झेल्नै हम्मेहम्मे

फिल्म : चौका दाउ | रेटिङ : १/५

- गोकर्ण गौतम

छक्कापञ्जा  सिरिजको व्यावसायिक सफलतासँगै नेपालमा कमेडी फिल्मको बाढी लागेको छ । फरक र सार्थक सिनेमा बनाउने आश गरिएकाहरु पनि यही भीडमा ठेलमठेल गर्दै छिरिरहेका छन् । फिल्ममा पात्र, घटना र प्रवृत्ति होइन, द्विअर्थी र अनुप्रास मिलेका संवादमार्फत हसाउने चेष्टा गरिन्छ । कलात्मक र नवीनताको खडेरी हुन्छ । चौका दाउले यही दुर्दशालाई निरन्तरता दिएको छ । फिल्म निर्देशनको औपचारिक अध्ययन गरेका पुणेन्द्रु झाको चौका दाउ  हास्य पैदा गर्न मात्र होइन, अनेक कोणबाट दयनीय लाग्छ ।

यसको अपजस निर्देशकसँगै पटकथाकार अभिमन्यु निरवीलाई पनि जान्छ । निरवी पटकथाको आधारभूत मान्यतालाई आत्मसात् गर्न समेत चुकेका छन् । जबकि,फिल्ममा उभ्याइएका आफ्नो उमेर र सामाजिक प्रतिष्ठा भुलेर तरुनीको पछि लाग्ने पुरुष हाम्रो सन्दर्भमा विराना होइनन् । तैपनि, फिल्म हेरिरहँदा न अपनत्व हुन्छ, न त दिल खोलेर हाँस्न पाइन्छ । चौका दाउका निर्माता र कथाकार छन्, संगीतकार शम्भुजित बाँस्कोटा ।

एउटै कोलनीमा बस्छन्, पूर्वमन्त्री छविराज (सन्तोष पन्त), म्यानपावर कम्पनीको मालिक हुसेन काजी (तैयव शाह), जग्गा दलाल भूपति (रवीन्द्र झा) र आफूलाई क्यासिनो सञ्चालकका रुपमा चिनाउने धनबहादुर (विल्सनविक्रम राई) । यौनको मामलामा सबै कुण्ठित छन् । जुवातास खेलेरै दिन बिताउँछन् । एकदिन कोलनीमा युवती उर्वशी(वर्षा राउत) देखा पर्छिन् । सबैलाई उर्वशीसँग लहसिने हुटहुटी हुन्छ । युवतीसित नजिकिने क्रममा छविराजको ग्याङलाई आइपर्ने यावत लफडामा केन्द्रित छ फिल्म ।

मुख्य पुरुष पात्र यौनका लागि कति भोका छन् भन्ने देखाउँदै फिल्म सुरु हुन्छ । त्यो भनेको, तरुनी देख्नासाथ पछि लाग्ने, घरकी श्रीमतीलाई वास्ता नगर्ने, दोहोरी साँझ धाउने र रक्सी धोकेर फर्कने । मध्यान्तरसम्म अरुखास केही हुन्न । चरित्र स्थापित भइसकेपछि पनि नयाँ घटनाक्रम नथप्दा फिल्मप्रति विरक्ति पैदा हुँदै जान्छ । पात्रहरु ‘ओभर एक्टिङ’बाटै सही हसाउन खोज्छन्, तर प्रभावकारी हुन्न । पटकथाकार निरवीले उस्तै आशयका दृश्यलाई पटक–पटक दोहोर्‍याउनु विडम्बना हो । उनी लिखित पछिल्लो फिल्म सुश्री सम्पत्ति  पनि यही समस्याबाट पीडित थियो । पटकथाका कमजोरीलाई निर्देशकीय कुशलतामार्फत ढाकछोप गर्ने सम्भावनालाई झाले सदुपयोग गरेका छैनन् । दृश्यलाई परिपक्व बनाउनभन्दा नयाँ थोपर्न हत्तारिएका छन् उनी । फलत:चौका दाउ झेल्नै मुस्किल हुन्छ ।

कमेडी आफैँमा निम्छरो विधा होइन । हसाउँदा–हसाउँदै बुलन्द कथा भनिएका कमेडी फिल्मको वजन र शान बेग्लै हुन्छ । हिन्दी फिल्म बधाई हो  ज्वलन्त उदाहरण हो । यसअघि मधेसको संवेदनशील मुद्दामाथि संरक्षण  बनाएका झाको चौका दाउमा यस्तै सार्थक कमेडी हुने अपेक्षा निराशामा बदलिएको छ । केन्द्रीय द्वन्द्व र त्यसको ‘ट्रिटमेन्ट’ नै फितलो छ । पुरुषको यौनतृष्णासमेत प्रभावकारी शैलीमा पर्दामा देख्न पाइँदैन । मध्यान्तरपछि क्लाइमेक्सको ‘ट्वीस्ट’भेउ पाइन्छ । यद्यपि,समाजमा विद्यमान यौन भोक, त्यसले निम्तने पारिवारिक विग्रह, युवतीलाई हेर्ने संकुचित दृष्टिकोणको छनक भने दिन्छन् । फिल्ममा सबैभन्दा आनन्द दिलाउने चाहिँ ‘कतारमा...’ र ‘राधा पियारी...’ गीतले हो । दुवै गीतका संगीतकार शम्भुजित बाँस्कोटा हुन् ।

हास्यसिरियल हिजो आजका कुरामार्फत आमदर्शकको मन जित्न सफल सन्तोष पन्तलाई ठूलो पर्दामा देख्न पाउनु आफैँमा खुसीको कुरा हो । तर चरित्रले दर्शकको मन भरिँदैन । अर्का पुराना कलाकार तैयव शाहको उपस्थिति पनि खासै सुखद छैन । बरु तुलनात्मक रुपमा विल्सन विक्रम प्रिय लाग्छन् । उनका हाउभाउ र संवाद केही ‘युनिक’ छन् । अघिल्ला फिल्ममाझैँ रत्तिभर अलग लाग्दैनन्, रविन्द्र झा । यस्तै फिल्ममा रमाए उनी किनारा पर्ने दिन टाढा छैन । वर्षा राउतको न चरित्र बलियो छ, न त अभिनय जीवन्त । यो पाराले बल्लतल्ल बनेको उनको साखमा गिरावट आउनेछ ।

पाश्र्वध्वनि, खिचाइ, सम्पादनजस्ता प्राविधिक पक्षमा समेत खुलेर प्रशंसा गर्ने मौका पाइँदैन ।चौका दाउ निर्देशक झाको करिअर मात्र होइन, समग्र नेपाली फिल्मकै लागि प्रत्युत्पादक हुन्छ भन्नु अतिशयोक्ति नहोला । आशा राखौँ, झा र पटकथाकार निरवीले अब सिर्जनशीलमार्ग पछ्याउनेछन् ।

अर्थ र कारणबिना कोरा कमेडी रुचाउने/पचाउनेलाई समेत चौका दाउले सन्तुष्ट बनाउन हम्मेहम्मे पर्छ । यस्ता फिल्मले न बजार बढाउँछ, न त मौलिक दृश्य भाषा निर्माणमा सघाउ पुग्छ । पछिल्ला कमेडी फिल्मका ‘ट्रेन्ड’नियाल्दा भन्न करै लाग्छ, आत्मरति र भ्रमभन्दा माथि उठेर हरेक नेपाली फिल्मकर्मीले आत्मालोचना गर्ने समय आएको छ ।

प्रकाशित: पुस २७, २०७५