कहाँ जान्छ हाब्रे ?

- चन्द्र कार्की

तेह्रथुम– रातारात लुकाईछिपाई हाब्रे (रेडपान्डा) को छाला काठमाडौँ पुर्‍याएको भोलिपल्टै समातिए, ताप्लेजुङको हिमाली क्षेत्रका केशव राई । गाउँघरको चिया पसलमा रेडपान्डाको छाला बिक्रीबाट १ लाख रुपैयाँसम्म कमाइ हुने सुनेका थिए उनले । गाईगोठनजिक भेटिएको रेडपान्डा मारेका राईले न छाला बेच्न पाए, न त सुनेजस्तो पैसा पाए । उल्टै प्रहरीको चिसो छिँडीमा पुगे ।

चिया पसलमा सुनेको भरमा संरक्षित सूचीमा रहेको रेडपान्डा मारेर छाला बिक्री गर्ने राईजस्ता सिकारी पूर्वदेखि पश्चिमसम्म सलबलाइरहेका छन् । कानुनले बर्जित गरेको रेडपान्डाको अवैध चोरी–सिकार गर्नेको संख्या पछिल्लो समय बढेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मातहतको पिलर ४ का प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपशमशेर जबरा बताउँछन् । पिलर ४ ले वन्यजन्तु तथा वनस्पतिको गैरकानुनी व्यापार, ओसारपसार तथा चोरी–निकासीलाई सूक्ष्म ढंगले अध्ययन तथा निगरानी गर्दै आएको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा रेडपान्डा सूचीकृत छ । यसलाई मार्ने, घाइते बनाउने, ओसारपसार गर्ने, खरिद वा बिक्री गर्ने, नियन्त्रणमा राख्ने व्यक्तिलाई १ देखि १० वर्ष कैद वा १ देखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

डीएसपी जबराका अनुसार दुर्लभ वन्यजन्तु भएको र यसको मूल्य धेरै पाइन्छ भन्ने हल्लाका आधारमा प्राय:ले हाब्रेको चोरी–सिकार गरिरहेका छन् । हालसम्मका घटनाको अध्ययन गर्दा बिक्री गर्ने व्यक्ति पक्राउ परे पनि खरिद गर्ने पर्न सकेका छैनन् । मानिसलाई एकोहोरो हेरिरहने र नभाग्ने भएकाले यसको सिकार गर्न सजिलो हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । यसको कुनै अंगको औषधीय प्रयोग पनि छैन, शारीरिक रूपमा एकदमै सानो आकारको हुने हाब्रेको मासु पनि खान लायक हुँदैन ।

प्राकृतिक रूपमा हावापानी, आहार तथा बासस्थान खतरामा पर्दै जाँदा लोप हुँदै गएको हाब्रे बिनाकारण चोरी–सिकारको चपेटामा पर्ने गरेको वन मन्त्रालय मातहतको वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख महेश्वर ढकाल सुनाउँछन् । “रेडपान्डालाई मात्र संरक्षण गर्ने गरी कार्यक्रम बनाउने स्थिति नेपालमा अहिले छैन,” ढकाल भन्छन्, “महाशाखाले रेडपान्डा संरक्षणका लागि कार्ययोजना नै बनाएर काम भने गरिरहेको छ ।”

१० वर्षअघि काठमाडौँको बालुवाटारमा एक अमेरिकी नागरिकले २ वटा रेडपान्डाको छाला तस्करी गरेको पहिलो घटना सार्वजनिक भएयता ८९ रेडपान्डा तस्करीका घटना दर्ता भएका छन् । रेडपान्डा नेटवर्कका एसिया क्षेत्रीय संरक्षण अधिकृत डम्बर विष्ट रेडपान्डाको बासस्थान विनास र चोरी–सिकार मुख्य समस्याका रूपमा देखापरेको बताउँछन् । पछिल्लो समय गत १९ भदौमा बोरामा पाँच वटा जीवित रेडपान्डा हालेर बिक्री गर्न हिँडेका सोलखुम्बुका शुक्र राई र अजित बस्नेत काठमाडौँको दरबारमार्गबाट पक्राउ परेका थिए । दुवैले जंगलमा फेला परेका रेडपान्डा महँगो मूल्यमा काठमाडौँमा बिक्री हुने सुनेर ल्याएको बयान दिएका थिए ।

झट्ट हेर्दा बिरालोजस्तो देखिने रेडपान्डा अर्थात् हाब्रे शाकाहारी जनावर हो । बितेको १० वर्षको तथ्यांक केलाउँदा नेपालमा बर्सेनि सरदर चार गुणाले रेडपान्डा चोरी–सिकार भइरहेको छ । रेडपान्डाको बासस्थान रहेका इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका सामुदायिक वन समूहसँग मिलेर दीपज्योति युवा क्लब पाँचथरले रेडपान्डाको बासस्थान पहिचान र त्यसको नियमित रूपमा अनुगमन गरिरहेको कार्यकारी निर्देशक सुनील बान्तवा बताउँछन् ।

