बडाहाकिमविरुद्ध नाराबाजी

- यज्ञप्रसाद आचार्य

विसं २००५ को प्रसंग हो । त्यतिबेला म ८ कक्षा पढ्थेँ, धरान पब्लिक हाईस्कुलमा । स्कुलमा हामीसँग मन र मत दुवै मिल्ने विश्वकर्मा दाजुभाइ थिए, हिरालाल/तुलाराम विश्वकर्मा । यी दाजुभाइ ५ कक्षामा पढ्थे । उनीहरु अरु विद्यार्थी सँगै एउटै मेचमा बसेर पढ्थे ।

त्यतिबेला धनकुटाका बडाहाकिम थिए, माधवशमशेर जबरा । जाडो याम थियो । बडाहाकिम गर्मी छल्न धरान बजारको फुर्सेमा क्याम्प बनाएर बस्थे । कुनै चाकडीदारले धरान पब्लिक हाईस्कुलमा हिरालाल/तुलाराम विश्वकर्मा भए पनि बाहुन/क्षत्रीसँगै एउटै मेचमा बसेर पढ्छन् भन्ने सुलसुले लगाइदिएछ ।

माधवशमशेरको पारो चढिहाल्यो । राणाहरु जातपातमा असाध्यै कठोर थिए । उनले ती विश्वकर्मा दाजुभाइलाई क्याम्पमा हाजिर गराउन आफ्ना सुरक्षागार्डलाई आदेश दिए । बडाहाकिमको आदेश लत्याउने कसको पिताम ? राणा शासकका प्रतिनिधिका रुपमा धनकुटामा सर्वेसर्वा भएर शासन चलाइरहेका थिए उनले । त्यसपछि बडाहाकिमका गार्डले कक्षामा पढाइ चलिरहेका बेला दुई दाजुभाइलाई उठाएर लगे । उनीहरुलाई क्याम्पमा हाजिर गराइयो । बडाहाकिमले दाजुभाइलाई हकारेछन्, ‘तिमीहरु दमाई, कामी भएर पनि बाहुन/क्षत्रीसँगै एउटै मेचमा बसेर पढ्ने ? तुरुन्तै स्कुल छाड ।’

यो कुरा थाहा हुनेबित्तिकै हामी सय–डेढ सय संख्याका विद्यार्थी, विद्यालय सञ्चालक समितिका अध्यक्ष (त्यतिबेला सभापति भनिन्थ्यो) र विद्यालयका प्रधानाध्यापकसहित ‘विद्यार्थी एकता जिन्दावाद, शिक्षा क्षेत्रमा भेदभाव गर्न पाइँदैन, बडाहाकिम मुर्दावाद, दुई दाजुभाइलाई छाड’ भन्दै नारा लगाउँदै क्याम्प परिसर पुग्यौँ । त्यहाँ पुग्नेबित्तिकै बडाहाकिमले विद्यालय सञ्चालक समितिका अध्यक्ष पण्डित छविलाल पोखरेल र भारतीय मूलका प्रधानाध्यापक हरिहर (पछि नेपाली नागरिकता लिए) लाई क्याम्पभित्र बोलाए ।

बडाहाकिमले पोखरेल र हरिहरलाई पनि क्याम्पभित्रै हप्काएछन् । उनले भनेछन्, ‘विश्वकर्माहरुलाई एउटै बेन्चमा राखेर किन पढाएको ? यिनीहरुलाई तुरुन्तै विद्यालयबाट निकाल ।’

पढ्न पाउनु सबैको अधिकार भएकाले विश्वकर्मा दाजुभाइलाई स्कुलबाट निकाल्न नहुने निष्कर्षमा पण्डित छविलाल पुग्नुभएछ । बडाहाकिमसँग वादविवाद गर्नुभन्दा नयाँ प्रस्ताव राख्ने विचार उहाँमा आएछ । पण्डित छविलालले अब आइन्दा विश्वकर्मा दाजुभाइलाई छुट्टै मेचको व्यवस्था गरिने वचन बडाहाकिमलाई दिनुभयो ।

पछि स्कुलले त्यो व्यवस्था पनि मिलायो । क्याम्पबाहिर हामीले बडाहाकिमविरुद्ध नाराबाजी जारी राखेका थियौँ । बडाहाकिम यस्तो बबालमा अल्झिनुभन्दा विद्यालय व्यवस्थापनको प्रस्तावलाई मान्नु नै उपयुक्त हुने ठानेर समझदारीमा आए । त्यो समझदारीपछि हामी नारा लगाउँदै विश्वकर्मा दाजुभाइलाई क्याम्पबाट फिर्ता लिएर विद्यालय फर्कियौँ । उनीहरु नियमित स्कुल आउन थाले ।

दुई दाजुभाइमध्येका जेठा हिरालाललाई राजा महेन्द्रले शिक्षा राज्यमन्त्रीसमेत बनाए, ०२७/२८ मा । राजा महेन्द्रले पञ्चायतकालमा दलित वर्गका हिरालाललाई पहिलो पटक मन्त्रिपरिषद् सदस्य बनाएका हुन् । यसअघि बीपी कोइरालाको समयमा दलितबाट मन्त्री भए पनि ०१७ को घटनापछि ०२६ सम्म कोही पनि राजकाजमा पुगेका थिएनन् ।

भाइ तुलारामलाई समेत राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत सदस्य (रापंस) मा नियुक्त गरे, ०३० मा । यसरी बडाहाकिमले बाहुन/क्षत्रीसँगै एउटै मेचमा बसेको बात लगाएर स्कुलबाटै निष्कासन गर्न लागेका विश्वकर्मा दाजुभाइ पञ्चायतकालमा ठूलो ओहोदामा पुग्न सके ।

बडाहाकिम असाध्यै कठोर थिए । अघिपछि सुरक्षागार्ड र आफ्ना आठपहरियाहरुलाई सँगै लिएर घुम्थे । उनको रुचि गज्जबको थियो । धनकुटा क्याम्प सारेर धरान आएका बेला बजार चहार्न निस्कन्थे । त्यतिबेला उनलाई सुरक्षागार्डले ठूलो रंगीन छतरी ओडाउँथे । एक जना हुक्का समाएर उनको पछिपछि लागेका हुन्थे ।

त्यसबेला म स्कुलको फुटबल टिममा क्याप्टेन थिएँ । स्कुलमा पढाइ नभएको समय अपराह्न ४ बजेतिर खेल सकिएपछि फुटबल समातेर साथीहरुसहित घर फर्किंदै थिएँ । बीच बाटोमा माधवशमशेरसँग जम्काभेट भयो । अनि, उनले मलाई ‘टोपी नलगाई हिँड्ने फटाहा’ भनेर हकारे । मैले ठाडो जवाफ फर्काएँ, “फुटबल खेल्दा टोपी लगाउँछन् त बडाहाकिम साब ? तपाईंले काठमाडौँमा कसैले टोपी लगाएर फुटबल खेलेको देख्नुभएको थियो ?” मेरो जवाफको प्रतिवाद गरेनन् । उनले यत्ति भने, “जाओ फटाहाहरु ।” त्यसपछि हामी आ–आफ्नो गन्तव्यतिर लाग्यौँ ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: पुस २७, २०७५

ट्याग: स्मरण