चन्द्रशमशेरीय तुजुक

पुस्तक : प्रथम विश्वयुद्धको वर्णन | लेखक : विद्वच्छिरोमणि हेमराज शर्मा | सम्पादक : दिनेशराज पन्त | प्रकाशक : विद्वच्छिरोमणि हेमराज पुरस्कार गुठी | पृष्ठ : ४२२ | मूल्य : ६०० रुपैयाँ

- राजकुमार बानियाँ

ट्रमा सेन्टरसँग कुम जोडेर उभिएको छ, त्रिचन्द्र मिलिटरी अस्पताल । हाल अस्पतालको भवन सग्लो नभए पनि नामपाटी साबिकै छ । खासमा प्रथम विश्वयुद्ध (१९७१–१९७६) को सम्झनामा बनेको रहेछ त्यो अस्पताल । हेमराज शर्मा (१९३५–२०१०) ले एक शताब्दी पहिले लेखेको पुस्तक प्रथम विश्वयुद्धको वर्णन त्यसको एउटा साक्ष्य हो । सय वर्षपछि मात्र छापिएको पुस्तकमा ‘युरोपीय महायुद्धमा फसेका दोस्त ब्रिटिस सरकारका निमित्त संवत् १९७१ देखि १९७६ सम्म नेपाल सरकारले गरेका सहायता, बन्दोबस्त र काजकाम’ को परिपाठ छ ।

त्यो ‘ग्रेट वार’ ताका नेपालका प्रधानमन्त्री थिए चन्द्रशमशेर । त्यो समयका नायब बडागुरुज्यू हेमराज शर्मा शक्तिशाली हुने नै भए । त्यतिन्जेल उनी ‘विद्वच्छिरोमणि’ भने घोषित भइसकेका थिएनन् । राणा प्रधानमन्त्री जुद्धशमशेरले उनलाई १९९२ मा त्यो पदवी दिए । नेपाली बृहत् शब्दकोशका अनुसार विद्वच्छिरोमणि अर्थ हुन्छ, विद्वानमा श्रेष्ठ, उच्चकोटिका विद्वान् । पौरस्त्य विद्यामा हेमराज पाण्डे (शर्मा) र कुलचन्द्र गौतमले यस्तो औपचारिक सम्मान पाएका छन् ।

सन् १९१४ मा अस्ट्रियाका शाहजादा आर्चड्युक फ्रान्सिस फर्डिनेन्डको सपत्नीक हत्या भएको एक महिनामै अस्ट्रिया र सर्बियाबीच सुरु भएको कलहले महायुद्धको रुप लियो । जर्मनी र अस्ट्रियाको एकातिर दलबन्दी भयो भने सर्बिया, रुस, फ्रान्स, ब्रिटिसको अर्को मोर्चाबन्दी । युरोप, अफ्रिका र मध्यपूर्व (आंशिक रुपमा चीन र प्रशान्तद्वीप समूह) मा जल, थल तथा आकाशमा चलेको युद्ध जर्मनी र अस्ट्रियाकै अनुरोधमा ११ नोभेम्बर १९१८ मा सकियो । त्यसको २० वर्ष नपुग्दै अर्को विश्वयुद्ध ढिम्किहाल्यो ।

संयोगवश ती अस्ट्रियाली शाहजादाले हिन्दुस्तान सफरमा आउँदा नेपालको तराईमा पनि सिकार खेलेका रहेछन् । पुस्तकमा छ, ‘ती राजकुमारको सरल, सामान्य, एकदेशीय र आकस्मिक मरण बहाना मात्र हो, व्यक्तिगत स्वार्थभन्दा पनि देश–देशको स्वार्थका कारण भएको हो युद्ध ।’ लेखकले युरोपमा महाभयंकर समराग्नि नसल्कोस् भनी गरिएका चेष्टाको निष्फलताको पनि गहिरो चर्चा गरेका छन् । युद्ध विभीषिकाको स्वरुप र कारण खोतलेका छन्, गुण–दोष केलाएका छन् र हमलाको हतपतबारे प्रश्न उठाएका छन् ।

