फ खासै पहल हुन सकेको छैन ।

बैठकमा उठेको अर्को महत्त्वपूर्ण एजेन्डा थियो, कूटनीतिक संयन्त्रको स्थापना । ५४ राष्ट्र रहेको ठूलो महादेश अफ्रिकाको इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूतावास छ अहिले । अफ्रिकाका कतिपय मुलुकसँग दौत्य सम्बन्ध भएर पनि नेपालले यी दुई देशबाहेक अन्य मुलुकमा दूतावास खोल्न सकेको छैन । विशेषगरी नाइजेरिया र युगान्डा वा केन्यामा राहदानी नवीकरणदेखि श्रम स्वीकृति मात्र होइन, अप्ठेरो परेका बेला अभिभावकको भूमिका खेलिदिने कूटनीतिक निकायको अनुपस्थितिले अप्ठेरो छ । त्यसो हुन सके यसले चारैतिर छरिएर रहेका नेपालीलाई नजिकको दूतावासबाट सेवा लिन सहज हुन्छ । थापा भन्छन, “राजदूत नियुक्ति प्रक्रिया लामो हुने भएकाले अन्तरिम समस्या समाधानका लागि महावाणिज्यदूत छनोट गर्ने विकल्प पनि सरकारसँग छ ।”

थापाका अनुसार अधिकांश अफ्रिकी मुलुकमा दूतावास नहुँदा नेपाल आउन चाहने पर्यटकसमेत अलमलमा छन् । दूतावास खोल्न सकिए नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई अफ्रिकाबाट पनि मद्दत पुग्नेछ । खासगरी अफ्रिकामा रहेका भारतीय मूलका प्रवासीलाई नेपालमा धार्मिक पर्यटनतर्फ आकर्षित गर्न सकिन्छ ।

“एनआरएनएको पहलमा नेपालमा हुन लागेको एकीकृत लगानी सम्मेलनमा पनि अफ्रिकाबाट सहभागिताका लागि पहल गर्न युगान्डा र अन्य अफ्रिकी सरकारलाई आग्रह गरेका छौँ,” एनआरएनए, अफ्रिकाका क्षेत्रीय संयोजक सुनील कार्की भन्छन्, “नेपाल सरकारले अफ्रिकामा रोजगारीका लागि जाने वातावरण सहज बनाउन, व्यापार प्रवद्र्धन गर्न डीटीएए र बिप्पाजस्ता सन्धिका लागि पहल आवश्यक छ ।”

‘विकासका अनुभव साटासाट’ मूल एजेन्डा रहेको बैठकले अफ्रिका र नेपालको आर्थिक समृद्धि र विकासका सन्दर्भमा नेपाली विज्ञले यहाँका विकास परियोजनाका अनुभवमा नेपालमा कसरी लगानी र प्रविधि लैजान सकिन्छ भन्नेबारे आ–आफ्ना दृष्टिकोण पेस गरेका थिए । क्षेत्रीय बैठकको अध्यक्षता इजिप्टस्थित नेपाली दूतावासका राजदूत झविन्द्र अर्यालले गरेका थिए ।

प्रकाशित: पुस ३०, २०७५