मेरा आख्यान गुरु

- मञ्जुश्री थापा

दुई दशकको नेपाली नारी लेखनमा एकातिर राजनीतिक धार बढेको छ भने अर्कातिर वैयक्तिक धार । तर यी दुवै धारलाई एकसाथ यात्रा गराउन सकिन्छ भन्ने दृष्टान्त हुन्, भर्जिर्निया उल्फ । उल्फका केही कृतिमा उत्तरआधुनिक कालमा देखा परेका नारीवादी विचारका झिल्कासमेत पाइन्छन् । ठूलठूला विषय, घटना र आन्दोलनलाई प्रस्तुत गर्दा पुरुष मात्र नभई नारीसमेत उत्तिकै सक्षम माध्यम–पात्र हुने प्रमाणित गरिदिएकाले पनि भर्जिनियालाई पटकपटक पढ्ने जाँगर पलाउँछ ।

उल्फको मिसेस ड्यालवे निजी जिन्दगीको लेन्सबाट देशकै इतिहासचेत नियाल्न मद्दत गर्ने कृति हो । लेखक र आम पाठकले पढ्ने प्रक्रिया–पद्धति पृथक हुन्छ । लेखनका प्राविधिक समस्या समाधान गर्न, कलात्मक चुनौती चिर्न र पूर्ववर्ती प्रभावलाई पर राख्न पनि अब्बल लेखकलाई दोहोर्‍याइरहन्छु म । सुरक्षित बुर्जुवा जिन्दगी बाँचिरहेकी पात्र मिसेस ड्यालवेको भेट युद्ध–अभिघातले ग्रस्त पात्रसँग सडकमा भएपछि कथाले राजनीतिक मोड लिन्छ, जबकि उनी आफ्नै घरमा हुने भोजका लागि फूल किन्न निस्किएकी हुन्छिन् । घटनाले निकै बिथोलिएपछि सामाजिक चेतप्रति ढल्किन्छिन् मिसेस ड्यालवे । यो छोटो दृश्यको असर गहिरो पर्छ । जनयुद्ध मात्रै नभई गरिबी, विभेद आदि कारणले नेपाली समाजको आन्तरिक जीवनमा विषाद छ । भर्जिनियाले जस्तै प्रभावशाली शैलीमा लेख्न नसकिएको थकथकी लागिरहन्छ । मैले अमेरिकाको हाईस्कुलमै छँदा पढेकी हुँ, मिसेस ड्यालवे । त्यसमा पहिलो विश्वयुद्धकालीन एक महिला पात्रको दैनिकीको मिहीन चित्रणका साथै उत्तरयुद्धकालीन बेलायती समाजको ध्वस्त अनुहार उदांगो पारिएको छ । गरिबीलगायत सामाजिक–राजनीतिक विषय र पात्रको भित्री संसार समानान्तर हिँडाएको यस किताबले मलाई सिर्जनात्मक मार्गनिर्देश गर्छ ।

अफ्रो–अमेरिकी जोरा निल हस्र्टनको दियर आइज् वेर वाचिङ गड पनि मैले दोहोर्‍याइरहने उपन्यास हो । अमेरिकामा दासप्रथा हटिसके पनि काला–गोराबीच रंगभेद बाँकी रहेको समयविम्ब छ उपन्यासमा । अश्वेत समुदायको गरिबीलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको यस उपन्यासकी प्रमुख पात्र जेनीलाई पाठकले पहिलो पटक भेट्दा– उनी तेस्रो लोग्नेको दाहसंस्कार गरिरहेकी हुन्छिन्  । यहाँ जेनीको वैवाहिक यात्राको सांगोपांगो वर्णन मात्र छैन, रंगभेदविरुद्ध अमेरिकी समाजमा उठेको नागरिक आन्दोलनको जीवन्त चित्रण छ । आफ्नो जिन्दगी आफैँ बनाउन हिँडेको आत्मनिर्भर पात्रमा नारीवादी चिन्तन प्रबल देखिन्छ । बोलीचालीको स्थानीय भाषाका कारण कथानकमा प्रवेश गर्न कठिनै लाग्छ । तर भाषिक संसारभित्र पुगेपछि छुट्टै मिठास भेटिन्छ ।

