प्रहरी कार्यालय

- सुरेश किरण

नेपालका धेरैजसो प्रहरी कार्यालयमा शौचालय नै रहेनछ । हालै मात्र एउटा पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो तथ्य स्वीकार्नुभयो । देशमा भएका सयौँ प्रहरी चौकी अहिले पनि शौचालयविहीन छन् ।

प्रहरी चौकी शौचालयविहीन हुनु लज्जाको विषयजस्तो लाग्ला । तर यथार्थमा यो लज्जा होइन, गर्वको विषय हो । प्रहरी चौकीमा शौचालय नहुनुमा नेपाल प्रहरीलाई गर्व नै लागेको हुनुपर्छ । किनभने, सबैलाई थाहा भएकै कुरा हो, शौचालय किन गइन्छ ? शौचका लागि गइन्छ । शौच गरिने ठाउँ भएकै कारण त्यसको नाम शौचालय भएको हुनुपर्छ । नभए त मन्त्रालय भनिदिए पनि भइहाल्छ नि ! किन शौचालय भन्नुपर्‍यो ?

मानिसलाई शौच किन आउँछ ? खाएपछि आउँछ । पाचन प्रणालीमा हुने नै यही हो । जब खान्छ, त्यसको केही समयपछि शौच आउँछ । त्यसैले जुन कार्यालयमा शौचालय हुँदैन, त्यहाँका कर्मचारी केही पनि खाँदैनन् भन्ने बुझ्न सकिन्छ । प्रहरी चौकीहरुमा पनि शौचालय छैन भन्नुको अर्थ त्यहाँका प्रहरी केही पनि ‘खाँदैनन्’ भन्ने कुराको प्रमाण हो । शौचालय नै नभएपछि कसरी खाने ? खायो कि शौच आइहाल्छ । तसर्थ, नखाइकन बस्नु नै उत्तम । यसैबाट थाहा हुन्छ, नेपाल प्रहरीका धेरै चौकीमा ‘खाने काम’ हुँदैन । यसमा प्रहरीले गर्व नै गर्नुपर्छ । हाम्रा प्रधानमन्त्रीले पनि ‘म पनि खाँदिनँ, अरुले पनि नखाऊ’ भन्नुभएको छ । शौचालयविहीन प्रहरी चौकीले प्रधानमन्त्रीको ‘नखाने अभियान’ लाई सफल पार्ने ग्यारेन्टी दिन सकिन्छ ।

प्रकाशित: पुस २६, २०७५

ट्याग: परिहास