विश्वयुद्धको वर्णन आफ्नो ठाउँमा छँदै छ, त्योभन्दा पनि अजब त विश्वयुद्धका लागि नेपालको तम्तयारी हो । जगजाहेर छ– त्यो युद्धमा न नेपालको कुनै शत्रु थियो, न त सहभागी हुनुपर्ने कुनै कारण । तैपनि चन्द्रशमशेरको सनकका कारण समुद्रपार नै नगरेका एक नेपाली विद्वानले महायुद्धको विद्रुप बयान गर्नुपरेको छ ।

महापण्डित राहुल सांकृत्यायनले मेरी तिब्बत यात्रा (१९९३) मा संस्कृत साहित्य, व्याकरण, न्याय, मीमांसाका लागि प्रशंसा गरेका शर्माले चन्द्रशमशेरको विश्वासमा वार अफिसमै नियुक्ति पाएका रहेछन् । प्रधानमन्त्री आफैँ ‘ जंगीअड्डा सवारी भएर वार आफिस खडा गर्न आर्डर बक्सेको’ पुस्तकमा उल्लेख छ । मित्र (ब्रिटेन) को उपर संकष्ट परिआएको बखत आफ्नो हैसियतले भेटाएसम्म मद्दत दिनु धर्म सम्झन्छन् चन्द्रशमशेर । त्यसैले त ब्रिटिस सरकारलाई दरकार पर्दा पहिलो किस्ता ६ हजार, दोस्रो ४ हजार र तेस्रोमा ४ हजार फालवर्ससमेतको मयसामानको फौज हिन्दुस्तान पठाउने वचन दिए ।

हेयको बदला प्रीति, युद्धको बदला मित्रता, फुटको बदला एकता संसारकै आदर्श हो । दाम्पत्य प्रेम, सन्तति वात्सल्य, स्वामीभक्ति, स्वजातिप्रेम मानवका साथै सिंह आदि क्रूर जनावरमा पनि देखिन्छ । युद्धमा रक्तपात त हुन्छ नै, यसको बयानबाजी पनि कम रोमाञ्चक हुन्न । शर्मा कौतूकमय भाषामा लेख्छन्, ‘युद्ध सामग्री जोड्नु, युद्ध गर्नु एक किसिमको तमासा र खेलवाडीजस्तो प्रतीत भए पनि वार आफिसका कार्यमा खटिएकाका निम्ति नि:सन्देह जीवनमरणको बाजी नै छ भने पनि हुन्छ ।’

महाराजीय ‘आर्डर’ यस्तो छ– मानौँ नेपालले सहायता मात्र गरेको होइन, आफैँ लडेको हो । युद्धका लागि जेजे वस्तु चाहिने हो, नभए खरिद गर्ने, भए चुस्तदुरुस्त राख्ने, फौजको तालिम बढाउने उर्दीपछि साबिक कर्मचारीले नभ्याउँदा विभिन्न अड्डाबाट वार अफिसमा कारिन्दा झिकाएको र त्यसको कामकारबाहीबारे श्री ३ महाराज र कमान्डर इन चिफले नजर गरेका सांगोपांगो विवरण पुस्तकमा छ । युद्धको पहिलो तयारी मिलिसिया हुने भइहाल्यो । हाजिरको फाँट किताबखाना र खालीको फाँट जंगी हाजिरगोश्वाराबाट सेनाको लगत लिने । रणसादल, शार्दूलजंग, भैरुङ, दुर्गाबक्स, तारादल गरी ६ कम्पनीको खालीखाल्सामा भर्ना गराई पूरा गराइराख्ने । नयाँ पल्टन जमाउनका लागि सल्यानी राजाले आठ सय, बझांगी राजाले सय, जाजरकोटेले सय, थलारीले ५० र बाजुराले ५० नाप–इन्ची मिलेका निरोगी रिक्रुट खोजी पठाउन अर्डर थियो । साथै, ब्रिटिसले मागेअनुरुप गोर्खाली रिक्रुट तसल्लह गर्ने पूर्वपश्चिम मिलिसिया गोश्वाराका हाकिम खटिएको पनि पुस्तकमा छ ।