नवीन सुब्बाको नुमाफुङ हेर्दा मलाई यो उपन्यास बारम्बार याद आइरह्यो । सुब्बाको फिल्ममा नुमाको तीन विवाह भएको छ– परिवार, समाज र आफ्नै लागि । स्वतन्त्र प्रेमको बाटो हिँड्ने जेनीलाई पितृसत्तात्मक समाजले आलोचनाको सिकार बनाइरहन्छ । तर स्वनिर्णय गर्ने जेनीको आँट सराहनीय छ । हाम्रो आदिवासी–जनजाति समाजमा पनि यस्ता थुप्रै कथा छन् तर साहित्यमा सघन रुपमा उतार्न सकिएको छैन । प्रभावशाली सौन्दर्यशास्त्रकै कारण भर्जिनिया र हस्र्टनलाई मेरा आख्यान गुरु मान्छु ।

गैरआख्यानमा चाहिँ म कसैको चेला होइन । तर मभित्रका सौन्दर्यशास्त्रलाई अन ब्युटी एन्ड बिइङ जस्टले थप प्रस्ट्याइदियो । युद्धकालमा आस्थाका बन्दी, गैरन्यायिक हत्या–हिंसाजस्ता पाटो बुझ्न एलेन स्क्यारीकै बडी इन पेन  दोहोर्‍याएकी थिएँ ।

दार्शनिक निबन्धमा चिनिएकी स्क्यारीले यस किताबमा लेखकको सामाजिक उत्तरदायित्वमाथि जोड दिएकी छन् । सुरुआती चरणमा प्राय: लेखकले सरल शैली रोजे पनि बिस्तारै आफूले लेख्न खोजेको विषय र शिल्पको गहिराइ बुझ्दै जान्छन् । तर सूचनाको बाढी आएका बेला सही ज्ञान लिन पनि कठिनै छ । कहिलेकाहीँ गलत सूचनाले जनमानसलाई भ्रमित तुल्याइदिन्छ । यस्तो संकटका बेला कला–साहित्यको जिम्मेवार भूमिकाबारे चिन्तन पस्केकी छन् स्क्यारीले । उनको बुझाइ छ– कुनै सुन्दर वस्तु र दर्शकबीच सौन्दर्यको समान अनुभूतिपछि मात्र न्यायको कुरा उब्जिन्छ । त्यस्तो बेला दर्शकलाई लाग्छ कि मभित्र मात्रै सौन्दर्य निहित छैन, अरु पनि सुन्दर भएकाले समानता र न्याय आवश्यक छ । दृश्य–कलालाई प्रमुख अध्ययन–आधार बनाइए पनि स्क्यारीको निष्कर्ष कलाका सबै विधामा मेल खान्छ । सामाजिक–राजनीतिक कृतिमा पाठकको ध्यानाकर्षणका लागि सौन्दर्यचेत झन् महत्त्वपूर्ण रहने उनको निचोडले मलाई सहमत गरायो ।

सानी छँदा काठमाडौँमा टेलिभिजन नभएकाले पुस्तकमा हराउन पुगेँ । किताबी संसारमा डुबेपछि अनुभूत भयो– भएको जिन्दगीलाई अझै निकटबाट महसुस गर्दा स्वादिलो हुन्छ । यही एउटै जिन्दगीमा अनेक जिन्दगीको स्वाद लिने सुविधा किताबभित्र छ । तर शब्दहरुको घेरामा मात्रै खुम्चनुभन्दा दृश्य–कलाको सानिध्यमा रहनु पनि मन पर्छ मलाई । लेखकहरु कहिलेकाहीँ शब्दमुक्त हुनुपर्छ कि !

प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: पुस २५, २०७५

ट्याग: किताब