निगालोको टुसा र पात खाएर बाँच्ने हाब्रे नेपालका २२ हिमाली र उच्च पहाडी जिल्लामा पाइन्छ । दुर्लभ वन्यजन्तु हाब्रे पाइने क्षेत्रका बासिन्दामा कानुनी जानकारी नहुने र त्यस क्षेत्रमा गरिबीसमेत अत्यधिक रहेकाले आर्थिक लाभ हुने आशामा रेडपान्डाको अवैध सिकार हुने गरेको महाशाखा प्रमुख ढकालको भनाइ छ । “पैसाको प्रलोभनमा पर्दा धेरै मानिस प्रहरी हिरासतमा पुगेका छन्, सिकारीलाई न्याउरी मारी पछुतो भएको छ,” उनी भन्छन्, “बासस्थान सानोसानो टुक्रामा विभाजित हुनु, बासस्थान भएको जंगलमा आगलागी हुनु, पकेट क्षेत्रमा मानव चाप बढ्नु, आहाराको कमी हुनु, पानी मुहान मासिनुजस्ता कारण रेडपान्डा संरक्षणमा चुनौती छ ।”

तस्करको जालो खोज्दै जाँदा हालसम्म ३१ कारबाही र ४४ वटा हाब्रेको छाला बरामद भएको सीआईबीले जनाएको छ । तस्करीको शृंखला नियाल्दा दुई वर्षअघि सबैभन्दा धेरै २३ वटा चोरी–सिकार भएको देखिन्छ । १० वर्षयता तस्करीमा संलग्न ७० जना पक्राउ परिसके पनि रेडपान्डा केका लागि मारिने गरेको छ भन्ने पत्ता लगाउन सकिएको छैन । “अहिलेसम्मको रेकर्ड हेर्दा रेडपान्डाको छाला विदेश गएको भेटिएको छैन,” सीआईबीका जबरा भन्छन्, “अनुसन्धानबाट तथ्य नभेटिएका कारण छाला कहाँ जान्छ भन्ने ठोकुवा गर्न सकिँदैन ।”

सीआईबीका अनुसार पूर्वी नेपालका सिकारीले हाब्रेका छाला इटहरी, हेटौँडा र पश्चिम नेपालका सिकारीले कोहलपुर, बुटवल हुँदै काठमाडौँसम्म पुर्‍याउने गरेका छन् । यसको छालाको अन्तिम गन्तव्य काठमाडौँ उपत्यका देखिए पनि त्यसपछिको कारोबार कहाँ हुन्छ भन्ने तथ्य खुलेको छैन ।

रेडपान्डाको पुच्छरलाई टोपीका रूपमा प्रयोग गर्दा नवविवाहित दम्पतीको सम्बन्ध सुखद हुँदै जान्छ भन्ने मान्यता चीनको सिचुवान र युनान प्रान्तका नागरिकमा छ । तर ताप्लेजुङदेखि जुम्लासम्म पाइने रेडपान्डाको बढ्दो चोरी– सिकारको सम्बन्ध कुन देशको बजारसँग जोडिएको छ त ? यो गुत्थी प्रहरी अनुसन्धानले अहिलेसम्म सुल्झाउन सकेको छैन ।


लजालु, एकान्तप्रेमी

अंग्रेजी भाषामा रेडपान्डा भनिने हाब्रेको अवशेष युरोपमा पनि देखिएको छ । पहिले प्राय: महादेशमा पाइने हाब्रे हाल दक्षिण एसियाका पाँच देशका उच्च पहाडी क्षेत्रमा मात्र छ । नेपाललगायत चीन, भारत, भुटान र म्यानमारमा यसको अस्तित्व अझै छ । २ हजार २ सय मिटरदेखि ४ हजार मिटर उचाइसम्मको १० डिग्रीदेखि २५ डिग्री सेल्सियस तापक्रममा रहेको गुराँस, मालिंगो, निगालोको जंगल र पानीको मुहान नजिक भएको स्थान हाब्रेको बासस्थान हो । एक्लै बस्न रुचाउने हाब्रे मानिस देख्दा झन् रोचक ढंगले हेरिरहने भएकाले यसको सिकार गर्न सजिलो हुने गरेको छ ।

पूर्वका कञ्चनजंघा संरक्षण क्षेत्र र त्यस वरपरका सामुदायिक वन, तीनजुरे मिल्के जलजले क्षेत्र, मकालु बरुण र लाङटाङलगायतका संरक्षण क्षेत्रमा हाब्रेको बासस्थान पाइए पनि संरक्षण प्रयास प्रभावकारी पाइएको छैन । रेडपान्डाको बासस्थानको सुधार, पानीका स्रोतको संरक्षण, चोरी–सिकार नियन्त्रण गर्न स्थानीय समुदाय सक्रिय हुनुपर्ने वन मन्त्रालय मातहतको वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख महेश्वर ढकालको कथन छ ।

प्रकाशित: पुस २९, २०७५