शर्माको वर्णनअनुसार साबिक पल्टनमा जाँदा अनफिट र बूढा भएका पालोपहराको काम दिन सक्नेहरुको रिजर्भिस्ट पल्टन खडा भयो । साथै ब्रिटिस पल्टनमा जागिर खाई छाडी आएका र नेपालमा पनि जागिर खाई छाडी घर बसिरहेका काम दिन सक्ने जवानहरुको लगत पनि । यति मात्र होइन, अंग्रेजी पढेका, हिन्दुस्तानको चालामाला बुझेका ऐन–जंगी ऐन एकाउन्टेन्टको काम बुझेकाको बाली, तलब र उमेर खुलाएर लगत उतार हुन सक्यो ।

युद्धको घमासान तयारीस्वरुप सदर मोफसलका अड्डाका तोप, बन्दुक, गोला, आम्युनिसन, कार्तोस बारुद, तरबार, खुकुरी आदि हातहतियार खरखजना साबुद/बेसाबुद रहेको लगत उठ्यो । त्यतिबेला नेपालमा लियनफिल्ड र मार्टिनहिन्द्री बन्दुकसमेत रहेछ । लियनफिल्ड कार्बाइट (धूवाँ नहुने रुवाबाट बनेको बारुद) कार्टिजमा भर्ने व्यवस्था थियो । तर त्यो बारुद हिन्दुस्तानबाट ल्याउनुपथ्र्यो । नआए यहाँको मार्टिनहिन्द्रीवाला कालो बारुदले काम दिँदैनथ्यो ।

पहिलो पटक २० फागुन १९७१ मा हिन्दुस्तानतर्फ ६ पल्टन नेपाली फौज हिँड्यो । त्यो फौजका लागि वीरगन्ज डिपोमा हतियार, गोलीगठ्ठा, राडीपाखी, जुत्ता, बेल्ट, घोडा, खुकुरी, तोप टोपी, पाल, औषधीसम्मको बन्दोबस्ती चानेचुने थिएन । तिनका लागि हुलाक र हेलियो, टेलिफोनको बन्दोबस्तसमेत भएको देखिन्छ । नेपाल (काठमाडौँ) देखि वीरगन्जसम्म खबरका निम्ति टेलिफोन राखिएको मात्र होइन, लाइनमेन पनि थपिए । फौजले पठाएको चिठी घरघर पुर्‍याइदिने र घरबाट जहानको चिठी हिन्दुस्तान पठाउने हुलाकको व्यवस्था मिलाइयो ।

हिन्दुस्तान जान खटिएका आधा दर्जन पल्टन र ब्रिगेड हेडक्वाटर्समा खटिएका अफिसरदेखि फालवारसम्मले बाली खानेले अर्को सालको समेत गहुँबाली र तलब खानेले माघसम्मको पाकेको तलब पाए । सरसापटीका साथै खटिई जाने फौजको झगडा उजुरी लेखाउने सनद पनि भयो । त्यतिबेला जवानपत्नी कसैले जारी गरे नफर्केसम्म जेलमा राख्ने र फर्केपछि जार काट्ने र सर्वस्व लिने अनि धनमाल हिनामिना गर्दा दण्ड सजाय चौबर बढाउने इस्तिहारसमेत भएको थियो ।

पल्टने मर्दा घरमा खबर दिने, जवानको जेथा बचत भत्ता दिने, घाइते र बिरामीलाई घर ल्याउने अनि फर्किएका पल्टनलाई पाल टाँगेर रिसेप्सन दिने बन्दोबस्त पनि राणा प्रशासनबाट भएको देखिन्छ । वीरगन्जदेखि भीमफेदीसम्म ल्याउन वीरगन्जमा ४० खटौली र भीमफेदीदेखि नेपालसम्म ल्याउन भीमफेदीमा ४० डोलीको व्यवस्था गरियो ।

त्योभन्दा उदेकलाग्दो प्रसंग युरोपको लडाइँबाट फर्की आउने ब्रिटिस गोर्खाली जवानलाई पतिया (नयाँ मुलुकी ऐन आउनु पहिले जातभातबाट पतीत भएका व्यक्तिले आफ्नो जातमा मिल्नका निम्ति धर्माधिकारीका निर्देशनअनुसार गर्ने शुद्धि; प्रायश्चित्त) को व्यवस्थासमेत राणाहरुले गरिदिए । त्यस निम्ति देहरादुन छाउनीमा बस्ने गरी नेपालबाट बडागुरुज्यू धर्माधिकारमार्फतका पण्डित एक जना खटिएका थिए । त्यसबापत दस्तुर पनि तिर्नुपर्ने नियम बसालियो ।

