सुन्तलाको माला

- सुरेश किरण

पूर्वप्रधानमन्त्री एवं बहालवाला नेकपा अध्यक्ष–२ कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रामेछापको लखनपुरवासीले सुन्तलाको माला लगाएर स्वागत गरेछन् । मैले त फूलको माला, नोटको माला मात्रै देखेको थिएँ । सुन्तलाको माला पहिलोचोटि देख्दै छु । उहाँलाई सुन्तलाको मालाले स्वागत गर्नुको कारण हो, रामेछापको लखनपुर सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँ रहेछ । सुन्तला उत्पादन हुने ठाउँ भएकाले अध्यक्ष प्रचण्डलाई सुन्तलैको मालाले स्वागत गरिएको रहेछ । यो स्वागतको अत्यन्त नौलो शैली हो ।

अब यसरी नै हिसाब गर्दै जाँदा कमरेड प्रचण्ड हेलम्बु पुग्नुभयो भने त्यहाँ उहाँलाई स्याउको माला लगाएर स्वागत गरिने भयो । किनभने, हेलम्बु स्याउ उत्पादनका लागि विख्यात छ । काठमाडौँको बलम्बु पुग्दा त्यहाँ च्याउको मालाले स्वागत गरिने भयो । किनभने, बलम्बु च्याउ उत्पादन हुने ठाउँ हो । मिठाई पसल जानुभयो भने सेलको मालाले स्वागत गरिने भयो । पुस्तक पसल जानुभयो भने कापीको मालाले स्वागत गरिने भयो ।

यस्तो अवस्थामा उहाँले यो गोल्डस्टार, ब्ल्याक हर्स, स्टाइलिस, शिखर, टाकुरा, रोयल, स्काई, लेदर विंग्स आदि ब्रान्डको उत्पादन केन्द्रतिर जानलाई चाहिँ अलि होशै पुर्‍याउनुपर्ला । यी जम्मै छाला जुत्ताका ब्रान्ड हुन् ।

प्रकाशित: पुस २५, २०७५

ट्याग: परिहास