सिन्धुको दु:ख

- विभु लुइटेल

काठमाडौँबाट १ सय १५ किमि परको सिन्धुपाल्चोक  तातोपानीस्थित नेपाल–चीन सीमा नाका ०७२ को महाभूकम्प र ०७३ मा भोटेकोसीमा गएको बाढीपछि बन्द छ । त्यसले दुई देशका बीच हुने व्यापार मात्र कम गरेको छैन, सिन्धुपाल्चोकको जनजीवनमा पनि प्रत्यक्ष प्रभाव पारेको छ ।

तातोपानी वरपरका पसल तथा गेस्टहाउस ठप्प छन् । “कहिलेकाहीँ एक–दुई ग्राहक आउँदा पनि दसैँ लागेजस्तो हुन्छ,” एक गेस्टहाउस सञ्चालक सुनाउँछिन् । छोराले विदेशबाट पठाएको पैसाले उनको घर चलेको छ । तर त्यो लिन पनि चौतारा धाउनुपर्छ । त्यहाँका सबै बैंकका शाखा बन्द छन् । कर्मचारी सबै काठमाडौँ फर्किसके ।

भोटेकोसी गाउँपालिकाको बाटो हुँदै तातोपानी पुगिने मार्ग निर्माणको काम सुस्त गतिमा भइरहेको छ । पानी परेका बेला हिलाम्मे र अरु बेला धुलाम्मे हुने उक्त बाटो पार गर्न स्थानीयलाई हम्मेहम्मे छ । दिनहुँ त्यस बाटोमा खाली खुट्टा हिँड्ने एक स्थानीय भन्छन्, “चप्पल लगाउनै मन लाग्दैन । फाट्यो भने नयाँ चप्पल किन्न निकै पर पुग्नुपर्छ ।” सीमा नाका पुन: सञ्चालनमा आएपछि एक जोर नयाँ चप्पल किनेर लगाउने इच्छा उनले सँगालेका छन् ।

दिनहुँ दाउरा खोज्न परपरसम्म धाउँछिन्, कान्छीमाया तामाङ । दिनमा कम्तीमा दुई भारी दाउरा नपुगे उनका परिवारले हातमुख जोर्न पाउँदैन । तर सहयोग गर्न भने परिवारको कोही आउँदैन । महिनावारी, प्रतिकूल स्वास्थ्य केही भन्न पाउँदिनन् उनले । त्यस क्षेत्रमा दिनहुँ पहिरो जान्छ । पहिरोले बाटो पुरे घुमेर लामो बाटो जानुपर्छ । “दुई–अढाई घन्टा बढी लाग्छ,” तामाङ सुस्केरा हाल्छिन् । परिवारले मात्र होइन, प्रकृतिले समेत दु:ख दिएको गुनासो छ उनको ।

पुनर्निर्माणमा खटिएका कामदारलाई पनि कम सास्ती छैन । अधिकांश स्थानीय नै हुन् । डकर्मी तहका कामदारले दिनहुँ एक हजार रुपैयाँ ज्याला बुझ्छन् भने ज्यामीले आठ सय । तर पैसा पनि भनेको बेला आउँदैन । घाउचोट लागिरहन्छ, नजिकै अस्पताल वा स्वास्थ्य चौकी पनि छैनन् । तेज प्रवाहमा बग्ने भोटेकोसीकै छेउमा काम गर्नुपर्दा तिनको ज्यान सधैँ जोखिममा हुने गरेको छ । कसैको बिमा गरिएको छैन । काम छाडेर गइहाल्ने अवस्था पनि छैन । “गए पनि कहाँ जाने ?” एक ज्यामी गुनासो पोख्छन् ।

तर तातोपानीका बालबालिकालाई भने यी सबले छोएको छैन । “सर कहिलेकाहीँ मात्र आउनुहुन्छ । त्यही बेला मात्र पढ्छौँ हामी,” मितेरी पुल जाँदै गर्दा बाटोमा भेटिएकी एक बालिका सुनाउँछिन्, “सर स्कुल आएको दिन पनि विद्यालय जान मन लाग्दैन ।” बाँकी समय उनीहरु खेल्दै बिताउँछन् । टाढाटाढाका साथीभाइ एकै ठाउँमा जम्मा भई आफ्नै तालमा रमाउँछन् ।

शब्द/तस्बिर : विभु लुइटेल

प्रकाशित: पुस २६, २०७५

ट्याग: दृश्य