त्यसो त पहिलो विश्वयुद्धमा नेपालको दुईखाले संलग्नता छ, ब्रिटिस गोर्खा सैनिक र राज्य तहकै । नेपालीले बेलायती फौजमै रहेर चीन, इजिप्ट, क्रिमिया र अफगानिस्तानका भूभागमा विश्वयुद्ध पहिले पनि लडिरहेकै थिए । त्यतिबेला अनुमानित २ लाख नेपाली तन्नेरी बेलायती सेनामा रहेको विश्वास गरिन्छ । पहिलो विश्वयुद्धमा बेलायतको पक्षमा चन्द्रशमशेरले १६ हजार नेपाली सेना हिन्दुस्तान पठाएको मात्र होइन, तत्कालीन कम्पनी रुपैयाँ र नेपाली महेन्द्र मल्ली १ करोड सघाएको देखिन्छ । 

पाटनका भद्रराज शाक्यको संग्रहबाट नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाअन्तर्गत माइक्रोफिल्म बन्नुका साथै किताबका रुपमा आयो सय वर्षपछि । प्रथम विश्वयुद्धको वर्णन को पाण्डुलिपि छाप्न र छपाउन किन कोही उद्यत भएन ? चन्द्रशमशेरका  आप्तपुरुष शर्मालाई पुस्तक छपाउन केले छेक्यो ?

त्यही छेको सुब्बा कृष्णलाल अधिकारीको मकै पर्व भएकाले शर्मा हिचकिचाए सायद । यद्यपि उनले आफ्नो पाण्डुलिपि राहुल सांकृत्यायन र डिल्लीरमण रेग्मीलाई देखाएको उनका नाति प्रकाश ए राजले पुस्तकमै उल्लेख गरेका छन् । त्यही समय नरेन्द्रनाथ रिमालको युरोपीय महाभारतको जर्मनीको लडाञीको सवाई भने छापिएको थियो ।

हेमराज शर्माको विवेचना र अनुसन्धानको सीप निकै फराकिलो छ । पुस्तकलाई सकभर प्रामाणिक बनाउने कोसिस गरेका छन् । सम्पादक दिनेशराज पन्तले भनेजस्तै इतिहास–रसिकका लागि यो पुस्तक गजबकै हो । पुस्तकको हिज्जे भने आफ्नै पाराको छ । संवत् १९६९ मै चन्द्रिका लेखेर शर्मा आधिकारिक व्याकरणकारमा दरिएका थिए । पूर्णविरामको ठाउँमा थोप्लो छ । कतिपय ठाउँमा नाम, संख्या, महिना, नम्बर, गते र मिति खाली छाडिएको छ । किताबका त्यस्ता ऐँजरुले पठनमा व्यवधान गर्छन् । नयाँ सन्दर्भमा तिनलाई अद्यावधिक गर्ने लेठो लिएनन् सम्पादकले । युद्ध सुरू नहुँदादेखि युद्ध चलिरहेको अवस्थाको झलक त पुस्तकमा छ, तर युद्धपछिको अवस्थाबारे खासै जानकारी दिँदैन ।

पहिलो विश्वयुद्धमा नेपालले गरेको सहायता र गर्नुपरेको बन्दोबस्त पुस्तकको उल्लेख्य पक्ष हो । यद्यपि नेपालको भन्दा पनि विश्वयुद्धकै वर्णनमा आधाउधि किताब सकिएको छ । नेपालतिर व्याख्याभन्दा विवरण ज्यादा छ । बुद्धिविलास नै सही, प्रश्न उठ्छ, चन्द्रशमशेरले नेपाललाई विश्वयुद्धमा होमेर के गर्न खोजेका हुन् ? राणा शासन लम्ब्याउने या केटौले तुजुक देखाउने ?

प्रकाशित: पुस २६, २०७५